वैदेशिक रोजगारीबाट फर्किएकाहरु अहिले आफनै गाउँ ठाउँमा स–सानो भएपनि व्यवसाय सुरु गर्न थालेका छन्् । केसी, राना र तमाङ त्यस्ता केही प्रतिनिधी उदाहरण हुन् जो फेरि वैदेशिक रोजगारीमा फर्किनुको सट्टा आफनै व्यवसाय गरेर आम्दानीको जोहो गर्न लागेका छन् । प्यूठान जिल्लामा मात्रै लकडाउनको समयमा ११ हजार ९ सय ८२ जना स्वदेश फर्किएको प्रहरीको तथ्याङक छ ।
- कोरोना महामारीका कारण लकडाउनका वेला भारतबाट स्वदेश फर्किएका स्वर्गद्धारी–९ जुडापाटाका भोेजेन्द्र केसीले अहिले आफनै चप्पल उद्योग सञ्चालन गरेका छन् । करिब २ लाख ५० हजार लगानीमा कच्चा पदार्थ र मेसिन खरिद गरी केसीले चप्पल बनाउन थालेका हुन् ।
- स्वर्गद्धारी–२ धनबाङका २७ बर्षिय निम बहादुर रानाले अहिले आफ्नै गाउँमा व्यवसायिक टिमुर खेती सुरु गरेका छन् । ‘६ रोपनी जमिनमा टिमुर खेती सुरु गरेको छु, करिब १० वर्ष बैदशिक रोजगारीपछि स्वदेश फर्किएका रानाले भने,–‘निर्वाहका लागि बारीको ढिककुनामा लगाउने टिमुर हाम्रो पुख्र्याैली पेशा हो । यसलाई आधुनिक तरिकाले व्यवसायीकरणको प्रयास गर्दैछु ।’
- लामो समय भारतको आजमगडमा बसेका दावा छिरिङ तामाङले माण्डवी गाउँपालिका ३ जस्पुरमा होटल सञ्चालन गरेका छन् ।
यसरी वैदेशिक रोजगारीबाट फर्किएकाहरु अहिले आफनै गाउँ ठाउँमा स–सानो भएपनि व्यवसाय सुरु गर्न थालेका छन्् । केसी, राना र तमाङ त्यस्ता केही प्रतिनिधी उदाहरण हुन् जो फेरि वैदेशिक रोजगारीमा फर्किनुको सट्टा आफनै व्यवसाय गरेर आम्दानीको जोहो गर्न लागेका छन् । प्यूठान जिल्लामा मात्रै लकडाउनको समयमा ११ हजार ९ सय ८२ जना स्वदेश फर्किएको प्रहरीको तथ्याङक छ । यो तथ्याङक क्वारेन्टाइन बसेर घर फर्किएकाहरुको आधारमा निकालिएको हो । त्यसैले योभन्दा बढी पनि हुन सक्छन् । यसमध्ये कतिपय चाहिं अव फेरि विदेश नजाने गरी स्वदेशमै विभिन्न पेशा÷ व्यवसाय आंगाल्न थालेका छन् । कोरोनाले जन्मथलोलाई नै कर्मथलो बनाउन सिकाएको उनीहरुको भनाई छ ।
अर्काको देशमा धेरै दुख्ख पाएको भन्दै आफ्नै ठाउँमा आत्मनिर्भर बन्ने उदेश्यले चप्पल उद्योगमा लगानी गरेको केसी बताउँछन् । स्वर्गद्धारी–९ जुडापाटास्थित आफ्नै घर नजिकै एउटा सटर भाडा लिएर चप्पल उत्पादन गर्न थालेको उनले बताए । ‘मैले काम गर्ने होटल नजिकै चप्पल उद्योग थियो’ उनले भने, ‘फुर्सदको समयमा त्यहाँ गएर हेर्दा हेर्दै मलाई पनि केही आइडीया आयो अनि स्वदेश फर्किएर चप्पल उत्पादनमा लगानी गर्ने सोच बनाए ।’
लकडाउनकै समयमा सुरु गरेपनि उद्योगमा चप्पल बन्न थालेसगै चप्पलले बजार पाएको उनले बताए । ‘पहिलो चरणमा १८ जोडि चप्पलहरु बजारमा पठाएको थिए’ केसीले भने, ‘जिल्लामा चप्पलको माग बढ्दो अवस्थामा छ । उत्पादनले राम्रो बजार पाउनेमा आशावादी छु ।’ स्थानिय सरकारले युवाहरुलाई छुट्टाएको बजेटबाट नयाँ व्यवसाय थालेकोहरुलाई भौतिक साम्रागी खरिदमा सहयोग पु¥याएमा झनै हौसला मिल्ने उनी बताउँछन् । कोरोनाले सबैको जनजीवन तहसनहस पारेको समयमा ऋणमा व्यवसाय सुरु गरेको हुंदा स्थानिय सरकारबाट केही अपेक्षा गरेको उनले बताए ।
बैदेशिक रोजगारमा रहदाँ नै सामाजिक सञ्जालबाट टिमुर खेतीको ज्ञान लिएका रानाले पनि व्यवसायिक खेती गर्ने उदेश्यले नयाँ विरुवा रोप्न सुरु गरिएको बताए । ‘टिमुरलाई व्यवसायीकरण गर्न परिवारको राम्रो सहयोग पाएको छु, उनले भने, ‘बारी ख¥यान सबै ठाउँमा करिब ५ सय नयाँ विरुवा थपेको छु ।’ आफ्नै बारीमा टिमुरका बेर्ना उत्पादन गरेर विरुवा लगाएको उनी बताउँछन् । सुरुमा विरुवा लगाउदा अलि झन्झट भएपनि त्यसपछि गोडमेल तथा मलजल गर्दा खासै समय खर्चिन नपरेको उनको भनाइ छ ।
आफ्नो जमिनमा लगाइएको टिमुरबाट मनग्य उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए । एउटा माउबोटले एक सिजनमा करिब १५ किलो सुकेको टिमुर उत्पादन हुने बताउदैं रानाले भने, ‘टिमुरको दाना मात्रै प्रयोग गर्ने गरिएकोमा त्यसको पात, बोक्रा, हाँगाबिगालाई प्रशोधन गर्ने व्यवस्था गरेमा थप आम्दानी हुने छ ।’ उत्पादन गरेको टिमुरलाई बजारीकरण गर्न कुनै समस्या नरहेको पनि उनले बताए । आफ्नै ठाउँमा दुःख गरेर पनि पारिवारिक खर्च चलाउन सकिने हँुदा यूवाहरुलाई सकभर फेरि वैदेशिक रोजगारीमा नजान उनको आग्रह छ । केही समय विदेशमा बसेर दुःख गरी कमाएको पैसा आफ्नै ठाउँमा उत्पादनशील क्षेत्रमा लगाएमा आर्थिक उन्नती हुन सक्ने उनको बुझाइ छ ।
वैदेशिक रोजगारीबाट लकडाउनकै वेला फर्किएका दावा छिरिङ तामाङले पनि दुइ लाख लगानीमा होटल सञ्चालन गरेका हुन् । अब रोजगारीका लागि अर्काको देशमा नजाने उनले बताए । अहिले व्यवसायबाट खासै आम्दानी नभएपनि सन्तुष्टि मिलेको उनले बताए । यता, स्थानिय सरकारले पनि बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई विभिन्न कार्यक्रममा विशेष प्राथमिकता साथ सहभागी गराउने वचन दिएको छ । संघीय संरचनाअनुसार सात वटा गाउँपालिका र दुईवटा नगरपालिका गरि नौ स्थानिय तह रहेको प्यूठानमा स्थानीय सरकारले वैदेशिक रोजगार छोडेर जन्मथलो फर्किएका युवाहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ ।
माण्डवी गाउँपालिकाले यस आर्थिक वर्षको कार्यक्रम नै कोभिड १९ को कारण बैदेशिक रोजगारबाट फर्किका युवा लक्षित बनाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताए । ‘कोभिड १९ का कारण रोजगारी गुमाएका युवा तथा बेरोजगार युवा लक्षित कार्यक्रम’ शिर्षकमा पालिकाले एक करोड बजेट विनियोजन गरेको छ । त्यस्तै सोही शिर्षकमा प्रदेश सरकारको समपुरक बजेट र गाउँपालिकाको अन्तरिक स्रोत गरी एक करोड रकम बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । ‘बजेट छुट्टिसकेको छ यसलाई कार्यान्वयन गर्नका लागि अगाडि बढ्छौं’ उनले भने, ‘गाउँ गाउँमा पुगेर युवाहरु भेला गरि ती युवाको माग, चाहाना र आवश्कयताका आधारमा अनुदान दिने छौं ।’ यस वर्षका अधिकांश कार्यक्रमहरु युवालाई लक्षित गरि कृषिमा जोड दिएको समेत उनले बताए ।
१५ हजार जनसंख्या भएको माण्डवी गाउँपालिकाका करिब दुई हजार युवाहरु रोजगारीको सिलसिलामा भारत तथा तेस्रो मुलुक गएको बताउदैं लकडाउनको समयमा १३ सय युवा घर फर्केको जानकारी दिएको छ । तीमध्ये कतिपय युवाहरु पुन रोजगारी खोज्दै भारत जान थालिसकेको हुँदा अब तुरुन्तै पालिकाको कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको रिजालले बताए । विभिन्न शिर्षकमा गरि पालिकाले कुल बजेटको झन्डै ५० प्रतिशत रकम युवालाई लक्षित गरि कृषितर्फ खर्च गर्ने गरि नीति तथा कार्यक्रम बनाएको पनि रिजालको भनाई छ ।
त्यस्तै साविकको सदरमुकाम समेटिएको मालारानी गाउँपालिकाले बैदेशिक रोजगार छोडेर गाउँ फर्किएका युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा विशेष प्राथमिकता दिएर सहभागी गराउने निर्णय गरेको पालिकाले जनाएको छ । यससंगै कृषि तथा पशुपालनका लागि दिइने साना अनुदानका कार्यक्रममा पनि ती युवाहरुलाई विशेष जोड दिइने पालिकाको भनाइ छ ।