दाङका स्थानीय तहमा विगतमा भन्दा यसपटकको स्थानीय तह निर्वाचन भिन्न पार्टीले जितेपनि उनीहरूले ल्याउने नीति तथा कार्यक्रममा भने खासै परिवर्तन छैन । प्रायः कार्यक्रम उही पुरानै दोहोर्याएका छन् ।
दाङका स्थानीय तहमा जनप्रतिनिधि फेरिएपनि नीति तथा कार्यक्रम फेरिएनन् । नयाँ जनप्रतिनिधिहरूले पनि प्रायः पुरानै कार्यक्रमलाई निरन्तरता दिए । दश स्थानीय तहमध्ये यस पटकको निर्वाचनमा काँग्रेसले ५ वटा पालिका जित्न सफल भएको छ भने माओवादीले ३ र एमालेले दुई वटा पालिका जितेको छ । यीमध्ये अहिले काँग्रेसले जितेका लमही नगरपालिकासहित बबई, दंगीशरण गाउँपालिकामा यसअघि एमालेले जितेको थियो ।
त्यस्तै अहिले माओवादी केन्द्रले जितेका गढवामा एमालेले र राप्ती गाउँपालिमा काँग्रेसले जितेको थियो । यी पाँचवटा स्थानीय तहमा यसअघि फरक पार्टीले सत्ता चलाएको थियो भने अहिले ती पालिकाका सत्ता चलाउने राजनीतिक दलहरू परिवर्तन भएका छन् । तर, उनीहरूले ल्याउने नीति तथा कार्यक्रममा भने खासै परिवर्तन भएको देखिदैन । नयाँ जनप्रतिनिधिले चालु बर्ष २०७९/०८० का लागि ल्याएको पहिलो नीति तथा कार्यक्रमको सबैले चासोका साथ हेरेका छन् ।
दंगीशरणमा अधिकांश हुबहु
दंगीशरण गाउँपालिकाका यसअघिका अध्यक्ष एमालेका भागीराम चौधरीले ‘एक वडा, एक जेष्ठ नागरिक विश्राम स्थल भवन निर्माण गर्ने, माछामा आत्मनिर्भर बनाउन मत्स्य विकास कार्यक्रम सञ्चालन गर्ने, उत्पादन लागत बढाउन कृषि यन्त्रको प्रयोग बढाउने कार्यक्रम ल्याएका थिए । गएको आर्थिक बर्ष २०७८/०७९ मा चौधरीले ल्याएको नीति तथा कार्यक्रमलाई अहिले कांग्रेसबाट निर्वाचित शम्भु गिरीले हुबहु नै ल्याए । गिरीले ल्याएका नीति तथा कार्यक्रमहरू अघिल्लो बर्षकै साभार छन् (हेर्नुस तालिका १) ।
‘हाम्रो परिकल्पना, हाम्रो समृद्धि’ नारासहित ल्याएको कार्यक्रममा अधिकांश नीति तथा कार्यक्रम हुबहु नै छन् । समय छोटो भएकाले पनि यसरी पहिलेका कार्यक्रम दोहोरिएको गाउँपालिका अध्यक्ष गिरीले बताए । ‘हामी बैशाखमा निर्वाचित भयौं, निर्वाचित भएलगतै नीति तथा कार्यक्रम बनाउनुपर्ने भयो, हतारहातरले गर्दा केही दोहोरिए होलान्’, गिरीले भने, ‘सुत्केरीलाई आहारा दिने र छोरीलाई सम्मान गर्ने जस्ता नयाँ नीति पनि छन् ।’
तालिका १: दंगीशरणका हुबहु नीतिहरू
१. | व्यवसायिक किसानलाई सुहलियत प्रदान गर्ने । |
२. | परम्परागत कुलोलाई पक्की बनाउने । |
३. | उत्पादन लागत बढाउन कृषि यन्त्रको प्रयोग बढाउने । |
४. | माछामा आत्मनिर्भर बनाउन मत्स्य विकास कार्यक्रम सञ्चालन गर्ने । |
५. | स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरूको प्रबद्र्धन गर्ने |
६ | भूगोल र विद्यार्थी संख्याको आधारमा सामुदायिक विद्यालयको कक्षा समायोजन गर्ने नीति लिइने । |
७ | कक्षा ८ र १० का विद्यार्थीहरूको सिकाइ उपलब्धीमा सुधारका लागि अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था मिलाईने । |
८ | सामुदायिक विद्यालयबाट कक्षा १० उत्तिर्ण भइ कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने विद्यार्थीलाई छात्रबृत्ति दिइने । |
९ | दैनिक पठनपाठन तथा शैक्षिक सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने । |
१० | तोकिएका भन्दा बढी विद्यार्थी भएका विद्यालयलाई शिक्षक व्यवस्थापनका लागि अनुदान दिइने । |
११ | महिलाको पाठेघरसम्बन्धी स्वास्थ्य सेवासहित स्वास्थ्य शिविर सञ्चालन गरिने । |
१२ | खानेपानीका लागि डिप बोरिङ निर्माण एवं सञ्चालनमा ल्याइने । |
१२. | थारु संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै पर्यटन प्रबद्र्धन र आर्थिक समृद्धिसंग जोड्ने गरि होमस्टे सञ्चालन गर्ने । |
१३. | गाउँपालिका केन्द्रलाई बजारसम्म जोड्ने र गाउँपालिकाका वडाबाट गाउँपालिकाको केन्द्रसंग जोड्ने सडकहरूको निर्माणमा बिशेष प्राथमिकता दिइ सबै सडक कालोपत्रे गरिने । |
१४ | एक वडा, एक जेष्ठ नागरिक विश्रामस्थल भवन निर्माण गरिने । |
१५ | स्थानीय पालिकाभित्र रहेका बिभिन्न सामुदायिक संस्थाहरूको संस्थागत विकास गरिने । |
१६ | गाउँपालिकाभित्र विद्युतीय सूचना केन्द्रको स्थापना गरिने । |
१७ | गाउँपालिकाको स्रोत नक्साङ्कन, घर नम्बरिङ कार्यको सुरुवात गर्नुका साथै पारिवारिक विवरण संकलनको कार्य सुरु गरिने । |
बबईको प्राथमिकता पनि पुरानै
दाङको बबई गाउँपालिकाले ल्याएका नीतिहरू पनि अधिकांश पुरानै छन् । यसअघि एमालेले जितेको उक्त गाउँपालिकामा अहिले काँग्रेसका कुलबहादुर खत्रीले जितेका छन् । विगतमा जस्ता नीति थिए, अहिले पनि त्यस्तै नीति ल्याएका छन् । गाउँपालिकाले ‘हाम्रो उत्पादन, हाम्रो बजार, समृद्धिको आधार– सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार’ भन्ने नारा लिएर नीति ल्याएको छ । नीतिमा कृषिलाई प्राथमिकता दिइएको छ जसलाई एमालेको पालामा पनि प्राथमिकता दिइएको थियो ।
उनले ल्याएको नीतिमा दिगो विकासका लागि कृषिमा आधारित कृषि अनुदान कार्यक्रम सञ्चालन गर्ने, सित भण्डार निर्माण तथा प्रोत्साहनका कार्यक्रमका लागि बजेटको व्यवस्था गर्ने, बबई क्षेत्रको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रको विकास गर्ने र गाउँपालिकाभित्र रहेका सहकारीसँग समन्वय गरेर रोजगारी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । बालबालिकालाई आधाभूत तहसम्म अनिवार्य शिक्षा र मावि तहसम्मका लागि निःशुल्क शिक्षा प्रदान गर्ने, स्वास्थ्यको सुधारका लागि स्वस्थ्य आमा, स्वस्थ्य बच्चा नारासहित नवजात शिशु तथा मातृ मृत्युलाई कम गर्नका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेका छन् । एमालेको सरकारले पनि यीनै कुरालाई प्राथमिकतामा राखेको थियो ।
पुराना कार्यक्रमहरू पनि केही राम्रा भएका तर काम नभएको अवस्थामा रहेको भन्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले बताए । ‘पुराना हटाउनुपर्ने कार्यक्रम हामीले हटायौं, केही पुराना कार्यक्रम पनि थिए जसलाई समावेश गरेका छौं’,उनले भने (हेर्नुस तालिका २) ।
तालिका २ : बबईले दोहोर्याएका पुरानै नीतिहरू
१. | कृषि तथा पश्ुपन्क्षी विकासका लागि कृषि तथा पशु सेवा शाखाले प्रदान गर्दै आइरहेको सेवालाई ७ वटै वडाहरूमा विस्तार गरिनेछ । |
२. | पशुपन्क्षी पालन व्यवसायलाई प्रोत्साहन गर्नका लागि दुग्धजन्य तथा मासुजन्य बस्तुलाई बजार प्रणालीसंग आबद्ध गरी उत्पादन बृद्धिमा प्रोत्साहन गरिनेछ । |
३. | किसानहरूले उत्पादन गरेको कृषि बस्तुहरुको संरक्षणका लागि हापुरेमा शित भण्डार निर्माण गरी सञ्चालन गरिनेछ । |
४. | गाउँपालिकाभित्रका प्रत्येक घरमा शुद्ध पिउने पानीको वितरणका लागि बिशेष प्राथमिकताका साथ आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ । |
५. | एक घर, एक धाराको नीति लिइ आगामी ५ बर्षमा सबै घरहरूमा स्वच्छ खानेपानीको सुविधा पु¥याइनेछ । |
६ | गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । |
७ | परम्परागत रुपमा चलिआएका सोरठी नाच, लठ्ठी नाच, घाटु नाच, थारु नाच, पञ्चेवाजा तथा मौलिक धर्म र संस्कृतीलाई संरक्षण गरिनेछ । |
८ | दलित समुदायको परम्परागत सीप, कला तथा संस्कृति जगेर्ना गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । |
९ | आदिबासी जनजातिहरूको कला तथा संस्कृति जगेर्ना गर्न सीपमुलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । |
१० | गाउँपालिकाको चक्रपथ सडकको योजनालाई गौरवको योजनामा प्राथमिकताका साथ सम्पन्न गरिनेछ । |
११ | गाउँपालिकाको सिंचाई गुरुयोजना तयार गरी सिंचाई प्रवर्धन गरिनेछ । |
१२ | गाउँपालिकाभित्र बनिसकेका घरहरूको अभिलेखिकरण र नयाँ बन्ने घरहरूको नक्सा पास कार्यलाई अभियानका रुपमा सञ्चालन गरिनेछ । |
१२. | सामुदायिक वनसंगको सहकार्यमा आयमुलक कार्यक्रम सञ्चालन गरिनेछ । |
१३. | विपद जोखिमबाट सुरक्षित गाउँपालिका निर्माण गर्ने नीति लिइनेछ । |
१४ | जोखिमयुक्त बस्तिहरूको सुरक्षित स्थानान्तरण, एकीकृत बस्तीको विकास र खरले छाएका घरका छाना जस्तापाताले प्रतिस्थापन गर्ने नीति लिइनेछ । |
१५ | गाउँपालिका क्षेत्रभित्र प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट सर्वसाधारणको जीउधन र सार्वजनिक तथा व्यक्तिगत सम्पति, प्राकृतिक सांस्कृतिक सम्पदा र भौतिक संरक्षण गर्नका लागि प्रकोप व्यवस्थापन कोषमा आवश्यक रकम विनियोजन गरिनेछ । |
१६ | गाउँपालिकामा रहेको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरिनेछ । |
राप्तीमा पनि उस्तै
राप्ती गाउँपालिकाले यसअघि कै नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल विकास शिक्षादेखि दश कक्षासम्मको शिक्षा निःशुल्क रुपमा प्रदान गर्ने नीति ल्याएको थियो । गएको आर्थिक बर्ष २०७८÷०७९ मा राप्ती चक्रपथ राप्ती गाउँपालिकाको गौरवको बहुबर्षिय योजना भएकाले गाउँपालिकाको उत्तरतर्फ सिंगेदेखि भालुवाङसम्मको क्षेत्रलाई केन्द्रित गरि स्तरोन्नतीको कार्यक्रम सञ्चालन गरिने कुरा पनि उल्लेख थियो । त्यस्तै अर्गानिक खेतीमा जोड दिई विस्तारै विषादीमुक्त क्षेत्र बनाइने कुरा पनि त्यतिबेलै नीति तथा कार्यक्रममा समावेश थियो । यी कार्यक्रम अहिले पनि हुबहु रुपमा आएका छन् (हेर्नुस तालिका ३) ।
यसअघिको निर्वाचनमा काँग्रेसले जितेको यो गाउँपालिकामा अहिले माओवादी केन्द्रका प्रकाश विष्ट अध्यक्ष छन् । तर, नीति भने काँग्रेसकै पालामा ल्याएकाले निरन्तरता पाएको छ । ‘केही पुराना कार्यक्रम भएपनि, धेरै नयाँ कुरा ल्याएका छौं’, अध्यक्ष विष्टले भने ‘हामीले स–साना कुराबाट परिवर्तन गर्दै जाने र जनताले महशुस हुने गरी काम गर्ने नीति ल्याएका छौं ।’ कतिपय पुराना राम्रा कार्यक्रमलाई निरन्तरता दिएको उनको भनाई छ ।
तालिका ३ : राप्तीको हुबहुँ नीति
१ | सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल विकास शिक्षादेखि दश कक्षासम्मको शिक्षा निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था गरिनेछ । |
२ | राप्ती चक्रपथ राप्ती गाउपालिकाको गौरवको बहुबर्षिय योजना भएकाले गाउँपालिकाको उत्तरतर्फ सिंगेदेखि भालुवाङसम्मको क्षेत्रलाई केन्द्रित गरि स्तरोन्नतीको कार्यक्रम सञ्चालन गरिनेछ । |
३ | विद्यालयमा भौतिक पूर्वाधार विकासको सन्दर्भमा बालमैत्री, अपाङ्गमैत्री, सूचना प्रविधिमैत्री तथा भूकम्प प्रतिरोधी विद्यालय भवन, शौचालय निर्माण कार्यलाई निरन्तरता दिइनेछ । |
४ | सबै तह र विषयका शिक्षकहरूको क्षमता विकाससम्बन्धि कार्यक्रम सञ्चालन गरिनेछ । |
५ | बिषयगत उपलब्धी तथा कार्यसम्पादनको आधारमा शिक्षक तथा कर्मचारीको मनोबल अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । |
६. | विद्यार्थीमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा आधारित कार्यक्रम सञ्चालन गरिनेछ । शैक्षिक मेला महोत्सव जस्ता कार्यक्रम सञ्चालन गरिनेछ । |
७. | अति विपन्न र अभिभावक गुमाएका बालबालिकाहरूलाई पोशाक तथा स्टेशनरी उपलब्ध गराईनेछ । |
८ | आधारभूत तहको परीक्षालाई व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापन गरिनेछ । माध्यमिक तहमा सञ्चालन हुने परीक्षाहरूको प्रभावकारी अनुगमन तथा मूल्यांकन गरिनेछ । |
९ | स्थानीय पाठ्यक्रम कक्षा १–८ मा परीक्षणको रुपमा शैक्षिक सत्र २०७९ बाट लागु गरिनेछ र स्थानीय विषयको कक्षा १–८ का सन्दर्भ सामग्री तथा पाठयपुस्तक निर्माण गरिनेछ । |
१० | गाउँपालिकाभित्र विद्यालयस्तरीय, वडास्तरीय, गाउँपालिकास्तरीय खेलकूद प्रतियोगिताहरूको सञ्चालन गरिनेछ । |
११. | युवा लक्षित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी स्वरोजगार प्रेरित हुने कार्यक्रम सञ्चालन गरिनेछ । |
१२ | युवालक्षित कार्यक्रम सञ्चालनका लागि प्राविधिक शिक्षा उपलब्ध गराउने विद्यालयहरूसँग सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ । |
१३. | युवालक्षित कार्यक्रम सञ्चालनको लागि प्राविधिक शिक्षा उपलब्ध गराउने विद्यालयहरूसंग सहकार्य गर्ने नीति अबलम्बन गरिनेछ । |
१४. | लैंगिक समानता र सामाजिक समावेशीकरण र समानुपातिक प्रतिनिधित्वसम्बन्धी विषयहरूलाई सम्बोधन गर्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । |
१५. | समाजमा रहेका हरेक प्रकारका विभेद कुरिती तथा गलत प्रचलनहरूलाई अन्त्य गर्न वडा, बस्तीस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । |
१६ | जेष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप र अनुभवहरूलाई युवापुस्तामा हस्तान्तरण गर्न कार्यक्रम गरिनेछ । |
१७ | वडागत रुपमा मेलमिलापकर्ता सूचीकृत गरी वडास्तरबाटै मेलमिलापमार्फत विवादको समाधान गर्न जोड दिइनेछ । |
१८ | अर्गानिक खेतीमा जोड दिइ विस्तारै विषदीमुक्त क्षेत्र बनाइनेछ । |
१९ | सामुदायिक विद्यालयमा कक्षा १–१२ मा अध्ययनरत सबै बालबालिकालाई नेपाल सरकारले तोकेबमोजिम निःशुल्क पाठ्यपुस्तकको व्यवस्थापन गरिनेछ । |
लमहीमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
यसअघि एमालेको स्थानीय सरकार रहेको लमहीमा अहिले काँग्रेसका जोगराज चौधरीले जित्दा पनि पुरानै नीतिले प्राथमिकता पाए । त्यसमाथि लमहीमा अधिकांश नीति तथा कार्यक्रम हुबहु छन् । सरकारी विद्यालयमा कक्षा १ देखि १० सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने, शिक्षामा सबैको पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गर्ने, लमही अस्पतालको स्तरबृद्धि गरेर एक सय शंैया पु¥याउनेलगायतका नीति लमहीका पुरानै नीति हुन् (हेर्नुस् तालिका ४) ।
त्यस्तै सरसफाइको क्षेत्रमा आएको ‘मेरो फोहर मेरो जिम्मेवारी’ अभियान चलाउने, कार्य सम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारी, अनुशासनको दायरामा नबस्ने र सेवा प्रवाहमा लापरबाही गर्ने शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको आचरणमा शून्य सहनशिलताको नीति अबलम्बन गरिने, सेवाग्राहीको गुनासोको व्यवस्थापनलाई प्रभावकारी बनाइने, नागरिकको सूचनाको हक सुनिश्चित गर्न सूचना व्यवस्थापन सहज बनाईने लगायत नीति गएको आर्र्थिक बर्षमा आएका नीति हुन् । आफूहरू भर्खरै पहिलो पटक निर्वाचित भएकाले पनि अहिले आएका नीति सिक्ने प्रयासका बाबजुत आएका नीति रहेको नगरप्रमुख चौधरीले बताए । ‘हामी नयाँ–नयाँ भयौं, त्यसले गर्दा धेरै कुरा पुरानै समेटिए’, उनले भने, ‘हामीले नयाँ ढंगले जाऔं, नयाँ बृहत कार्यक्रमहरू सञ्चालन गरौं भनेर पनि छलफल त ग¥यौं तर समय पनि छोटो भएकाले धेरै नयाँ कार्यक्रम ल्याउन सकिएन ।’
तालिका ४: लमहीको हुबहुँ नीति
१ | ‘हाम्रो विद्यालय, राम्रो विद्यालय’ अभियानमा सरोकारवाला तथा समुदायसंग हातेमालो गरि अघि बढ्ने । |
२ | कक्षा १० सम्म निःशुल्क शिक्षाको सुनिश्चित गर्न आवश्यकताअनुसार शिक्षण अनुदान उपलब्ध गराईने । |
३ | आर्थिक अवस्था कमजोर भएका अपाङ्ग तथा असहाय बालबालिकाहरूलाई उच्च प्राथमिकता दिदै १२ कक्षासम्म छात्रबृत्ति प्रदान गर्ने । |
४ | बालबालिकाको क्षमता विकासका लागि खेल शिक्षक, संगीत शिक्षक र नृत्य शिक्षकको व्यवस्थापनका लागि कार्यरत शिक्षकहरूको लागि सीप विकास तालिम सञ्चालन गरिनेछ । |
५ | खुल्ला दिशामुक्त नगरको अभियानलाई निरन्तरता दिन दिशाजन्य लेदो व्यवस्थापन प्रशोधन केन्द्र निर्माण गरि सञ्चालनमा ल्याईनेछ । |
६. | विपद पीडित तथा निजको परिवारलाई प्रदान गरिने राहात, उद्दार तथा अन्य कल्याणकारी सेवालाई थप प्रभावकारी रुपमा तत्काल उपलब्ध हुने प्रबन्ध मिलाई स्थानीय सरकारको अनुभूति दिइनेछ । |
७. | ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने भावना हरेक नगरवासीहरूमा जागृत गराउन सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । |
गढवा गाउँपालिकामा पनि पुरानै नीतिमा जोड
गढवा गाउँपालिकामा यसअघि एमालले जितेको थियो । अहिले माओवादी केन्द्रका यमनारायण पोखरेलले जितेका छन् । युवा नेताका रुपमा परिचित शर्माले पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले ल्याएको नीति कार्यक्रममा पनि प्रायः पुरानै कुरा समेटिएका छन् । ‘शिक्षा स्वास्थ्य, कृषि र रोजगार–समृद्ध गढवा गाउपालिकाको आधार’ भन्ने नारासहित ल्याएको नीति तथा कार्यक्रममा पुरानै नीति समेटिएका छन् ।
गढवामा कृषि उपज हाटबजार सूचारु गर्ने, चाक्लाबन्दी खेती प्रणालीलाई प्राथमिकता दिने, बर्थिङ सेन्टरमा भिडियो एक्सरे सेवा उपलब्ध गराउनेजस्ता नयाँ कार्यक्रम आएपनि केही कार्यक्रम भने पुरानै छन् । ‘पुराना कार्यक्रमहरूबाट पनि हामीले रिफ्रेन्स लिनुपर्ने हुन्छ’,पोखरेलले भने‘ त्यही आधारमा केही पुराना कार्यक्रम पर्नु स्वभाविक पनि हो तर धेरै नयाँ गर्ने प्रयास गरेका छौं ।’
तालिका ५ : गढवाको हुबहु नीति
१ | विद्यालयमा सूचना तथा सञ्चारमैत्री बनाईनेछ । |
२ | शिक्षकहरूको कार्यसम्पादनलाई विद्यालयका हरेक कक्षाका विद्यार्थीले हासिल गरेको नतिजासंग आबद्ध गरी पुरस्कारको व्यवस्था गरिनेछ । |
३ | विद्यालय क्षेत्रलाई बालमैत्री तथा शान्ति एवं सबै प्रकारका विभेदमुक्त क्षेत्रको रुपमा विकास गरी छात्रबृत्ति र पोषण कार्यक्रमलाई प्राथमिकता दिइनेछ । |
४ | शैक्षिक प्रशासनमा निरन्तर सुधार तथा गुण्स्तर र सुशासनलाई संस्थागत गर्न नियमित रुपमा विद्यालय अनुगमन गरी सुचक सहितको मूल्यांकन पद्धतिको विकास गरिनेछ । |
५ | सबै प्रकारका शैक्षिक संस्थाहरूको भौतिक अवस्था सुधार गरिनेछ । |
६. | कृषि उपज संकलन केन्द्रको स्थापनाका साथै कृषि उपज भण्डारणकालागि शीत भण्डार निर्माण गरिनेछ । |
७. | तरकारी खेति कृषकलाई किटनाशक औषधी, बीउ, विजय जग्गाको आधारमा अनुदानको व्यवस्था गरिनेछ । |
८ | पानी संरक्षण प्रविधि जस्तैः थोपा सिंचाई र मिल्चिङ आदिलाई जोड दिइनेछ । |
९. | अर्गानिक खेती गर्ने किसानलाई प्रोत्साहन गरिनेछ । |
१० | उन्नत जातको पशुपालनलाई प्राथमिकता दिइ दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउदै दुग्धजन्य उद्योग स्थापना, सञ्चालन र व्यवस्थापनका माध्यामबाट स्थानीय रोजगारी सृजना र निर्यात बृद्धि नीतिको अवलम्बन गरिनेछ । |
११. | पशु विमा कार्यक्रमलाई प्रभावकारी बनाउने, पशु विमा सम्बन्धि सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । |
१२. | गढवा स्वास्थ्य चौकीमा आकस्मिक सेवा सुचारु गरिनेछ, साथै निर्माणाधिन अवस्थामा रहेको १५ शंैयाको अस्पताल निर्माण कार्यलाई तिब्रता दिइनेछ । |
१३ | स्वास्थ्य चौकीका भवनहरू सुविधा सम्पन्न बनाई भवन नभएको वडामा भवन निर्माण गरि आवश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ । |
१४. | गुण्स्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुराउन स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाई अति विपन्न नागरिकको निःशुल्क वीमा गरिनेछ । |
१५. | सबै बस्तिमा एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाईनेछ । |
१६. | मुख्य सडकहरूमा कालोपत्र सुरु गरि अन्य सडकको स्तरोन्नती गरिनेछ । |
१७ | वडा र गाउँपालिकास्तरमा गौरवका आयोजनाको रुपमा कम्तीमा १÷१ वटा योजना सञ्चालन गरिनेछ । |