निर्वाचनका प्रतिवद्धता भुल्दै जनप्रतिनिधि

महेश न्यौपाने २०८० फागुन रोल्पा

स्थानीय तहको केन्द्रदेखी वडा कार्यालयसम्म जोड्ने सडक पक्की वनाउने, स्थानीय तहभित्र रहेका सवै सडकको स्तरोन्नती गर्दै बाह्रै महिना यातायात सुचारु गर्ने जस्ता योजना रोल्पाका सबैजसो उम्मेदवारले अघि सारेका प्रतिवद्धता हुन् । तर, निर्वाचनपछि २ पटक बजेट र नीति तथा कार्यक्रम ल्याईसकेका स्थानीय तहका जनप्रतिनिधीहरुले आफैले अघि सारेको चुनावी घोषणा पत्र भुल्दै जान थालेका छन् ।

दश वर्ष लामो सशस्त्र द्वन्द्वको सबैभन्दा वढी पीडा भोगेको रोल्पा समग्र विकासमा पनि निकै पछि रहेको छ भने रोल्पालीमा विकासप्रतिको तृष्णा धेरै रहेको छ । अझ २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले विकासप्रतिका महत्वपूर्ण प्रतिवद्धता पत्र सार्वजनिक गरेकाले रोल्पालीमा विकासप्रति आशा जाग्नु स्वभाविक नै हो । तर, प्रतिवद्धता सार्वजानिक हुँदा रोल्पाली जनतामा जुन उत्साह र आशा रहेको थियो अहिले त्यसको कार्यान्वयन नहुँदा निराशा बढेको छ । स्थानीय तहको केन्द्रदेखी वडा कार्यालयसम्म जोड्ने सडक पक्की वनाउने, स्थानीय तहभित्र रहेका सबै सडकको स्तरोन्नती गर्दै बाह्रै महिना यातायात सुचारु गर्ने जस्ता योजना रोल्पाका सबैजसो उम्मेदवारले अघि सारेका प्रतिवद्धता हुन् । स्थानीय तहमा स्नातक तहको क्याम्पस सञ्चालन गर्ने, प्राविधिक धारको शिक्षालय सञ्चालन गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने जिल्लाका प्रायः सवै स्थानीय तहका साझा मुद्दा हुन् । गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति उपलव्ध गराउने, युवाहरूलाई स्वरोजगार बनाउनका लागि वैंक तथा वित्तिय संस्था एवं सहकारीहरूसँग साझेदारी गर्ने चुनावका बेला अघि सारिएको अर्को साझा कार्यक्रम हो । पर्यटनको ठूलो सम्भावना नभएपनि रोल्पाका अधिकांश उम्मेदवारले पर्यटन विकासलाई महत्वका साथ उठान गरेका थिए । तर, निर्वाचनपछि २ पटक बजेट र नीति तथा कार्यक्रम ल्याईसकेका स्थानीय तहका जनप्रतिनिधीहरूले आफैले अघि सारेको चुनावी घोषणा पत्र भुल्दै जान थालेका छन् ।

दश स्थानीय तह रहेको रोल्पामा सबै स्थानीय तहमा नयाँ नेतृत्व आएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिका, सुनिलस्मृती, लुंग्री, सुनछहरी, थवाङ, परिवर्तन र माडी गाउँपालिका नेकपा माओवादी केन्द्रले जितेको छ । यसैगरी, गंगादेव र रुन्टीगढी गाउँपालिका नेपाली काँग्रेस र त्रिवेणी गाउँपालिका नेकपा एमालेले जितेका स्थानीय तह हुन् । रोल्पा नगरपालिकामा २०७४ र २०७९ मा सम्पन्न दुईवटै स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको थियो । २०७४ सालमा नगरपालिकाको नेतृत्व पूर्ण केसीले गरेका थिए भने २०७९ को निर्वाचनपछि दोश्रो कार्यकालका लागि सुरेन्द्र घर्तीमगर नगरप्रमुखमा निर्वाचित भए ।

प्रतिवद्धता पुरा हुन पाँच वर्ष लाग्छ

रोल्पा नगरपालिकाको प्रमुख पदको उम्मेदवार हुँदा घर्तीमगरले नगर रिङरोडको योजनालाई निरन्तरता दिई पूर्णता दिईने प्रतिवद्धता पत्रमा उल्लेख गरेका थिए । अन्य विकासका मुद्दाहरूमा वडाका मुल र सहायक सडकको स्तरोन्नती गर्ने, लिवाङ दारवोट र माडीचौर घर्तीगाउँ मुख्य सडक र लिवाङ सरोफेरोका सडकहरू कालो पत्रे गर्ने, नगरपालिका केन्द्रदेखी प्रत्येक वडा जोड्ने सडकहरू बाह्रै महिना मोटर चल्ने गरी ग्रावेल सडक वनाउने रहेका थिए । यसैगरी चुनारे भिर, माडीखोलाको सस्पेन्सन व्रिजको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिईने उल्लेख गरिएको थियो । स्वास्थ्यतर्फ प्रदेश सरकारमार्फत ५० शैंयामा स्तरोन्नती गरिदै गरेको रोल्पा अस्पताल निर्माण कार्यलाई तत्काल सम्पन्न गरी नयाँ सुविधासहित विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिनेछ । वडास्तरीय शहरी स्वास्थ्य केन्द्रहरूमा अझै सेवा सुविधा वढाईने, सुत्केरी आमाहरूलाई थप पोषण रकम दिईने, आधारभूत स्वास्थ्य सेवा निशुल्क प्रदान गरिने, ११० प्रकारका औषधी निशुल्क वितरण गरिने, जडीबुटी प्रशोधनमा जोड दिईने उल्लेख गरिएको थियो । शिक्षा क्षेत्रमा रोल्पा नगरपालिकालाई शैक्षिक हवको योजनालाई निरन्तरता दिदै विभिन्न तहका विद्यालय क्याम्पस कलेजहरूको भौतिक पूर्वाधार, अध्ययन सामाग्री र अध्ययन अध्यापनमा नविनतम विधिको सवालमा राम्ररी अध्ययन अनुसन्धान गरी कार्यान्वयनका लागी विशेष योजना बनाइने उल्लेख छ । बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको सेवा सुविधालाई संघीय सरकारले निर्धारण गरेको मापदण्डसम्म पु¥याईने र नगरपालिकामा स्नातक तहको ईन्जिनियरिङ कलेजको स्थापना गरिने उल्लेख गरिएको थियो ।

एक घर एक धाराको सरकारको लक्ष्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने, विद्युत नपुगेको ठाउँहरूमा विद्युत पु¥याउने, अति विपन्न र गरिब समुदायलाई विद्युत महसुलमा छुट दिने, संचार सेवा नभएका स्थानहरूमा टावर राखी संचार सेवा उपलव्ध गराउने, संचारकर्मीहरुको स्वास्थ्य बीमालाई निरन्तरता दिने उल्लेख गरिएको थियो । जेष्ठ नागरिकहरूलाई यातायातमा भाडा छुटका लागि पहल गर्ने, धांसी र माडी खोलामा अघि वढेको जलविद्युत आयोजना निर्माणको कामलाई अगाडी वढाउन सहजीकरण गर्ने नगर प्रमुख घर्तीको चुनावी प्रतिवद्धता हुन् । सामाजिक न्यायको रुपमा वैदेशिक रोजगारीमा तेश्रो मुलुक पुगेको नगरवासीहरूको मृत्यु भएमा शव घरसम्म ल्याउनका लागी आवश्यक खर्च व्यवस्थापन गर्ने, जातीय छुवाछुत मुक्त नगर घोषणा गर्ने उल्लेख गरिएको छ । चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरिएका कैयौं विषय सम्पन्न भईसकेको नगर प्रमुख घर्तीमगरको भनाई छ । प्रतिवद्धता पत्रमा उल्लेख गरेका विषयमध्ये वाजावाङ माडीखोलाको मोटरेवल पुल निर्माणको काम आरम्भ भएको, प्रदेश सरकारमार्फत ५० शैंयामा स्तरोन्नती गरिदै गरेको रोल्पा अस्पताल निर्माण कार्यलाई सम्पन्न भई हस्तान्तरण भईसकेको नगरप्रमुख घर्तीमगरको भनाई छ । प्रतिवद्धता पत्रमा उल्लेखित शहीद परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिने, कृषि र पशुजन्य उत्पादन र पालनमा अनुदान दिईने जस्ता कुरा पनि कार्यान्वयन भएको उनको भनाई छ । निर्वाचनमा जनतासामु प्रस्तुत गरिएको प्रतिवद्धता पत्र आफ्नो मार्गदर्शक दस्तावेज भएकाले ५ वर्षभित्र अधिकांश प्रतिवद्धताहरू पुरा हुने नगरप्रमुख घर्तीमगरले बताए ।

कृषि र स्वास्थ्यलाई प्राथमिकता

गंगादेव गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको त्रिपक्षिय प्रतिस्पर्धा थियो । तीन दलका उम्मेदवारबीच निकै कम मतान्तरले हारजित भएको सो निर्वाचन नेकपा माओवादी केन्द्रका वीरबहादुर खत्रीले जितेका थिए । ३० वैशाख २०७९ मा भएको निर्वाचन नेपाली काँग्रेसका उम्मेदवार हरिबहादुर पुनले जिते । २०७४ सालको निर्वाचन जितेको नेकपा माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर खत्री तेश्रो स्थानमा झर्दा नेकपा एमालेका उम्मेदवारले दोश्रो स्थान हासिल गरेका थिए ।

निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हरिबहादुर पुनले निकै लोकप्रिय कार्यक्रमसहित निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । उनले अधिकांश योजना आर्थिक वर्ष २०७९/८० मै सुरु गर्ने गरी प्रतिवद्धता पत्र सार्वजिक गरेका थिए । कृषि क्षेत्रलाई निर्वाहमुखी नभई व्यवसायिक गर्ने योजना ल्याउने, कृषकहरूको अवस्था हेरी कृषि अनुदान, आवश्यकतामा आधारित तालिम दिने प्रतिवद्धता पत्रमा उल्लेख गरेका थिए । उन्नत जातको बीउ विजन वितरण गर्दै आधुनिक प्रजातिका फलफुलका विरुवा वितरणको नाममा भएका विकृतीलाई सही व्यवस्थापन गर्ने कार्यलाई आव २०७९/०८० मा सुरु गरेर ५ वर्षभित्र पुरा गर्ने उल्लेख गरेका छन् । यसैगरि गाउँपालिकामा कृषि विज्ञको व्यवस्थापन गरी घरदैलोमा कृषि विज्ञ कार्यक्रम सञ्चालन गर्ने, कृषि उपजलाई समयमै बजार पु¥याउन आवश्यक सहजीकरण गर्ने, पशु तथा पंक्षीपालनलाई कृषिसँग जोड्ने योजना ल्याउने र उत्कृष्ट किसानलाई वर्ष किसानको रुपमा सम्मान गर्ने कृषि क्षेत्रमा व्यक्त गरिएका प्रतिवद्धता हुन् ।

जेष्ठ नागरिक, अपाङ्गता भएका, दलित तथा अवस्था अध्ययन गरि १ लाखको निशुल्क स्वास्थ्य बीमा गर्ने, १५ शैंयाको विशेषज्ञसहितको अस्पताल सञ्चालनका लागी योजना निर्माण गरिने, उक्त कार्य २०७९/०८० देखी सुरु गरी ३ वर्षभित्र पुरा गर्ने उल्लेख गरिएको थियो । प्रत्येक वर्ष गाउँ गाउँमा स्वास्थ्य विशेषज्ञको सेवा कार्यक्रममार्फत जेष्ठ नागरिक, महिला, वालवालिकालाई केन्द्रित गरी वहुविशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने, जनताको पायक पर्ने स्थानमा प्रसुती गृह, सुरक्षित मातृत्व तथा पोषण कार्यक्रम लागु गर्ने साथै सुत्केरीलाई गाउँपालिकाभित्र निशुल्क र बाहिर विशेष सहुलियतमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने स्वास्थ्य क्षेत्रमा व्यक्त गरिएका प्रतिवद्धता हुन् । स्वास्थ्यमा लगानी गर्न युवाहरूलाई प्रोत्साहन कार्यक्रम ल्याइने, एमविविएस पढ्न चाहने विद्यार्थीहरूका लागि प्रत्येक वर्ष २ जनालाई आंशिक छात्रबृत्तिको व्यवस्था गर्ने रहेका छन् ।

गाउँपालिका अध्यक्ष पुनको चुनावी प्रतिवद्धतामा बालमैंत्री, किशोर किशोरीमैंत्री विद्यालय वातावरण निर्माण गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न कार्यक्रमहरू ल्याउने, विद्यालयलाई आइसिटीमैत्री वनाउन विशेष योजना ल्याउने उल्लेख गरिएको छ । गाउँपालिकाभित्रका शतप्रतिशत जनतालाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने, स्थानीय स्तरमा भएका पानी श्रोतको पहिचान गरी अनिवार्य सहभागितामा एक घर एक धाराको योजना ल्याउने उल्लेख गरिएको थियो । प्रत्येक गाउँपालिकावासीलाई सहुलियतसहितको विद्युत पहुँचको व्यवस्था गर्ने, टेलिकम नेटवर्कको बिस्तार तथा क्षमता बृद्धि गर्ने कार्यक्रमका लागि सम्बन्धित निकायमा पहल गर्ने, गापा भित्रका अस्तव्यस्त सडकलाई सुधार गरि बाह्रै महिना यातायात सञ्चालन गर्ने उल्लेख गरिएको छ । गाउँपालिकाभित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने योजना ल्याउने, युवा स्वरोजगारका कार्यक्रमहरू ल्याउने, प्रत्येक वडाका स्वरोजगारसँग सम्वन्धित शिक्षक सेवा, लोकसेवा, प्रहरी सेना आदिसँग सम्बन्धित रहेको पुस्तकालय शाखाको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप र अनुभवलाई उत्पादन क्षेत्रमा प्रयोग गर्न उत्प्रेरित गर्ने उल्लेख गरिएको थियो ।

गाउँपालिका तथा सवै वडाको प्रशासनिक भवन कार्यालय निर्माण गर्ने र उमेरको निर्धारण गरी एकल पुरुषहरूलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने, युद्ध पिडित तथा विभिन्न प्रकोपबाट पिडितहरूका लागि जीवन निर्वाह सहजताका कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष पुनले निर्वाचनका वेला व्यक्त गरेका थप प्रतिवद्धता हुन् । गाउँपालिकाका यस अघिका धेरै काम अस्तव्यस्त भएकाले प्रणालीमा ल्याउन ध्यान दिनु परेकाले चुनावी प्रतिवद्धता पत्रका धेरै कुरा कार्यान्वयन गर्न वाँकी रहेको अध्यक्ष पुनको भनाई छ । प्रतिवद्धता पत्रमा उल्लेखित केही विषय कार्यान्वयनमा गई सकेको उनको भनाई छ । अझै धेरै समय वाँकी रहेकाले श्रोत साधनको अवस्था हेरी धेरै कुरा कार्यान्वयनमा जाने अध्यक्ष पुनले बताए ।

रोजगारीमा जोड

२०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका दश स्थानीय तहमध्ये नेपाली काँग्रेसले जितेको एक मात्र स्थानीय तह लुंग्री गाउँपालिका थियो । २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने सो गाउँपालिका नेकपा माओवादी केन्द्रले जित्यो । अघिल्लो पटकको निर्वाचनमा लुंग्री गाउँपालिका वडा नं. ५ को वडाध्यक्ष रहेका भरत थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फवाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनि विजयी समेत भएका थिए । अध्यक्ष थापाले निर्वाचनका क्रममा अघि सारेको चुनावी प्रतिवद्धतामा शतप्रतिशत वालबालिकालाई विद्यालय भर्ना गर्ने, गाउँपालिकामा एउटा क्याम्पसको स्थापनाका लागी पहल गर्ने, बार्षिक ५० जनालाई उच्च शिक्षा हासिल गर्नको लागि छात्रबृत्तिको व्यवस्था गर्ने, सवैलाई पायक पर्ने ठाउँमा वहुप्राविधिक शिक्षालयको स्थापना गरि प्रावधिक जनशक्ति उत्पादनमा पहल गर्ने उल्लेख गरिएको थियो । शिक्षा क्षेत्रमा उनले अघि सारेका थप प्रतिवद्धता पत्रमा दलित, विपन्न, अपाङ्ग जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न छात्रबृत्तिको व्यवस्था गर्ने, ५ वर्षभित्र आधारभूत र माध्यमिक तहमा कम्प्यूटर र स्मार्ट वोर्डको व्यवस्था गरि प्रविधिमैंत्री शिक्षाको व्यवस्था गर्ने, निजीश्रोत शिक्षकको उचित व्यवस्थापन तथा उचित पारिश्रमिकसहित नीजि श्रोत शिक्षक मुक्त गाउँपालिका वनाउने रहेका छन् । प्रत्येक विद्यालयमा बालमैंत्री भौतिक संरचना निर्माणमा जोड दिने, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगी उचित पारिश्रमिक र व्यवस्थापन गर्न पहल गर्ने, हाल विद्यालयलाई दिइदै आएको दिवाखाजालाई थप व्यवस्थित गर्दै कक्षा ८ सम्म पु¥याईने गाउँपालिका अध्यक्ष थापाले निर्वाचन वेला अघि सारेका प्रतिवद्धता हुन् ।

प्रत्येक वडाका टोलवस्तीहरूमा आपतकालिन तथा प्राथमिक स्वास्थ्य सेवा दिने व्यवस्था गरिने, निशुल्क एम्बुलेन्स सेवा दिईने, प्रत्येक वडाका स्वास्थ्य संस्थामा एम्बुलेन्स सेवा र स्वास्थ्य बीमा सेवा उपलव्ध गराईने, जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण गराइने स्वास्थ्य क्षेत्रका प्रतिवद्धता हुन् । स्वास्थ्य क्षेत्रकै प्रतिवद्धता अन्तरगत गर्भवती महिलालाई निशुल्क स्वास्थ्य परिक्षण र भिडियो एक्सरे सेवा उपलव्ध गराउने, पालिकास्तरमा आधारित अस्पताल निर्माणका लागि पहल गर्ने, कम्तिमा महिनाको एक पटक विशेषज्ञ डाक्टरहरूको टोलीद्धारा गाउँपालिकास्तरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने रहेका छन् । तरकारी खाद्यान्न लगायत वहुमूल्य फलफुल तथा जडीवुटीको सम्भाव्यता अध्ययन विज्ञमार्फत् गराई खेती गर्न योग्य माटो र हावापानी परिक्षण गरी सोही अनुसार खेती गर्न व्यवस्थापन गर्ने, उत्पादित वस्तुको उचित बजार व्यवस्थापनको सुनिश्चित गर्ने, कृषि क्षेत्रको विकासका लागि व्यक्त गरिएको प्रतिवद्धता हो । प्रत्येक किसानको वाली बीमा गरिने र उचित क्षतिपूर्तीको व्यवस्था गर्ने, लोकल गाई र लोकल खसीबाख्रा संरक्षणका लागि विशेष कार्यक्रम वनाई लागु गर्ने अध्यक्षको उम्मदेवार बन्दा अध्यक्ष थापाले अघि सारेका प्रतिवद्धता हुन् । शिक्षित वेरोजगार युवाहरूलाई स्थानीय सरकारको जमानतमा सहुलियत कर्जा प्रदान गरी स्वरोजगारमुलक बनाउने, गाउँपालिकामा खेलकुद प्रशिक्षण केन्द्र स्थापना गरि सञ्चालन गर्ने, एक वडा एक खेलमैदानको व्यवस्था गर्ने उल्लेख छ ।

रिङरोडको अवधारणालाई अघि सार्ने, पालिकाभित्रका सवै सडक स्तरोन्नतीका लागि विशेष जोड दिने, पालिकाबाट वडा जोड्ने सबै सडकलाई बाह्रै महिना यातायात चल्ने गरि नियमित गर्ने, ५ वर्षभित्र एक घर एक धारा कार्यक्रम पुरा गरिने र खानेपानीको श्रोत नभएका वस्तीमा लिफ्ट खानेपानीको व्यवस्था गर्ने उनको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन विशेष कार्यक्रमको योजना ल्याउने, गाउँपालिकाका सबै वडाका सबै टोलमा विद्युत बिस्तार गर्ने, गाउँपालिकाभरि निश्चित यूनिटको विद्युत निशुल्क गर्ने, एक वडा एक सुपथ मूल्यको पसलको व्यवस्था गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको थियो । महिनाको २ पटक हाटबजारको व्यवस्था गर्ने, गाउँपालिकामा संकलन केन्द्र स्थापना गर्ने, उत्पादित वस्तुलाई बजारसम्म पु¥याई बिक्री वितरण गर्न सहजिकरण गर्ने, एक घर एक रोजगारीलाई बिशेष जोड दिने गाउँपालिका अध्यक्ष थापाले निर्वाचनको क्रममा अघि सारेका चुनावी प्रतिवद्धता हुन् । यसअघि पनि जनप्रतिनिधि भएर काम गरेको अनुभव भएकाले काम गर्न सकिने जति मात्रै चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरेको गाउँपालिका अध्यक्ष थापाको भनाई छ । निर्वाचन भएको त्यति लामो समय नभएकाले पाँचौ वर्षसम्म अधिकांश काम पुरा गरिने अध्यक्ष थापाको भनाई छ ।

हाटबजारले तरकारी किसान लाभान्वित

रुन्टीगढी गाउँपालिका रोल्पाको एक सुगम गाउँपालिकाको रुपमा चिनिन्छ । दाङसंग सिमाना जोडिएको यस गाउँपालिकामा २०७४ सालमा नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार गठन भएको थियो । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको त्रिपक्षीय प्रतिस्पर्धामा २०७९ सालमा भने नेपाली काँग्रेसले जितेको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष हारेका जनक पुनले नेपाली काँग्रेसको उम्मेदवार बनि गाउँपालिका अध्यक्ष जितेका थिए । निर्वाचनमा अध्यक्षका उम्मेदवार पुनले निकै लामो चुनावी प्रतिवद्धता पत्र सार्वजिक गरेका थिए । सार्वजनिक गरिएको प्रतिवद्धता पत्र अनुसार रुन्टीगढी गाउँपालिका अन्तरगत सबै वडा र गाउँमा रहेका पहुँचमार्गलाई स्तरोन्नती गरि बाह्रै महिना यातायात सञ्चालन गर्ने, हालसम्म बाँकी रहेका गाउँमा पहुँचमार्ग निर्माण गर्ने, गाउँपालिका केन्द्र होलेरी बजारबाट जोडिएका वडा कार्यालय जाने सडक कालोपत्रे गर्न सुरुआत गर्ने उल्लेख गरिएको छ । चुनढुंगा उत्खनन्लाई वातावरणमैंत्री उपाय अवलम्बन गरि वैकल्पिक मार्ग र शहिदमार्ग पुनः निर्माणका लागी पहल गर्ने, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीलाई उचित पारिश्रमिकको व्यवस्था गर्ने, माध्यमिक शिक्षा पूर्ण निशुल्क गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने, अति विपन्न र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागी छात्रबृत्तिको व्यवस्था गर्ने, आधारभूत तह र माध्यमिक तहमा विषयगत शिक्षकको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष पुनले अघि सारेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको थियो ।

रुन्टीगढी गाउँपालिकाको केन्द्रमा रहेको महेन्द्र मावि होलेरीमा समय सापेक्ष प्राविधिक विषयको पठनपाठन गर्ने र रुन्टीगढी गाउँपालिकामा उच्च शिक्षा अध्ययनका लागी क्याम्पसको स्थापना गर्ने प्रतिवद्धता पत्रमा समावेश गरिएका अन्य कार्यक्रम हुन् । प्रत्येक विद्यालयलाई क्रमशः आरसिसी भवन निर्माण गर्दै टिनको छानो मुक्त विद्यालय वनाईने, डिजिटल कक्षा, सिसिटिभी तथा विद्युतिय हाजिरीको प्रबन्ध मिलाउने, विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकलाई पालिकाबाट व्यवस्थापन गर्ने भनिएको थियो । निरोगी महिला, निरोगी वच्चा, कार्यक्रम अन्तरगत मातृशिशु स्याहार कार्यक्रमलाई प्राथमिकतामा राखिने, स्वास्थ्य समस्याबाट ग्रसित नागरिकको सेवाप्रवाह तथा पहुँचमा बृिद्ध गर्न भिडियो एक्सरे र ल्याब टेष्ट टिमसहित प्रत्येक वडा स्वास्थ्य संस्थामा मोवाईल क्लिनिक कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य क्षेत्रमा अघि सारिएको कार्यक्रम हो । प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित डाक्टर र अत्याधुनिक स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयमसेविकाको उचित पारिश्रमिकको व्यवस्था गर्ने स्वास्थ्य क्षेत्रका थप कार्यक्रम हुन ।

रुन्टीगढी उज्यालो कार्यक्रम अन्तरगत ग्रामीण विद्युतिकरण बिस्तारलाई रुन्टीगढीका सम्पूर्ण घरधुरीमा पु¥याउने, २० यूनिटसम्म विद्युत उपभोग गर्ने परिवारको विद्युत शुल्क निशुल्क गर्ने, खानेपानीको अति आवश्यक गाउँमा एक घर एक धाराको खानेपानी प्रबन्ध गर्ने, होलेरी बजारमा खानेपानी व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष पुनको चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरिएका विषय हुन् । पर्यटन प्रवद्र्धनका लागि गरिएका डिपिआरहरूको समीक्षा तथा अद्यावधिक गरी कार्यान्वयनमा ल्याउने, पर्यटनमुखी लघुउद्यमको विकासमार्फत पर्यटक आकर्षण गरि आयआर्जनमा बृद्धि गर्ने, रुन्टीगढीमा पहिचान भएका पर्यटकीय स्थललाई पर्यटक आकर्षण केन्द्रको रुपमा विकास गरी पर्यटकमैंत्री बनाउने अध्यक्ष पुनको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । पैदलमार्ग, लम्विय पहाड पैदल यात्रा, साहसिक पर्यटन सञ्चालनका लागि दातृ निकाय र नीजि लगानीलाई प्रोत्साहन गर्ने, उघा र खर्से व्यारेकलाई व्यवस्थापन गरि उत्कृष्ट लिभिङ डिजिटल पार्क निर्माण गर्ने पर्यटन क्षेत्रमा अघि सारिएको चुनावी प्रतिवद्धता हो । बेरोजगार युवाहरूका लागी आयआर्जन र सीपमुलक तालिम सञ्चालन गरि रोजगारीमा सहभागि गराउने, लघु उद्यम विकास कार्यक्रम अन्र्तगत एक गाउँ एक उद्यमको विकास गर्ने, बेरोजगार युवाहरूलाई अनुदान तथा सहुलियत दरको ऋण उपलव्धताका लागि स्थानीय सहकारीसँग साझेदारी गर्ने भनिएको छ ।

खेलकुदका लागी कवर्ड हलको निर्माण गरि खेलकुद विकास र व्यवस्थापनमा सहयोग गर्ने, अति विपन्न घरधुरीको छनौट गरी उनीहरूको आयआर्जन बृिद्ध गरी आत्मसम्मान बृिद्ध गर्न एकीकृत योजनासहितको सहयोग कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । बालश्रम र बालविवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण गरी बालश्रम र बालविवाह मुक्त क्षेत्र घोषणा गर्ने, सुकुम्बासीलाई सुरक्षित आवास र रोजगारीको व्यवस्था गर्ने भनिएको छ । विकसित देशसंग भगिनी सम्बन्ध स्थापना गरि आवश्यक श्रोतको व्यवस्थापन गरी अवसरको खोजी गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायसंगको समन्वयमा प्रभावकारी कार्यक्रम कार्यान्वयनमा सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष पुनले अघि सारेका चुनावी प्रतिवद्धता हुन् ।

चुनावी प्रतिवद्धता पत्र नै आफ्नो मुल मन्त्र भएको गाउँपालिका अध्यक्ष पुनको भनाई छ । केही कामको सुरुआत गरिएपनि परिणाम देखिन केही समय लाग्ने उनको भनाई छ । केही आफ्नै श्रोत तथा प्रदेश र संघबाट श्रोत उपलव्ध भए धेरै काम सम्पन्न गर्न सकिने अध्यक्ष पुनको भनाई छ । तरकारीको निकै राम्रो सम्भावना भएको यस क्षेत्रमा २०५४ सालमा नै हाटबजार सञ्चालन गर्ने भनियो । केही सुरुआत पनि भयो तर त्यसले सफलता पाउन सकेन । २०६३ साल पछि गाउँविकास समितिहरूले हाट बजार सञ्चालन गर्ने योजना अघि सारेपनि सञ्चालन हुन सकेन । २०७४ सालमा निर्वाचितले हाट बजार सञ्चालन गर्न केही पहल गरे पनि सार्थक भएन । २०७९ सालमा निर्वाचित स्थानीय सरकारले आफ्नो कार्यकालको दोश्रो वर्षमा हाट बजार सञ्चालनमा ल्याएको हो । हाट बजार लागेको दिन किसानहरूले कम्तिमा ३५ हजार र वढीमा ६५ हजार किलोग्रामसम्म तरकारी बिक्री गरेको अभिलेख रहेको पनि गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए । गाउँ नजिकै हाट बजार सञ्चालन भएपछि तरकारी खेती गर्न किसानहरु उत्साहित भएका छन् । ‘हाट बजार नहुँदा ठूलो रकम विचौलियाले खान्थे । हामी किसानसम्म त निकै थोरै पैसा आउथ्यो’, रुन्टीगढी गाउँपालिका–९ का चन्द्रप्रकाश महराले भने । विदेशमा ११ वर्ष बिताएका महराले गाउँमै तरकारीले उचित मुल्य पाउन थालेपछि भने विदेश जान छाडेर यतै तरकारी खेती गर्न थालेका छन् । तरकारी बिक्री गरेर एक सिजनमा २० लाखसम्म आम्दानी हुने गरेको पनि महराले बताए । कृषि पेशाप्रति थप आकर्षण बढाउन गाउँपालिकाले तरकारी उत्पादक कृषकहरूबाट लिदै आएको कर छुट गरेको छ । निर्वाचनमा गरिएका प्रतिवद्धता मध्ये रुन्टीगढी गाउँपालिकाको यो काम वाहेक जिल्लामा अन्य उल्लेखनीय काम हुन नसकेको स्थानीयहरूको बुझाई छ ।

चुनावको वेला आवश्यकता पहिचान र वस्तुस्थितीको अध्ययनविना नै मतदाताको मन जित्ने गरि लोकप्रिय कार्यक्रम ल्याउने प्रतिस्पर्धा भएपनि निर्वाचित भएपछि ती काम ओझेलमा पर्ने गरेको महिला अधिकारकर्मी तीर्था आचार्यले बताइन् । चुनावी प्रतिवद्धता पत्र दल विशेषका भएपनि निर्वाचनपछि भने धेरै दलको मिलीजुली सरकार हुने भएकाले प्रतिवद्धताहरू कार्यान्वयन गर्न चुनौती रहने गरेको आचार्यको भनाई छ ।

Sharing is caring!