प्रदेश ५ का २४ नगरपालिकामा छैनन् तोकिए जति बेडका अस्पताल

केशर रोका पुस २०७६ प्यूठान

स्वास्थ्यचौकीको भरमा नगरपालिका

३२ मध्ये २५ नगरपालिका अस्पताल विहिन

स्थानीय सरकार संचालन ऐन, २०७४ मा नगरपालिका हुनका लागि कम्तीमा २४ बेडको अस्पतालको सुविधा हुनुपर्ने प्रावधान भए पनि प्रदेश ५ का सातवटा नगरपालिकामा मात्र यो मापदण्ड पूरा गरेका अस्पताल छन् । बाँकी २५ वटा नगरपालिकामा २५ बेडसम्मका अस्पताल छैनन् । केही नगरपालिकामा भएका अस्पताल १५ बेड मात्रका छन् । तिनको बेड बढाउनेतर्फ कसैले चासो देखाएका छैनन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवामा जिल्ला अस्पतालका साथै ५० बेडको अस्पताल भएको यूनिभर्सल मेडिकल कलेज छ । तिलोत्तमा नगरपालिकामा ५० बेडकै क्रिमशन हस्पिटल छ भने देवदह नगरपालिकामा पनि ५० बेडकै देवदह मेडिकल कलेज छ । यी सबै मेडिकल कलेज निजी लगानीका हुन् ।

रुपन्देहीकै लुम्विनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिका अस्पताल विहिन छन् । यहाँका बासिन्दा उपचारका लागि अन्त जानुपर्छ । नवलपरासीको रामग्राम नगरपालिका (बर्दघाट सुस्ता पश्चिम) मा ५० बेडको पृथ्वीचन्द्र अस्पताल छ । रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवँरका अनुसार, यसअघि २५ बेड रहेको उक्त अस्पतालमा बेड थपेर दुई वर्ष अघि ५० बेड पारिएको हो । यो नवलपरासीको एक मात्र ठूलो अस्पताल हो । नवलपरासीकै सुनवल नगरपालिका अस्पताल विहिन छ । स्वास्थ्यचौकीको भरमा नगरबासीले उपचार लिनुपरेको छ । नगरपालिकाले १५ बेडको अस्पताल बनाउने गरी सुनवल स्वास्थ्यचौकीलाई स्वीकृत लिएपनि काम अघि नबढेको प्रवक्ता कृष्णप्रसाद देवकोटाले बताए ।

प्रदेश ५ का विभिन्न जिल्लाका १० वटा नगरपालिकामा १५ बेडका अस्पताल छन् । प्यूठान नगरपालिकाको विजुवारमा रहेको १५ बेडको प्यूठान अस्पताललाई ५० बेडको बनाउने चर्चा दश वर्षदेखि चलिरहेको छ तर काम केही भएको छैन । चुनावका बेला नेताहरुले अस्पतालको बेड बढाउने आश्वासन दिन्छन् ।

यस अस्पताललाई ५० बेडको बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति भने दिइसकेको छ । प्यूठान र छिमेकी जिल्ला गुल्मीको मदाने गाउँपालिका, रोल्पाको सुनिलस्मृती गाउँपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिकाका विरामी पनि यस अस्पतालमा आउने गर्छन् । विरामीको चाप बढेका बेला अस्पतालमा विरामीले बेड पाउँदैनन् ।

प्यूठानकै स्वर्गद्धारी नगरपालिकाको भिंगृमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको बनाउने प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै अघि बढाएको छ । नगरपालिका स्थापना भएको दुई वर्ष वितिसक्दा समेत स्थानीय सरकार संचालन ऐनले तोकेको मापदण्ड अनुसार अस्पताल बन्ने ‘छाँट’ छैन । स्थानीय जनप्रतिनिधी १५ बेडको अस्पताल बन्ने भएकैमा मख्ख छन् । नगरप्रमुख नेत्र बहादुर रोकायले भने, ‘माथिबाट जे निर्णय हुन्छ हामीले त्यही लागू गर्ने हो, १५ बेडको अस्पताल बनाउन जग्गाको खोजी भइरहेको छ ।’ हाल यस नगरपालिका भरमा तीन बेडको स्वास्थ्यकेन्द्र मात्र छ ।

यहाँका मानिसले उपचार गराउन जिल्ला अस्पताल विजुवार पुग्न अपायक पर्छ । विशेषज्ञ सेवा सहितको स्वास्थ्य उपचार लिन बुटवल, काठमाण्डौँ, भैरहवा र कोहलपुर शहरमा पुग्नुपर्ने बाध्यता रहेको गुनासो स्वर्गद्धारी नगरपालिका ६ बेलवासका शिक्षक झईन्द्र प्रसाद भण्डारीले गरे । उनले भने, ‘जनप्रतिनिधीले जनताको गुनासो सुन्दैनन् । कर बुझाउँदा नगरबासी भनेर बढी बुझाउनुपर्छ तर, सेवा सुविधा सामान्य गाउँको जस्तो पनि छैन् ।

स्वर्गद्धारीका खाल, नस, अडेबास, धनवाङ, मालारानी लगाएत गाउँका बासिन्दा अहिले पनि दुर्गम गाउँका बासिन्दाले भोग्ने पीडा बोकेर बाँचिरहेका छन् । आपूm बसेको ठाउँ नगरपालिका भएको अनूभुति गर्न उनीहरुले पाएका छैनन् । भण्डारीले भने, ‘२५ बेडको अस्पताल बन्ने कुरा सपना जस्तै लाग्छ । यही प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति भएपनि धेरै खुसी हुन्थ्यौँ ।’

पाल्पाको रामपुर नगरपालिकामा ५० बेडको अस्पताल स्वीकृत भएको छ तर हालसम्म १५ बेडको अस्पताल छ । भौतिक पूर्वाधार निर्माणको क्रममा रहेको उक्त अस्पतालले छिट्टै ५० बेडको बनाउन थालेको नगरप्रमुख रमण बहादुर थापाले बताए । उनले भने, ‘अस्पताल प्रदेश सरकार मातहत संचालनमा हुने भएकाले यसको सबै अधिकार प्रदेशमै रहन्छ । स्थानीय सरकारले समन्वयात्मक भूमिका मात्र खेल्ने हो ।’ नगरप्रमुख थापाका अनुसार आउँदो ६ महिनाभित्र अस्पतालको भवन निर्माण भइसक्छ ।

नेपालगञ्ज, बर्दिया, कृष्णनगर, चन्द्रौटा लगायका भारतसँग सीमा जोडिएका धेरै ठाउँका मानिस स्वास्थ्य उपचारका लागि भारतका अस्पतालमा भर पर्नु परेको छ । भएका स्वास्थ्य संस्थामा पनि दरवन्दी अनुसार चिकित्सक हुँदैनन् । विशेषज्ञ सेवा हुँदैन ।

अर्घाखाँचीको शितगंगा नगरपालिका स्थापना भएको दुइवर्ष वितिसक्दा समेत यस क्षेत्रका बासिन्दाले अस्पतालबाट पाइने सुविधा पाएका छैनन् । विशेषज्ञ चिकित्सकले दिने सेवा लिन यहाँका विरामीले बुटवल, भैरहवा र काठमाण्डौँ धाउनुपर्छ । यहाँ रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीले सामान्य चिकित्सा सेवा मात्र दिन सकेका छन् । नगरपालिकाले ठाड स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउने प्रक्रिया हालै अघि बढाएको छ । नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भने, ‘२५ बेडको बनाउने भन्ने पनि छ । तर, निधो भइसकेको छैन् तै पनि दश करोडमा १२ कोठे भवन बन्दैछ ।’ नगरप्रमुख अधिकारीका अनुसार जग्गा नपाइएकाले गर्दा धेरै बेड भएको अस्पताल बनाउन समस्या भएको बताए ।

जिल्ला अस्पताल रोल्पाको भौतिक पूर्वाधार त छ तर पनि यो अस्पताल १५ बेडको मात्र छ । रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीका अनुसार ३१ करोड लागतमा अस्पतालको भवन निर्माण गरिएको छ । ५० बेडको अस्प्ताल बनाउन स्वीकृति भएको भएपनि कार्यान्वयन गर्न नसकेको उनले बताए । जिल्ला अस्पताल छिट्टै ५० बेडको हुने आशा भने केसीले ब्यक्त गरे ।

जिल्ला अस्पताल गुल्मी पनि ५० बेडको हुने क्रममा छ । १५ बेडमै सिमित उक्त अस्पताललाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्तरोन्नतीको अनुमती दिएको छ । नगरप्रमुख डिल्लीराज भुषालले केन्द्र सरकारलाई नै दोष दिएर उम्कन खोजे । ‘स्वीकृत मात्र ५० बेडको छ’,उनले भने,‘न डाक्टर छन् नत भौतिक संरचना ।’ १० जना डाक्टरको दरवन्दीमा एक जनाले मात्र काम चलाउनुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भुषालले बताए ।

कपिलवस्तुको शिवराज नगरपालिकाले स्थानीय नीजि क्लिनिक र स्वास्थ्यचौकीको भरमा जनतालाई सेवा दिनुपरेको नगरप्रमुख नेत्रराज अधिकारीले गुनासो गरे । उनले भने,‘नगरपालिकाले पूँजिले अस्पताल बनाउन सम्भव छैन् । केन्द्र सरकारले हाम्रो माग सुन्दैन् ।’ ११ वडामध्ये ८ वटा वडामा मात्र स्वास्थ्यचौकी रहेको समेत उनले बताए ।

हाल १५ बेडको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीबाट स्वास्थ्य सेवा लिइरहेका मानिसले २५ बेडको अस्पताल बनेपछि थप सेवा पाउँछन् । २५ बेड भएको अस्पतालमा विशेषज्ञ सहितको सेवा उपलव्ध हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख एवं नेपाल जनस्वास्थ्य संघ प्रदेश नम्वर ५ कार्यसमितिका अध्यक्ष विशाल सुवेदीले बताए ।

स्थानीय सरकार बनेको दुई वर्ष वितिसक्दा पनि संघीय मन्त्रालयहरुको रणनीति र स्थानीय सरकार संचालन ऐनले तोकेको मापदण्डबीच तालमेल नभएको कुरा सुवेदीले बताए । उनका अनुसार, नगरपालिकामा कम्तिमा २५ बेडको अस्पताल हुनुपर्नेमा अझैपनि १५ बेडको मात्र बनाउन खोज्नु नीति विपरित कुरा हो ।

नगरपालिका र अस्पतालको अवस्था

क्र.सं नगरपालिका अवस्था
२५ बेडभन्दा माथी अस्पताल भएका नगरपालिका
तानसेन नगरपालिका, पाल्पा लुम्विनी मेडिकल कलेज (५ सय बेड) मिसन हस्पिटल १५९ बेड
देवदह नगरपालिका, रुपन्देही देवदह मेडिकल कलेज (५० बेड)
सिद्धार्थनगर नगरपालिका, रुपन्देही जिल्ला अस्पताल भैरहवा (५० बेड)
तिलोतत्तमा नगरपालिका, रुपन्देही क्रिमशिन हस्पिटल (५० बेड)
कोहलपुर नगरपालिका, बाँके कोहलपुर मेडिकल कलेज (५० बेड)
गुलरिया नगरपालिका, बाँके गुलरिया अस्पताल (५० बेड)
रामग्राम नगरपालिका, नवलपरासी पश्चिम जिल्ला अस्पताल (५० बेड)
१५ बेडका
रेसुंगा नगरपालिका, गुल्मी गुल्मी अस्पताल
रामपुर नगरपालिका, पाल्पा रामपुर अस्पताल
कपिलवस्तु नगरपालिका, कपिलवस्तु जिल्ला अस्पताल
कृष्णनगर नगरपालिका, कपिलवस्तु शिवराज अस्पताल
बाणगंगा नगरपालिका, कपिलवस्तु पिपरा अस्पताल
सन्धिखर्क नगरपालिका, अर्घाखाँची जिल्ला अस्पताल
प्यूठान नगरपालिका प्यूठान अस्पताल
रोल्पा नगरपालिका रोल्पा अस्पताल
लमही नगरपालिका, दाङ लमही अस्पताल
१० बर्दघाट नगरपालिका, नवलपरासी चिसापानी अस्पताल, शहिद स्मृति सामुदायिक अस्पताल
अस्पताल विहिन नगरपालिका
मुसीकोट नगरपालिका, गुल्मी  
लुम्विनी सांस्कृतिक नगरपालिका, रुपन्देही  
सैनामैना नगरपालिका, रुपन्देही  
बुद्धभूमी नगरपालिका, कपिलवस्तु  
महाराजगंज नगरपालिका, कपिलवस्तु  
शितगंगा नगरपालिका, अर्घाखाँची  
भूमिकास्थान नगरपालिका, अर्घाखाँची  
स्वर्गद्धारी नगरपालिका, प्यूठान  
मधुवन नगरपालिका, बर्दिया  
१० राजापुर नगरपालिका, बर्दिया  
११ ठाकुरबाबा नगरपालिका, बर्दिया  
१२ बाँसगढी नगरपालिका, बर्दिया  
१३ बारबर्दिया नगरपालिका, बर्दिया  
१४ सुनवल नगरपालिका, नवलपरासी  
१५ शिवराज नगरपालिका, कपिलवस्तु  

स्रोत : सम्वन्धित नगरपालिका

Sharing is caring!