घोराही उपमहानगरपालिकाका १९ वटा वडामध्ये ६ वटा वडामा जनप्रतिनिधि आएपछि स्वास्थ्य केन्द्र स्थापना भएका छन् ।
घोराही १० नाराणपुरमा रहेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सामान्य उपचार गर्न, औषधी लिन आउनुभएका सोही ठाउँ निवासी ७८ वर्षका जगवीर चौधरीले नजिकै रहेको स्वास्थ्य केन्द्रले गर्दा सहज भएको बताउनुभयो । स्वास्थ्य केन्द्रबाट नियमति उपचार लिइरहेको र सामान्य उपचार गर्न घोराही नै जानपर्ने बाध्यता थियो । अहिले सजिलो भएको उहाँको भनाइ छ । प्रेसरको औषधी खाने गरेको र स्वास्थ्य इकाईबाट ती औषधी निःशुल्क पाइरहेको जानकारी दिनुभयो, ‘मलाई राम्रो भएको छ । केन्द्रमा औषधी सकिएको बेला भने किन्नुपर्छ ।’ लामो समयदेखि नारायणपुर स्वस्थ्य प्रवद्र्धन केन्द्रबाट सेवा लिन पाउँदा आफूखुशी रहेको उहाँको भनाई छ ।
नारायणपुर स्वास्थ्य प्रर्वद्धन केन्द्रका प्रमुख डिल्ली आचार्यले २०७४ सालमा जनप्रतिनिधि आएपछि स्थापना भएको स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट ४० प्रकारका औषधी निःशुल्क दिने गरेको, दीर्घरोगी, प्रेसर, महिलाहरूको लागि सुरक्षित मातृत्व सेवा, आमा र बच्चालाई खोप सेवा दिने गरेको बताउनुभयो । छैठौ तहको १ जना दरबन्दी, नर्स ५ जना र एकजना आयुर्वेद डाक्टरले सेवा दिइरहेका छन् । मासिक २५ जनालाई सुत्केरी सेवा दिने गरेको र गर्भवती जाँचको लागि ल्याव सेवा दिने गरेको छ । अहिले ८० जना क्षयरोगका बिरामीले प्रत्यक्ष निगरानीमा औषधी लिइरहेका छन् । भिडियो एक्सरेको सेवा थप गर्न आवश्यक छ ।
घोराही २ रामपुरमा रहेको रामपुर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले नागरिकहरूलाई निकै सहज भएको इन्दु पोखरेलले बताउनुभयो । ‘रामपुरमा रहेको स्वास्थ्य केन्द्रले हामीलाई निकै सहज भएको छ’, उहाँले भन्नुभयो । पहिले गाविसमा हेल्थपोष्ट थियो, अहेवको भरमा सञ्चालन भएकाले सामान्य रुघाखोकी लागेमा, ज्वरो आएमा, प्रेसर चेक गर्नु परेमा घोराहीका अस्पतालमा धाउनुपथ्र्यो । सहरी स्वास्थ्य केन्द्रको स्तरउन्नती भएपछि डाक्टरसहितको सेवा निशुल्क पाइएको उहाँले बताउनुभयो ।
सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र रामपुरका प्रमुख भुवनेश्वर रिजालका अनुसार छालाका बिरामी, ग्याष्ट्रिक, घाउ खटिरा, मौसमी भाइरल आदिको उपचार सेवा दिने गरिएको छ । २०७४ सालमा जनप्रतिनिधि आएपछि स्तरबृद्धि गरेर स्वास्थ्य प्रवद्र्धन केन्द्र बनाएसँगै सेवा सुविधामा बृद्धि भएको छ । एक जना डाक्टर, सिनियर अहेव एक जना, सिएमए एक जना, अनमी चार जनाले निरन्तर सेवा दिइरहेको उहाँले बताउनुभयो । ३५ प्रकारका औषधी निशुल्क वितरण गर्ने गरिएको छ । मासिक १२ जना जति र वार्षिक १४० देखि १५० जनाले प्रसुती सेवा लिने गरेको रिजालले जानकारी दिनुभयो ।
घोराहीको–१४ नयाँ बजारमा रहेको सहरी स्वास्थ्य केन्द्रमा गर्भजाँच गर्न आउनु भएकी रुपनी चौधरीले सरकारी स्तरबाट खुलेका स्वास्थ्य इकाईले आफूहरूलाई धेरै सजिलो भएको बताउनुभयो । सरकारी स्वास्थ्य संस्थाले सेवा दिन थालेपछि औषधीका लागि बाहिर जान नपरेकोमा खुशी देखिनुहुन्छ । स्वास्थ्य केन्द्रले निम्नवर्गीय नागरिकहरूलाई छुन सकेको छ । ‘पहिले स्वास्थ्य केन्द्र नहुँदा सरकारले दिने निशुल्क सेवासमेत पाउन सकिएको थिएन । अहिले सहज भएको छ’, उहाँले भन्नुभयोे, ‘विशेष गर्भवती र सुत्केरी आमाहरूलाई जाँच र खोपको राम्रो सुविधा भएको छ ।’
घोराही बजारको जनसंख्या धेरै भएका कारण नागरिकलाई स्वास्थ्य सुविधा लिन सजिलो होस् भनेर वडा न १४ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । राप्ती स्वास्थ्य प्रतिष्ठानमा बिरामीलाई लाइन बस्न समस्या भएकाले बजार क्षेत्रका नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।
घोराही– ६ का निर्मला भण्डारीलाई सामान्य उपचार गर्न घरदेखि ६।७ किलोमिटर टाढा घोराही वा साविक गाउँपालिकाको कार्यालय सौडियारमा रहेको स्वास्थ्य केन्द्रमा जानुपर्ने बाध्यता थियो । उपमहानगरपालिकाले वडा न –६ फचकपुरमा रहेको सहरी स्वास्थ्य केन्द्र स्थापना गरेपछि सेवा लिन सजिलो भएको छ । आफू प्रेसरको बिरामी निशुल्क औषधी पाउँदा निकै खुशी भएको बताउनुभयो । ‘घोराही पुग्नुपर्ने बाध्यता टरेको छ, औषधी पनि निशुल्क पाइन्छ’, भण्डारीले भन्नुभयो । टाउको दुख्दा, ज्वरो आउँदा, घाउखटिरा आउँदा पनि ७५ रुपैया अटो भाडा तिरेर घोराही जानुपर्ने बाध्यता हटेको छ । बिशेषज्ञ डाक्टरको सुविधा हुने हो भने झनै राम्रो हुने भण्डारी बताउनुहुन्छ ।
घोराही उपमहानगरपालिकाले प्रथम नगरसभाबाट नै ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीति नै पारित गरेर प्रत्येक वडामा स्वस्थ्य सेवा पुर्याउने लक्ष्य लिएको थियो । उपमहानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा घोराहीका १९ वटै वडामा स्वस्थ्य सेवा पुगेको छ । सबै स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले सेवा दिइरहेको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । घोराहीमा १९ वटा वडा रहेपनि अहिले २३ वटा स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छन् । स्वास्थ्य शाखा प्रमुख घर्तीका अनुसार उपमहानगरका नागरिकको स्वास्थ्यका लागि ६ वटा स्वास्थ्य चौकी, २ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, १४ वटा सहरी स्वास्थ्य केन्द्र र १ वटा संस्थागत परिवार नियोजन क्लिनिक स्थापना गरिएको छ ।
६ वटा वडामा स्वास्थ्य केन्द्र स्थापना
साविक घोराही नगरपालिकामा एउटा अस्पताल थियो, राप्ती उपक्षेत्रीय अस्पताल । अन्य गाउँपालिकामा स्वास्थ्य संस्था मात्र थिए । नारायाणपुर, हापुर ,ढिकपुर, सौडियार, धर्ना, लक्ष्मीपुर, रामपुर सैघा, स्युजा गाविसलाई समेटर उपमहानगरपालिका बनाएपछि प्रत्येक वडा कार्यालयमा स्वास्थ्य संस्था निर्माण गर्ने उद्देश्यले स्वास्थ्यकर्मीसहितको सेवा शुरु गरिएको हो । साविकका गाउँपालिकामा भएका स्वास्थ्य संस्थालाई स्तरबृद्धि गर्दै लगिएको छ भने नयाँ वडा कार्यालयहरूमा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएको हो ।
घोराही उपमहानगरपालिकाका १९ वटा वडामध्ये ६ वटा वडामा जनप्रतिनिधि आएपछि स्वास्थ्य केन्द्र स्थापना भएका छन् । अन्य वडामा भने पहिले नै स्वास्थ्य केन्द्र थिए । सबै नागरिकलाई स्वास्थ्यको पहुँचका लागि एक वडा एक स्वास्थ्य केन्द्रको नीतिअनुसार स्वास्थ्य केन्द्रको स्थापनालाई तीब्रता दिएको र सोही अनुसार सबै वडामा स्वस्थ्य सेवा पुगेको नगरप्रमुख चौधरीको भनाई छ । उहाँले रामपुरमा विशेषज्ञसहितको सेवा दिनका लागि अहिले भवन निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।
कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यका साथ स्वास्थ्य केन्द्रलाई स्तरबृद्धि गर्ने काम भइरहेको छ । घोराही उपमहानगरपालिकाले ७० वर्ष पुगेका नागरिकलाई घरमै पुगेर स्वाथ्य जाँच र उपचार गर्दै आएको छ ।
२०७४ पछि थप भएका स्वास्थ्य इकाईहरु
वडा नं. | स्वास्थ्य इकाई भएको स्थान |
३ | झिङ्नी सहरी स्वास्थ्य केन्द्र |
६ | फचकपुर सहरी स्वास्थ्य केन्द्र |
८ | मर्पाडाँडा सहरी स्वास्थ्य केन्द्र |
११ | शिवपुर सहरी स्वास्थ्य केन्द्र |
१५ | उत्साह टोल सहरी स्वास्थ्य केन्द्र |
१७ | हरिद्धार सहरी स्वास्थ्य केन्द्र |
आमा सुरक्षा खुत्रुके बचत कार्यक्रम
घोराही उपमहानगरपालिकाले सुत्केरी आमाका लागि उप–प्रमुख आमा सुरक्षा खुज्ञुके बचत कार्यक्रम सञ्चालन गरेको छ । सुत्केरी आमा र नवजात शिशुलाई स्वस्थ बनाउन उपमहानगरपालिकाले उक्त कार्यक्रम लागू गरेको हो । सुत्केरी अवस्थामा आमा र शिशुलाई पोसिलो खानाको अभाव हुन नदिन यो कार्यक्रम ल्याइएको उपप्रमुख सिता सिग्देल न्यौपानेले बताउनुभयो ।
कार्यक्रम अन्र्तगत गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म ४ पटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराएको र सरकारी स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरूलाई उपमहानगरले २ हजार ८ सय रुपैयाँ जम्मा गरिदिने गरेको छ । यस्तै उपमहानगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा, सिकलसेल एनिमिया अभियान, भान्सा सुधार कार्यक्रम, जेष्ठ नागरिक घरदैलो स्वस्थ्य जाँच, आयुर्वेद औषधी खरिद, नगरप्रमुख रक्त सञ्चारलगायत कार्यक्रम गर्दै आइरहेको छ ।
यस्तै घोराही उपमहानगरको स्वास्थ्य शाखाले पशुपन्क्षी आदिबाट हुने ईन्फुएन्जा, बर्ड फ्लु एएमआर, सिसिष्टिसकोसिस, टक्सोप्लाज्मोसिस आदि विभिन्न सरुवारोग सम्बन्धी रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम, हात्तिपाइले रोग विरुद्धको औषधी सेवन, पोषण कार्यक्रम, विद्यालयमा कुष्ठरोगबारे जनचेतना तथा परीक्षण, विद्यालय स्वास्थ्य शिक्षा तथा विद्यालय नर्स परिचलन, बिरामीको लागि ओपिटी टिकट छपाई, आइसोलेसन वार्ड व्यवस्थापन र कोरोना सम्बन्धि प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ ।
सिकलसेल एनिमिया भएका बिरामीको निशुल्क उपचारको व्यवस्था गरेको छ । एम्बुलेन्स र शव वाहन व्यवस्थापन, रक्षाचौर आँखा अस्पतालको समन्वयमा आँखारोग मोतिबिन्दुको निःशुल्क अप्रेशन, सामुदायिक आयुर्वेद अस्पतालको सहकार्यमा आयुर्वेद औषधी सहितको विशेषज्ञ सेवा तथा शिविर सञ्चालन, निःशुल्क स्वास्थ्य सेवाका लागि औषधी तथा औजार उपकरण खरिद र मानसिक स्वास्थ्य प्रबद्र्धन तथा लागूऔषध दुव्र्यसनी लगायत कार्यक्रम गरेको स्वास्थ्य शाखाले जनाएको छ ।