रोल्पाका पालिकामा : नाम मात्रको कृषि बजेट

महेश न्यौपाने २०८१ साउन रोल्पा

रोल्पाका सबै पालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथकितामा राखेको दाबी गर्छन् । तर उनीहरूले हरेक वर्ष आर्थिक क्रान्तिको नारा दिंदै प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र उक्त नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने बजेटको बाँडफाँडले भने उनीहरूको दाबी प्रमाणित हुँदैन । पहिलो निर्वाचनमा निर्वाचितत जनप्रतिनिधिहरूले केन्द्रीकृत राज्यसत्ताको विकास मोडल असन्तुलित भएकाले संघीयता पछिको पहिलो ५ वर्ष पूर्वाधार विकासमा धेरै बजेट खर्च गर्नु परेको बताए पनि दोश्रो पटक निर्वाचित जनप्रतिधिहरूले समेत सोही पथ पछ्याई रहेका छन् । यसले गर्दा आर्थिक विकासका माध्यमबाट गरिबी निवारण गर्ने तथा रोजगारीका लागी युवा पलायन रोक्ने कार्यक्रमले भन्दा डाँडाकाडा भत्काउने कामले नै पालिकाहरूले प्राथमिकता दिइरहेका छन् ।

रोल्पा नगरपालिका

रोल्पाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमितामा राखेको छ । नगरपालिकाले निर्धारण गरेका पाँचवटा रुपान्तरणकारी क्षेत्रमध्ये पहिलो नम्बरमा कृषि तथा पशु क्षेत्रलाई राखेको छ । तर नगरपालिकाले आर्थिक विकासका लागि करिव १.८६ प्रतिशत मात्र बजेट छुट्यायो । यसअन्तरगत कृषि र पशु विकासका लागी कुल बजेटको करिब १ प्रतिशत छ्ट्यायो । भौतिक पूर्वाधारतर्फ भने उसले कुल बजेटको १७.६४ प्रतिशत छुट्याएको छ । गतवर्ष पनि रोल्पा नगरपालिकाले आर्थिक विकासका कुल बजेटको ३.६९ प्रतिशत मात्र छुट्याएको थियो । आर्थिक विकास अन्तरगत पर्ने कृषि र पशु विकासका लागी नगरपालिकाले कुल बजेटको १.७१ प्रतिशत मात्र छुट्याएको थियो । सो वर्ष नगरपालिकाले भौतिक विकासमा कुल वार्षिक बजेटको १७.६४ प्रतिशत छुट्याएको थियो । आर्थिक वर्ष २०७९/८० मा ल्याएको बजेट नीति तथा कार्यक्रम स्थानीय तहका वर्तमान जनप्रतिनधिहरूको पहिलो बजेट, नीति तथा कार्यक्रम हो । त्यस वर्ष रोल्पा नगरपालिकाले आर्थिक विकासका लागि कुल बजेटको १.९० प्रतिशत मात्र छुट्याएको थियो । भौतिक पूर्वाधारका लागि भने कुल वार्षिक बजेटको २७.७५ प्रतिशत विनियोजन गरेको थियो ।

त्रिवेणी गाउँपालिका

त्रिवेणी गाउँपालिकालाई रोल्पाको तरकारीको भण्डार मानिन्छ । दाङसँग सिमाना जोडिएको सो गाउँपालिकामा उत्पादित तरकारी दाङ, वुटवल, नेपालगञ्जसम्म जाने गर्दछ । गाउँपालिकाले जनताको आर्थिक समृद्धि गर्न कृषि क्षेत्रको विकास गर्ने भने पनि उसले हरेक वर्ष विनियोजन गर्ने वार्षिक बजेट भने उसको दावी निरर्थक भएको देखाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा त्रिवेणी गाउँपालिकाले आर्थिक विकासका लागि कुल वार्षिक बजेटको ३.९८ प्रतिशत मात्र छुट्याएको थियो । कृषि र पशु क्षेत्रको विकासका लागी कुल बजेटको २.३६ प्रतिशत मात्र छुट्याएको थियो । भौतिक पूर्वाधार विकासका लागी भने उसले कुल वार्षिक बजेटको ७.७३ प्रतिशत बजेट छुट्याएको थियो । आर्थिक वर्ष ०७९/०८० मा पनि सो गाउँपालिकाले आर्थिक विकासतर्फ कुल वार्षिक बजेटको २ प्रतिशत मात्र छुट्याएको थियो । यसमध्ये कृषि र पशु विकासका लागी कुल बजेटको १.४९ प्रतिशत मात्र छुट्याएको थियो । पालिकाले भौतिक पूर्वाधारका विकासका लागी भने कुल वार्षिक बजेटको ९ प्रतिशत मात्रै विनियोजन गरेको थियो ।

गंगादेव गाउँपालिका

गंगादेव गाउँपालिकालाई पनि रोल्पाको कृषि भण्डारका रुपमा लिइन्छ । यहाँ फलफुल, आलुका साथै मासु तथा दुधको समेत राम्रो उत्पादन हुने गर्दछ । यसै कुरालाई ध्यान दिएर यस पालिकाका जनप्रतिनिधिहरूले कृषि र पशु क्षेत्रको माध्यमबाट आर्थिक विकास गर्दै पालिकाको समृद्धि गर्ने भाषण गर्दछन । तर बजेट छुट्याउने बेलामा भने भाषणको उल्टो काम गर्छन् । गंगादेव गाउँपालिकाले चालु आर्थिक वर्षका लागी कुल बजेटको १.४७ प्रतिशत मात्र आर्थिक विकासका लागि छुट्याएको छ । पूर्वाधार विकासमा विनियोजन गरेको बजेट स्पष्ट खुलाएको छैन । यसअघिका २ वर्षमा पूर्वाधार विकासका लागि करिब २० प्रतिशत भन्दा बढी बजेट विनियोजन गरेको थियो । पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा आर्थिक विकासका लागी बजेट कुल बजेटको २.७२ प्रतिशत छुट्याएको थियो । आर्थिक विकास अन्तरगत पर्ने कृषि र पशु क्षेत्रको विकासका लागी कुल बजेटको १.१ प्रतिशत मात्र विनियोजन गरिएको थियो । पूर्वाधार विकासमा झन् कुल बार्षिक बजेटको २२.९३ प्रतिशत छुट्याएको थियो । सो गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा आर्थिक विकासका लागी बार्षिक बजेटको १ प्रतिशत मात्र छुट्याइएको थियो । पूर्वाधार विकासमा भने कुल बार्षिक बजेटको ११.६६ प्रतिशत विनियोजन गरेको थियो । पालिकाहरूले वितेको तीन बर्षमा विनियोजन गरेको बजेटको अवस्था हेर्दा पनि कृषि र पशु क्षेत्रको विकास गरि आर्थिक समृद्धि हासिल गर्ने नारा केवल नारामा सीमित भएको देखिन्छ । भौतिक पूर्वाधार तर्फको बजेट बढ्दैर आर्थिक विकास तर्फ घट्दै गएको छ । संघीय सरकार र प्रदेश सरकारले उपलव्ध गराउने बजेट घटेर आएकाले त्यसको असर सबै क्षेत्रमा पर्दा कृषि र पशु क्षेत्रको बजेट घटेको त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण वाँठामगरले भने ।

वातावरण बचाउन छैन चासो

वातावरणीय प्रभाव मूल्यांकन नगरि सडक लगायतका ठूल ठूला भौतिक निर्माण गर्न तछाडमछाड गर्ने यहाँका पालिकाले वातारण संरक्षणका काममा ध्यान दिएका छैनन् । अघिल्लो सरकारको ५ वर्ष सडक निर्माण तथा पालिका र वडा कार्यालयका भौतिक निर्माण गरेर वातावरण धेरै मात्रामा विनाश गरेका थिए । दोश्रो पटक निर्वाचित जनप्रतिनिधिहरुले पनि पहिलो कार्यकालकै जनप्रतिनिधिको कार्यशैली पछ्याएका छन् । रोल्पा नगरपालिकाले चालु आर्थिक वर्षमा वातावरण संरक्षणका लागि कुल बजेटको ०.०१ प्रतिशत मात्रै विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा पनि रोल्पा नगरपालिकाले कुल बार्षिक बजेटको ०.१ प्रतिशत मात्र बजेट वातावरण संरक्षणका लागि छुट्याएको थियो । यस्तै गरी, आर्थिक वर्ष २०७९/८० मा रोल्पा नगरपालिकाले वातावरण संरक्षणमा ०.१ प्रतिशत भन्दा कम मात्र बजेट छुट्याएको थियो ।

पश्चिम दक्षिण रोल्पामा पर्ने त्रिवेणी गाउँपालिका पनि वातावरण संरक्षणमा अनुदार छ । आर्थिक वर्ष ०८०/०८१ मा सो गाउँपालिकाले वातावरण संरक्षण र जलवायु परिवर्तन शीर्षकमा ०.०३ प्रतिशत मात्रै बजेट छुट्याएको थियो । आर्थिक वर्ष ०७९/०८० उसले वातावरण संरक्षण र जलवायु परिवर्तन शीर्षकमा ०.०३ प्रतिशत मात्रै बजेट छुट्याएको थियो । गंगादेव गाउँपालिकाले यो समेत तीनवटै आर्थिक वर्षमा वातावरण संरक्षणका लागी बजेट विनियोजन गर्न आवश्यक ठानेन । नेपालको संविधानले स्थानीय तहलाई वातावरण संरक्षण र जैविक विविधता संरक्षणको एकल अधिकार दिएको छ । यसैगरि वन, जंगल, वातावरण, पर्यावरण र जैविक विविधिता संरक्षणका लागी समेत संघ प्रदेश र स्थानीय तहको अधिकारका साझा सूची अन्तरगत समावेश गरेको भएपनि वातावरण संरक्षण यहाँका स्थानीय सरकारहरूको प्राथमिकतामा भएको प्रष्टै देखिन्छ । वातावरण प्रभावमूल्यांकन विना नै सडक बिस्तार गर्न सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मनसिंह डाँगीका अनुसार पालिकाले ठूलो धनराशी खर्च गरेका वातावरण बिगार्छन तर संरक्षणमा भने चासो दिदैनन । वातारण विनासले गर्दा पानीका मुहानहरू सुक्दै जानुका साथै अन्य प्राकृतिक विपदहरू समेत निम्तिने गरेको अध्यक्ष डाँगीले बताए ।

Sharing is caring!