दुई बर्षअघि अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिका–३ मौवापोखरी निवासी ५४ बर्षिय टाम्के कामीले स्थानीय साहुको पसलबाट उधारोमा लगी घरमा टिन लगाए । दिनहुँ मजदुरी गरेर खाने टाम्केले घरमा लगाएको टिनको पैसा समयमै तिर्न नसक्दा ६ महिनापछि साहुले घरमा लगाएको टिन नै ओखलेर लगे ।
त्यसपछि उनी पहिलेजस्तै सल्ली पराल र खरले घर छाएर बसेका थिए । तर, एक बर्षअघि छत्रदेव गाँउपालिकाले टिन दिएपछि उनी जस्तापाताले छाएको घरमा बस्न पाँउदा मख्ख छन् । ऋण तिर्न नसक्दा साहुले जस्तापाता लगेको दिन सम्झदै उनी भन्छन्, ‘गरिब र दीनदुखीका पनि दिन आउदा रहेछन् ।’ गाँउपालिकाले हुलासको २७ पाता जस्ता दिएपछि उनले घरमा टिन लगाएका हुन् । ‘मेरो लागि बल्ल सरखार (सरकार) आयो । अव जस्तापाता कसले ओखल्न सक्छ ?’, उनले भने ।
छत्रदेव–२ बल्कोटकी बिष्णु माया नेपालीले घरमा टिन लगाउने कुरा सोचेकी पनि थिइनन् । तर, अहिले गाँउपालिकाले वोलाएर टिन दिएपछि घरमा उनी असाध्यै खुसी छिन् । ‘२० बर्षदेखि एउटा घडेरी किनेर खरको छानोमा बस्दै आएका थियौ । श्रीमान रोगी हुनुहुन्छ, केहि काम गर्न सक्नुहुन्न’, मायाले भनिन्, ‘खरले छाएको घर पानी आउदा चुहिन्थ्यो । गर्मीमा आगलागिको चिन्ता हुन्थ्यो । टिन पाएपछि अब ढुक्कले बसेका छौ । साह्ै खुसी लागेको छ ।’
टाम्के कामी र बिष्णुमाया नेपाली मात्र हैन छत्रदेव गाँउपालिकाका खरको छानो भएका मानिसहरु जस्ता पाता पाउँदा अत्यन्तै खुसी छन् । गरिब भएकै कारण खरको छानोमा बस्न बाध्य भएको भन्दै उनीहरुको जीवनस्तर माथी उठाउन सबैभन्दा पहिले घर निर्माण आबश्यक रहेको निष्कर्ष निकाल्दै गाउँपालिकाले खरको छानोमुक्त पालिका बनाउने अभियान सुरु गरेको गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । यही निर्णयका कारण अर्घाखाँचीको छत्रदेव गाउँपालिका खरको छानोमुक्त भएको छ ।
गत बर्ष गाउँ कार्यपालिकाको सभाले एक करोड २० लाख रुपैया जस्तापाता वितरणको लागि विनियोजन गरेको थियो । १ करोड २० लाखको १ हजार एक सय ३५ बण्डल हुलासको गुँरास छाप टिन खरिद गरि बितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । सबै टिनको पातामा सिआरएम अर्थात छत्रदेव गाँउपालिकाको छोटकरी रुप लेखी २६ गेजको टिन खरिद गरिएको हो । र, यो जस्तापाता ३ सय ३४ घरका लागि २७÷२७ पाताका दरले वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले बताइन् । गाउँपालिकाले जनमुखी काम गरेको भन्दै स्थानीयहरु खुशी भएको छत्रदेव गाउँपालिका ६ ठुलापोखराका स्थानीय नविन पौडेलले बताए ।
जिल्लाका अन्य पाँच स्थानीय तहले पनि यो कार्यक्रमलाई अघि सारेका छन् । सन्धिखर्क, शितगंगा, भुमिकास्थान नगरपालिकाका साथै पाणिनि गाउँपालिका र मालारानी गाउँपालिकाले पनि खरको छानो विस्थापित गर्दै जस्तापाता लगाउने अभियान सुरु गरेका हुन् । प्रदेश ५ का कतिपय स्थानीय तहले आफै जस्ता पाता किनेर दिएका छन् भने केहीले जस्तापाता किन्न अनुदान दिएर भएपनि सर्वसाधारणको वस्तीलाई जस्तापाताले चम्काउँदैछन् । पाँच बर्षभित्रमा खरका छानो भएका घर हटाउने गरि बजेट विनियोजन भइरहेको मालारानी गाउँपालिकाका अध्यक्ष वालकृष्ण आचार्यले बताए ।
उता गुल्मी जिल्लामा पनि जनता आवास कार्यक्रम अन्र्तगत खरका छाना भएका घरलाई टिन उपलब्ध गराइएको छ जसले गर्दा गाउँनै हरियो जस्तापाताले भरिएका छन् । गुल्मी जिल्लाका १२ वटा स्थानीयतहमध्ये १० वटामा जनता आवाश कार्यक्रम रहेको छ । गरिव, दलित र विपन्न नागरिकलाई लक्षित गरी जस्तापाता उपलब्ध गराउने कार्यक्रम जिल्लामा अभियानकै रुपमा अगाडी बढेको छ । जिल्लाकै दुर्गममा रहेको मदाने गाउँपालिकाले खरका छानामुक्त अभियानलाई प्राथमिकतामा राखेर अगाडी बढाएको जनाएको छ । गत वर्ष यो गाउँपालिकाले सोही कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत सुरेस भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त बजेटले २ सय ६२ खरका छाना भएका घरधुरीलाई जस्तापाताले विस्थापित गरिएको हो । यो गाउँपालिकाले यस वर्ष पनि १ करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाभर झण्डै ६ सय घरधुरी खरका छाना रहेको तथ्यांक छ ।
मालिका गाउँपालिकाले पनि गत वर्ष १ करोड बजेट विनियोजन गरी ३ सय ७० खरका छाना भएका घरधुरीलाई जस्तापाता उपलब्ध गराएको जनाएको छ । यस वर्ष पनि उक्त कार्यक्रमकै लागि ५० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले जानकारी दिए । यस गाउँपालिकामा झण्डै ९ सय घरधुरी खरका छानामुनी रहेको तथ्याङक छ । ईस्मा गाउँपालिकाले पनि यस अभियानलाई प्राथमिकतामा राखेको छ । गत वर्ष यस गाउँपालिकाले ९० लाख बजेट विनियोजन गरी ३ सय ४८ घरधुरीलाई जस्तापाता उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनका अनुसार यस वर्ष पनि सोही कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।
सदरमुकाम समेत रहेको रेसुंगा नगरपालिकाले पनि जनता आवाश कार्यक्रम अन्र्तगत खरका छाना भएका घरलाई जस्तापाता उपलब्ध गराउने कार्यक्रम राखेको छ । नगरपालिकाले यस वर्ष उक्त कार्यक्रमका लागि ४२ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । मुसिकोट नगरपालिकाले गत वर्ष सो कार्यक्रमका लागि ३० लाख बजेट विनियोजन गरी खरका छाना भएका घरधुरीलाई जस्तापाता उपलब्ध गराएको जनाएको छ । मुसिकोटले दलितबस्ती सुधार कार्यक्रम अन्र्तगत मुसिकोट नगरपालिका– ९ अर्लाङकोटमा २० लाख बजेट विनियोजन गरी खर्च गरेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । सोही नगरपालिकामा यस वर्ष पनि जनता आवाश कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरिएको प्रमुख सापकोटाले बताए ।
जिल्लाको छत्रकोट गाउँपालिकाले पनि खरका छाना भएका घरलाई टिन उपलब्ध गराउने कार्यक्रम अगाडी बढाएको छ । यस गाउँपालिकाले यो वर्ष ५० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । यस्तै रुरु गाउँपालिकाले जस्तापाता खरिदका लागि यो वर्ष २५ लाख बजेट विनियोजन गरेको छ । सत्यवती गाउँपालिकाले झण्डै ५ लाख बजेट विनियोजन गरेको छ भने धुर्कोट गाउँपालिकाले गत वर्ष १ करोड बजेट विनियोजन गरी कार्यक्रम अगाडी बढाएको थियो । चन्द्रकोट गाउँपालिकाले गत वर्ष १८ लाख बजेट विनियोजन गरेको थियो भने यस वर्ष उक्त कार्यक्रमका लागि ६२ लाख बजेट विनियोजन गरेको छ । गुल्मी दरवार गाउँपालिकाले चाहिं गत वर्ष उक्त कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरी जस्तापाता उपलब्ध गराएको थियो भने यो वर्ष झण्डै १२ लाख बजेट विनियोजन गरेको जनाएको छ ।
अर्घाखाँची र गुल्मी जिल्लामा मात्रै होइन, पाल्पाको बगनासकाली गाउँपालिकाले पनि फुसको छानारहित गाउँपालिका घोषणा गर्ने तयारी थालेको छ । गाउँपालिकाले विगत दुई वर्षदेखि गरिब र विपन्न घरपरिवारलाई जस्ताको पाता वितरण गरिरहेको छ । गाउँपालिकाभित्रका ९ वटै वडामा खरको छाना भएका घरपरिवारलाई निःशुल्क रुपमा जस्ता पाता वितरण गरिएको छ । यो वर्ष गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका घोषणा गर्ने गरी जस्ता पाता वितरण भईरहेको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिए । उनका अनुसार आगामी २०७६ पुस महिनाभित्र फुसको छानारहित गाउँपालिका घोषणा गर्ने योजना छ । गाउँपालिकामा दुई वर्षअघि दुई सय ४७ घरमा फुसको छाना थियो । जनप्रनिधि निर्वाचित भएपछि पहिलो वर्षमा ५५ घरधुरी, दोस्रो वर्ष ८३ घरधुरीलाई जस्ताको पाता वितरण गरिएको हो । यो वर्ष बाँकी एक सय नौँ वटा घरमा जस्ता पाता वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए ।