पर्यटक तान्न खोज्दै स्थानीय सरकार

प्रेमनारायण आचार्य पुस २०७६ अर्घाखाँची

प्रदेश पाँचका स्थानीय सरकारहरु आफ्ना पालिकालाइ पर्यटकीय स्थल बनाउन धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न तथा त्यसका लागि चाहिने भौतिक संरचना निर्माण गर्न लागेका छन ।

स्थानीय सरकारको यस कार्यलाइ प्रदेश सरकारले पनि साथ दिएको छ । संघिय संरचना लागू भएर स्थानीय बासिन्दाले गाँउमै सेवा पाउन थालेपछी सदरमुकाम सन्धिखर्कमा चहलपहल हराउँदै जान लागेको थियो । नगरपालिकामा पहिलेकै जस्तो चहलपहल बनाउन नगरपालिकाले विभिन्न गतिविधी गरिरहेको छ ।

सन्धिखर्क भित्रका सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको संरक्षणसंगै पर्यटनका लागि आवश्यक संरचना निर्माणमा सन्धिखर्क नगरपालिकाले जोड दिएको छ । शान्ती बगैंचाको आधुनिकीकरण तथा व्यवस्थापन अभियान अन्तिम चरणमा पुगेको छ । अभियान सुरु भएको एक बर्षमै बगैंचाको मुहार फेरिएको छ । शान्ती बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको हो ।

सन्धिखर्क बजारको बिचमा रहेको शान्ती बगैंचामा आँपका रुखमात्र थिए । अहिले त्यहाँ बुद्धको मुर्ती राखिएको छ । सबै ठाउँमा फुल, पानीका फोहराको ब्यवस्था गरी यसलाई उद्यान बनाउन थालिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताए । उनले शान्ती बगैंचालाइ व्यवस्थीत गरेर अशान्ती भएको समयमा बगैंचामा आएपछि मन शान्त हुने खालको बनाउन थालिएको बताए ।

नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकका अनुसार, यस पार्कमा गणेश मन्दिर, हरितमार्ग, बालबालीकाको मनोरञ्जनका लागी पिङ्ग, झुला बनाउने, वरीपरी तारजाली लगाएर सुरक्षित गर्ने, बस्ने ठाउँको व्यवस्था गर्नका लागि सन्धिखर्क नगरपालिकाले ४५ लाख रकम विनियोजन गरेको छ । यी सबै पूर्वाधार र सुविधा बालबालिका र बृद्धबृद्धाका लागि समेत उपयुक्त हुने किसिमले बनाइँदैछन् ।

बगैंचामा अशोक, क्रिसमस ट्रि, धुपी सल्ला लगायतका बिरुवा थपिने कुरा निर्माण समितिका अध्यक्ष नारायण बन्जाडेले बताए । सुपा देउराली मन्दिरमा आएका पर्यटकहरुलाइ आकर्षित गर्नकालागि बगैंचालाई व्यवस्थित पार्न लागिएको हो ।

सुपा देउराली मन्दिरबाट ३ किलोमिटर टाढा नरपानीको गंगा–सरोवर छ । सुपादेउरालीमा आएका पर्यटकहरूलाई नरपानीसम्म ल्याउनका लागि गंगा–सरोवरमा डुंगा चलाइएको छ ।

नरपानी अहिले बनभोज खाने ठाउँमा चिनिएको छ ।सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार नगरपालिकाले विनियोजन गरेको करिब ४ लाख रुपैयाँमा २ वटा डुंगा किनेर चलाइएको हो ।

पर्यटनलाई मध्यनजर गर्दै नगरपालिकाले सन्धिखर्कमा भ्युटावर निर्माण गर्न लागेको छ । चालिस लाख रुपैयाँ लागतमा निर्माणाधिन सिटी भ्युटावरबाट चुत्रावेशी बजार, सन्धिखर्क बजार, लदाम, बसपार्क, हललाइन लगायत अर्घा, किमडाँडा तथा कुरको सबै भूभाग हेर्न सकिने छ ।

पाणिनि गाउँपालिका सस्कृत व्याकरणको रचना भएको विश्वास गरिएको पाणिनि गाउँपालिकामा पर्ने पाणिनि तपोभूमिको प्रचार प्रसारमा लागि परेको कुरा गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए । यसका लागि प्रदेस सरकारको ५० लाख र गाउँपालिकाको झण्डै ५० लाख खर्च गरी पोखरी तथा अन्य विभिन्न संरचनाा बन्दैछन ।

  यहाँबाट उत्तरतिर  हिम श्रृंखला र  दक्षिणतिर तराईका फाटहरु अनि भारतीय भूमि देख्न पाईन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केहि मिनेट उकालो हिडेपछि यहाँ  पुग्न सकिन्छ । 

छत्रदेव गाउँपालिकाले छत्रदेवालय मन्दिरको मर्मतसम्भार तथा आबश्यक पुर्वाधारमा जुटेको छ । एक करोड १० लाखको लागतमा छत्रदेव हुदै गुल्मीको तम्घास जाने सडकबाट मन्दिरमा जाने १२ सय ४८ सिढी र रेलिंग निर्माण गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । पाँच नम्वर प्रदेसकै सबैभन्दा बढी सिढी भएको मन्दिर बनाउने गरि काम भैरहेको बताए ।

छत्रदेव गाउँपालिका जंग बहादुरको न्वरान भएको स्थानको रुपमा चिनिने वलकोटको पौवाको प्रचार प्रसार र विकासमा जुटेको छ । यस ठाउँको विकासमा प्रदेस सरकार र छत्रदेव गाउँपालिकाले झण्डै ५० लाखको लागतमा काम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।

रेसुंगा नगरपालिका वडा नम्बर ५, ६ र ७ को संगमस्थल उनायचौरको उनायचौर भगवती मन्दिरमा गत भदौमा ‘वृक्ष गगन गृह’ निर्माण गरिएको हो। चढ्न त के देख्दै आङ सिरिङ हुने सल्लाको, सानो रुखमा टाँसेर घर बनाइएको हो । यही डरलाग्दो रुखमा अहिले दूधे बालकदेखि वृद्धसमेत सजिलै चढ्न सक्छन् ।

यो घरले धेरै पर्यटक लोभ्याएको छ । यहाँ पुग्ने सबै घर अगाडि बसेर फोटो खिच्छन् । कोही रुख घरमा चढ्न टिकट काटेर लाइनमा ठेलमठेल गरेर उभिएका हुन्छन् ।

रुख घर अवलोकनका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको रेसुंगा नगरपालिका–७ का वडा सदस्य रघु पन्थीले बताए। उनका अनुसार विदाको दिन पर्यटकको बढी भीड हुने गरेको छ ।
प्रदेश ५ सरकारको लगानीमा डिभिजन वन कार्यालय गुल्मीको १२ लाख रुपैयाँ र उपभोक्ताको १ लाख ३८ हजार ५ सय ११ रुपैयाँ लागतमा उक्त घर निर्माण गरेको हो । ५० रोपनीमा फैलिएको यस क्षेत्रमा चिल्ड्रेन पार्क र अन्य रुखलाई सजावट गरिने समितिको योजना छ ।

पतञ्जलीको जन्म अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर ७ एैरावतीको वलारेपांग्रेमा भएको विश्वास गर्दै यस ठाउँलाई राम्रो बनाउने काम शितगंगा नगरपालिकाले गरिरहेको छ । यहाँ पतञ्जलीको मन्दिर र धर्मशाला बनाउनका लागि ५० लाख विनियोजन गरेर काम अगाडी बढाइएको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेसकान्त पौडेलले बताए । नगरपालिकामा रहेको डम्मरु दह र वाणगंगाधामको प्रचार प्रसार र विकासमा पनि काम भैरहेको उनले बताए ।
नेपालकै पबित्र धामहरु मध्यको एक धाम हो प्यूठानको स्वर्गद्धारी । स्वर्गद्धारी नपुगेसम्म हिन्दूहरुको तीर्थयात्रा नै पुरा हुदैन भन्ने जनविश्वास रहेको छ । यो महाभारत सृंखलाको करिव २१२२ मिटर अर्थात ६९६० फिट अग्लो लेक हो ।

परापूर्वक कालमा ऋषिमुनिहरुले यहाँ ठाउमा बसी जपतप गरेर स्वर्ग गएकाले यस स्थानको नाम स्वर्गद्धारी हुन गएको भन्ने भनाई छ ।

यहाँ आउने धार्मिक पर्यटकको लागि घुम्ती शौचालय बनाउन नगरपालिकाबाट २० लाख रुपैया बजेट विजियोजन गरेकोे स्वर्गाद्धारी नगरपालिकाका नगर प्रमुख नेत्रबहादुर रोकायाले बताए । स्वर्गद्धारीमा आउने धार्मिक पर्यटकलाइ कसरि सेवा दिन सकिन्छ भन्नेतिर नगरपालिका लागिरहेको पनि उनले बताए । प्रदेश सरकारले पनि स्वर्गद्धारीको प्रचारप्रसारमा काम गरिरहेको छ । एक करोडको लगानीमा नमुना पार्क बनाउन थालिएको नगर प्रमुख रोकायाले बताए ।

Sharing is caring!