पहाडमा मान्छे टिकाउनै सकस

जीवराज चालिसे २०८० फागुन रुपन्देही

स्थानीय कृषिको व्यवसायिकीकरणमा स्थानीयलाई जोड्न सकेमात्रै पनि टाउको दुखाईको विषय बनिरहेको तराईउन्मुख जनसांख्यिक प्रवाह रोक्न सकिन्छ ।

आर्थिक बर्ष २०६४/६५ सालमा गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तहमा १४०० जना विद्यार्थी थिए । आर्थिक बर्ष २०७८/७९ मा स्नातक र स्नातकोत्तरमा सात सय २९ जना मात्र विद्यार्थी छन् । यसरी विद्यार्थी घटेकाले क्याम्पसको आम्दानी घट्यो । आम्दानी घटेपछि ३१ साउन २०७९ देखि क्याम्पसलाई संकट आइलाग्यो । ‘१४ बर्षमै क्याम्पसमा विद्यार्थी आधा घटे,’ क्याम्पस प्रमुख हरि खत्री भन्छन्, ‘पहाडमा अब विद्यार्थीहरू पाइन छाडेका छन् । विद्यार्थी नै नभएपछि स्कुल, क्याम्पस कसरी चल्ने ?!’

२०७० सालमा रुपन्देहीको बुटवल कालिका क्याम्पस खुल्दा स्नातक तहमा ३५ जना विद्यार्थी भर्ना भएका थिए । ०८० मा आइपुग्दा सो क्याम्पसमा तीन हजार जना विद्यार्थी छन् । क्याम्पस प्रमुख घनश्याम पाठक १० बर्षमा क्याम्पसमा विद्यार्थी बढेको देखेर निकै उत्साहित छन् । उनी भन्छन्, ‘विद्यार्थीको आकर्षण यसरी बढिरहेको छ कि सबैजनालाई भर्ना लिन नसकेर प्रवेश परिक्षामार्फत् विद्यार्थी छान्ने गरेका छौँ । अब स्नातकोत्तरका कक्षा सुरु गर्ने योजना छ ।’

पहाडी जिल्ला गुल्मी र तराईको रुपन्देहीमा रहेका दुई सामुदायिक क्याम्पसमा देखिएको यो परस्पर विरोधी दृश्यलाई जोड्ने साझा घटना हो, बसाईसराइँ । २०७८ सालको जनगणनाअनुसार एकाध जिल्लालाई छाड्ने हो भने जन्मदर र मृत्युदरमा उतिसारो परिवर्तन नआउँदा पनि पहाडका जिल्लामा जनसंख्या घटिरहेको छ । तराईका जिल्लामा भने निरन्तर बढिरहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मी भन्छन्– आन्तरिक बसाईसराइँ बढेकाले तराईमा मानिस बढिरहेका छन्, पहाडमा घटिरहेका छन् ।

रित्तिदों पहाड

२०७८ को जनगणनाको नतिजाअनुसार, त्यसअघिका १० बर्षमा लुम्बिनी प्रदेशका स्थानीय तहमा ठूलो जनसांख्यिक परिवर्तन भएको छ । प्रदेशको ५१ लाख २२ हजार ७८ मध्ये २९.७ प्रतिशत मानिस कुनै न कुनै हिसाबले बसाइँ सरेका छन् । बसाईसराइँ गर्नेमध्ये १६.७ प्रतिशत अर्कोे जिल्लामा, ८.७ प्रतिशत अर्को पालिकामा र ४.४ प्रतिशत विदेश बसाइँ सरेका छन् । यसरी बसाइँ सरेका १५ लाख २७ हजार ६७४ जना मध्ये सबैभन्दा धेरै ३२.२ प्रतिशत मानिस पछिल्लो १० देखि २४ बर्षको बिचमा बसाइँसरेका हुन् । ३.९ प्रतिशत मानिस ५० वर्षभन्दा पहिले बसाइँ सरेका हुन् । ३.१ प्रतिशत मानिस गएको एक वर्षमा बसाइँ सरेका हुन् । पहाडी जिल्लाबाट मानिस बसाइँ सर्ने क्रम अधिक छ । ०६८ देखि ०७८ सम्ममा सबैभन्दा धेरै मानिस गुल्मीमा घटेका छन् । गुल्मीको कालिगण्डकी गाउँपालिका प्रदेशमै सबैभन्दा थोरै जनसंख्या वृद्धिदर भएको पालिका हो । लुम्बिनीमा सबैभन्दा धेरै मानिस बढेको जिल्ला रुपन्देही हो ।

तालिका १ : धेरै जनसंख्या घटेका लुम्बिनी प्रदेशका पालिकाहरू
स्थानीय तहजिल्लाजनसंख्या (२०६८)जनसंख्या (२०७८)जनसंख्या वृद्धिदर (प्रतिशत)
कालिगण्डकी गाउँपालिकागुल्मी१८,८७६१५,०४४–२.१८
निस्दी गाउँपालिकापाल्पा२२,६१११८,१२०–२.१२
सत्यवती गाउँपालिकागुल्मी२३,८०७१९,४७३–१.९३
पूर्वखोला गाउँपालिकापाल्पा१९,५८९१६,०६२–१.९१
रिब्दीकोट गाउँपालिकापाल्पा१८,७७०१५,४७३–१.८५
धुर्कोट गाउँपालिकागुल्मी२२,४५४१८,८१४–१.७०
पाणिनी गाउँपालिकाअर्घाखाँची२६,४२४२२,२९१–१.६३
रम्भा गाउँपालिकापाल्पा२०,१९०१७,१५५–१.५६
छत्रदेव गाउँपालिकाअर्घाखाँची२५,३३५२१,६६१–१.५३

२०६८ देखि ०७८ सालका बिचमा पहाडी जिल्ला गुल्मीका १२ वटै पालिकामा जनसंख्या घटेको छ । मानिस घटेका लुम्बिनी प्रदेशका ३१ वटा पालिका मध्ये २९ वटा पहाडका हुन् । दुईवटा पालिका चाहिँ दाङको बंगलाचुली र बर्दियाको गेरुवा गाउँपालिका हुन् । रोल्पा र रुकुम पूर्वका पालिकामा भने मानिस थोरै मात्र बढेका छन् । पाल्पामा तानसेन नगरपालिकाबाहेक अन्य सबै पालिकाको जनसंख्या घटेको छ । अर्घाखाँचीमा पनि सन्धिखर्क नगरपालिकाबाहेक अरु सबै पालिकामा जनसंख्या घटेको छ । प्यूठानमा तीन र रोल्पाको एउटा पालिका तह (थबाङ गाउँपालिका) मा जनसंख्या घटेको छ ।

तालिका २ : जनगणना २०७८ अनुसार जनसंख्या घटेका लुम्बिनीका पालिका
क्र.सं.जिल्लास्थानीय तहजनसंख्या वृद्धिदर (प्रतिशत)
रोल्पाथबाङ गाउँपालिका–०.०३
प्यूठानऐरावती गाउँपालिका–०.८५
झिमरुक गाउँपालिका–०.६४
मल्लरानी गाउँपालिका–१.१८
गुल्मीचन्द्रकोट गाउँपालिका–१.५०
छत्रकोट गाउँपालिका–१.००
धुर्कोट गाउँपालिका–१.७०
गुल्मीदरबार गाउँपालिका–१.२७
इस्मा गाउँपालिका–१.१५
कालिगण्डकी गाउँपालिका–२.१८
मदाने गाउँपालिका–०.८६
मालिका गाउँपालिका–०.७६
मुसिकोट नगरपालिका–१.३६
रेसुङ्गा नगरपालिका–०.३०
रुरुक्षेत्र गाउँपालिका–१.०८
सत्यवती गाउँपालिका–१.९३
अर्घाखाँचीभूमिकास्थान नगरपालिका–१.४१
छत्रदेव गाउँपालिका–१.५३
मालारानी गाउँपालिका–१.४३
पाणिनी गाउँपालिका–१.६३
शितगंगा नगरपालिका–१.३५
पाल्पाबगनासकाली गाउँपालिका–१.३८
माथागढी गाउँपालिका–०.३८
निस्दी गाउँपालिका–२.१२
पूर्वखोला गाउँपालिका–१.९१
रैनादेवी छहरा गाउँपालिका–१.२९
रम्भा गाउँपालिका–१.५६
रिब्दीकोट गाउँपालिका–१.८५
तिनाउ गाउँपालिका–०.६८
दाङबंगलाचुली गाउँपालिका–०.६६
वर्दियागेरुवा गाउँपालिका–०.३८
स्थानीय तहको टाउको दुखाई

लुम्बिनी प्रदेशमा सबैभन्दा छिटो जनसंख्या घटिरहेको पालिका गुल्मीको कालिगण्डकी गाउँपालिका हो । गाउँका मानिसहरू बसाइँसरेर हिडेपछि शिक्षामा सबैभन्दा ठूलो असर परेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा बताउँछन् । उनका अनुसार विद्यालय जाने बालबालिकाहरू आमाबुवासँगै बसाइँ हिडेपछि विद्यालयका कक्षाकोठा रित्तिदैं गएका छन् । उनी भन्छन्, ‘बालबालिका घटेपछि अहिले विद्यालय भवन बढी हुन थालेका छन् । शिक्षक पनि बढी भएका छन् ।’ विद्यार्थी घट्दै गएपछि गाउँपालिकाले विद्यालय गाभ्ने नीति लिएको छ । अहिलेसम्म तीन वटा आधारभूत माध्यमिक विद्यालय एक आपसमा गाभिएका छन् । गाउँपालिकाको पुरानो विद्यालयमध्येको एक जयखानी माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थी नभएपछि विद्यालयलाई आधारभूत तहमा झारिएको छ । ‘यस्तो जिल्लामै पहिलो पटक भएको होला,’ गाउँपालिकाका अध्यक्ष थापा बताउँछन् ।

छिटो जनसंख्या घटिरहेको अर्को पालिका हो, पाल्पाको निस्दी गाउँपालिका । गाउँपालिकाकी उपाध्यक्ष तिरनकुमारी श्रेष्ठका अनुसार निस्दीमा मानिस बसाइँ सर्दै गएकाले रित्ता घर दिनदिनै बढिरहेका छन् । ‘यहाँबाट कमाउन भनि सहर वा विदेश जाने पुरुष धेरै छन् । सहर जानेहरूले श्रीमति र छोराछोरी आपूmसँगै लैजान्छन्, विदेश जानेहरूले सहरमा डेरामा राखिदिन्छन्,’ उनी भन्छिन्, ‘श्रीमतिले सहरमा छोराछोरी पढाउँछिन् । कमाएको पैसाले उतै घर घडेरी जोड्छन् । त्यतिबेलासम्म यता पहाडमा रहेको घर यत्तिकै छाडेर आमाबुवालाई पनि लैजान्छन् ।’ निस्दी गाउँपालिकाले त्यस्ता रित्ता घर यति नै छन् भनेर तथ्याङ्क नराखेपनि गाउँपालिका उपाध्यक्ष श्रेष्ठको अनुमानमा गाउँपालिकामा कम्तीमा दुईसय घरमा अहिले रित्ता छन् । उनी भन्छिन्, ‘मान्छे नभएपछि खेति हुने भएन । बिस्तारै डाँडापाखाहरू सुनसान हुँदै छन् ।’

पाल्पाकै पुर्वखोला गाउँपालिकामा बर्षेनी १.९१ प्रतिशतले मानिस घटिरहेका छन् । योसबैभन्दा छिटो जनसंख्या घटिरहेको लुम्बिनी प्रदेशको चौथो पालिका हो । गाउँपालिकाको केन्द्र रिङ्नेरहसम्म सडक पुगेको १० वर्ष पनि भएको छैन । मानिसहरू सोही सडकहुँदै तराईतिर झरिरहेका छन् । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाका भनाईमा पालिका बनेपछि हरेक गाउँमा सडक पुगिसकेको छ । सबै वडाका मानिसहरूले आधारभूत स्वास्थ्य सेवा पनि पाइरहेका छन् । समान शिक्षालाई व्यवहारमा लागू गर्न अंग्रेजीमाध्यमका विद्यालयहरूलाई सामुदायिक विद्यालयमा गाभेर शैक्षिक गुणस्तर बढाउन ध्यान पनि दिइएको छ । ‘तर मान्छेहरू गाउँमा बस्न रुचाउँदैनन्,’ उनी भन्छन्, ‘पहिले गाउँमा केही नहुँदा पनि मान्छे टिकेकै थिए । अहिले विकास छि¥यो, मान्छे गाउँबाट निस्किन थाले ।’

किन बसाइँ सर्छ मान्छे ?

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा प्रकाशित डा. बलकुमार केसीको एक अध्ययनअनुसार असमान विकासका कारण बसाइँसराई बढ्छ । डा. केसीले उक्त शोधमा भनेका छन्– दुर्गम र कम विकसित ठाउँका मानिस विकास भएका ठाउँमा बसाइँ सरेका छन् । गरिबी धेरै भएका गाउँबाट जनघनत्व धेरै भएको सहरी क्षेत्र र उत्पादकत्व धेरै भएको तराईतिर बसाइँ सरिरहेका छन् ।

त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक डा पद्यप्रसाद खतिवडाका अनुसार कृषिमा आधुनिकीकरण हुन नसक्नु, १७ प्रतिशत मानिस अझै गरिबी भएकाले र स्वदेशमा उच्च शिक्षामा विभिन्न समस्या भएकाले बसाइँसराइ बढेको छ । डा खतिवडाका अनुसार, बसाइँसराइको अर्को प्रमुख कारण प्राकृतिक प्रकोप हो । जलवायु परिवर्तनले गर्दा नेपालमा बाढी र पहिरो बढेका र त्यसले गर्दा बसाइँ सर्ने मानिस पनि उल्लेखनीय रुपमा धेरै छन् । यस्तै गरी भूकम्ले गर्दा पनि धेरै मानिस बसाइँ सरेका छन् । ‘यसबाहेक आफ्नो जीवनस्तर उठाउने व्यक्तिगत चाहना, सामाजिक आर्थिक, शैक्षिक र वित्तीय सुविधा लिन सदरमुकाम वा राजधानीतिर जाने प्रवृत्तिले पनि बसाइँसराइ बढाएको छ,’ खतिवडा भन्छन् ।

जनगणना ०७८ को मुख्य नतिजाका अनुसार, लुम्बिनी प्रदेशमा रोजगारी, व्यवसाय, अध्ययन/तालिम तथा प्राकृतिक प्रकोपका कारण मानिसहरूले बसाई सरेका छन् । जनगणनाअनुसार, बिहे भएर हुने बसाइँ सबैभन्दा धेरै छ । त्यसपछि कामको खोजिमा बसाइँ सर्नेहरू छन् जो बसाइँ सर्नेमध्येको ११.७ प्रतिशत छन् । व्यापार व्यवसायका कारण बसाईसर्नेहरू २.९ प्रतिशत, अध्ययन/तालिमका कारण ६.१ प्रतिशत र प्राकृतिक प्रकोपका कारण ०.५ प्रतिशत छन् । त्यसबाहेक आश्रित २०.३ प्रतिशत, कृषिका कारण बसाइँसराई गर्नेहरू ४.५ प्रतिशत छन् । पुरानै थातथलोमा फर्किनेहरू पनि बसाईसर्ने जनसंख्याको ५.१ प्रतिशत छन् ।

लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ बसाइँसराईलाई विकासको एउटा अपरिहार्य चरण मान्छन् । उनका विचारमा आर्थिक रुपले सक्रिय भएकाले नै मानिसहरू हिँडडुल गर्छन् । ‘पहाड निर्जन भएको कुरालाई समस्याभन्दा पनि अवसर ठानेर विकासका नीति बनाउनु पर्छ । आवादी धेरै भएका तराईलाई बस्नयोग्य महानगर बनाउनुपर्छ’, आवादी नभएका पहाडी भूभागमा आधुनिक खेती गर्नुपर्छ ।’

मान्छे टिकाउन स्थानीय कार्यक्रम

पाल्पा रिब्दीकोट–२ का ४२ बर्षीय किसान लक्ष्मण आचार्य बुटवलमा एक औषधी पसलको बजार व्यवस्थापनमा काम गर्थे । औषधी पसलमा उनले सोचेजति कमाई भएको थिएन । त्यसैले ११ बर्ष बुटवलमा काम गरेपछि ०७७ सालमा उनले घर फर्किने बिचार गरे । उनलाई घर फर्कन प्रोत्साहन गरेको थियो, अकबरे खुर्सानीले । रिब्दीकोट गाउँपालिकाले २०७६ सालदेखि नै किसानलाई अकबरे खुर्सानी लगाउन प्रेरित गरिरहेको छ । गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसीका अनुसार खुर्सानीको बीउ लगाउनेदेखि बजार पु¥याउन्जेलसम्म किसानलाई चाहिने प्राविधिक र आर्थिक अनुदान गाउँपालिकाले दिदैं आएको छ । यसले लक्ष्मणलाई सघायो । लक्ष्मणले २०८९ मा २० क्विन्टल अकबरे खुर्सानी बेचे । दुई रोपनीमा लगाएको खुर्सानीले राम्रो आम्दानी दिएपछि यसवर्ष तीन रोपनीमा खेती गरेका छन् । आचार्य भन्छन्, “चार वर्षअघि सात–आठ हजार रुपैयाँको खुर्सानी बेचेकोमा अघिल्लो वर्ष २० गुणा बेचें । गाउँपालिकाले संकलन केन्द्र बनाइदिएको छ । त्यहाँ बेच्छु, अलिकति आफैं बजारसम्म पु¥याउँछु ।’ रिब्दीकोटको वडा नं. २ मा २४ किसानले धेरै अकबरे फलाएको वडाध्यक्ष दानबहादुर पौडेलले बताए । ‘किसानले अघिल्लो वर्ष अकबरे सिजन अनुसार केजीको २०० देखि २३५ रुपैयाँसम्ममा बेचेका थिए,’ वडाध्यक्ष पौडेल भन्छन् ।

पाल्पाकै निस्दी गाउँपालिकाले अम्रिसो उत्पादनमा जोडबल गरिरहेको छ । निस्दीको अम्रिसो बुटवलको बजार पु¥याएर आम्दानी गर्नका लागि गाउँपालिकाले कृषि औजार वितरणदेखि आर्थिक अनुदानसम्मको कार्यक्रम लागू गरेको छ । ‘किसानहरूले अम्रिसो बेच्न थाल्नुभएको छ,’ गाउँपालिका उपप्रमुख श्रेष्ठ भन्छिन्, ‘मानिसलाई गाउँमै काममा लगाउन सक्ने हो भने घर छाडेर हिड्नेहरु घट्लान कि भन्ने आसा छ ।’

पाल्पामा यस वर्ष सुन्तला बिक्रीबाट ४६ करोड ७२ लाख रुपैयाँ आम्दानी भएको छ । यसवर्ष उत्पादन घटे पनि मूल्य बढी पाएकाले कारोबार बढेको हो । गत वर्ष ४३ करोड ३५ लाखको सुन्तलाको कारोबार भएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त कार्यालय प्रमुख तथा कृषि प्रसार अधिकृत सन्तोष कुमार चौधरीले बताए । पाल्पाका पालिकाले व्यसायिक सुन्तला उत्पादनमा जोड दिएका छन् । फलस्वरुप अघिल्लो बर्षजस्तै यसबर्ष पनि पाल्पाका किसानले सुन्तला खेतिबाट सन्तोषजनक कारोबार गरेका छन् । पाल्पामा गत वर्ष नौ हजार ३१ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष ८ हजार ८ सय ६१ मेट्रिकटन सुन्तला फल्यो । कृषि ज्ञान केन्द्रका अनुसार किसानले गत वर्ष सरदर प्रतिकिलो ४० देखि ४६ रुपैयाँ मुल्य पाएका थिए । यसवर्ष भने ५५ देखि ६० रुपैयाँ प्रतिकिलोमा सुन्तला बेचे । सुन्तला जोन सञ्चालक समितिका संयोजक नित्यानन्द पोखरेलका अनुसार रैनादेवी छहराको चार वटा वडाबाट मात्र १० करोड बढीको सुन्तला निकासी गरेको थियो । उनका अनुसार पाल्पाका रैनादेवीका किसानले कम्तीमा ५० हजारदेखि २० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । पाल्पामा अहिले १ हजार १ सय ४६ हेक्टर जमिनमा सुन्तला खेती हुन्छ । रैनादेवीमा ४ सय ४६, रिव्दीकोटमा ३ सय ९०, तानसेनमा ६७, बगनासकालीमा १ सय ११, पूर्वखोलामा ६० र माथागढीमा ११ हेक्टर जमिनमा सुन्तला खेती हुन्छ । रैनादेवी छहरा–५ का वडाध्यक्ष हुमानसिंह कार्की भन्छन्, ‘सुन्तलाबाट किसानले फाइदा पाउन थालेका छन् । यसलाई अझै धेरै व्यवसायिक बनाउन गाउँपालिकाले सहयोग गरिरहेको छ ।’

गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे स्थानीय उत्पादनलाई प्रोत्साहन दिएमा रोजगारीका अवसर बढ्ने बताउँछिन् । ‘यो कदम बसाईसराइँ रोक्नका लागि महत्वपूर्ण हुन सक्छ । थोरै स्रोत हुँदाहुँदै पनि धेरै गाउँपालिकाले स्थानीय बासिन्दालाई व्यवसायिक कृषिमा लगाउन कोसिस गरिरहेका छन् । तर यो प्रयासलाई अझै बढाउन पर्छ । यसो गरिएन भने पुरै गाउँ निर्जन हुन सक्छन्,’ उनी भन्छिन् ।

Sharing is caring!