रोल्पामा झाँगिदो बालविवाह :  गम्भिर छैनन् स्थानीय सरकार

महेश न्यौपाने २०७९ चैत रोल्पा

रोल्पामा बालविवाह झाँगिदो छ । बालविवाहले गर्दा विद्यालय छोड्ने दर वढ्नुका साथै महिला तथा बालवालिकाको स्वास्थ्यमा असर देखिएको छ । जनताको घरदैलोको सरकार भनिने पालिकाहरू भने यो समस्या प्रति गम्भिर देखिएका छैनन ।

रुन्टीगढी गाउँपालिका १ रिठावोटको नेपाल राष्ट्रिय माविमा चालु शैक्षिक सत्रमा अध्ययनरत १० विद्यार्थीले बाल्यावस्थामै विवाह गरे । ती मध्ये ९ छात्रा र १ छात्र थिए । अघिल्लो शैक्षिक सत्रमा यो विद्यालयका १३ जना विद्यार्थीले बालविवाह गरेका थिए । तीमध्ये ११ छात्रा र २ छात्र थिए ।
‘बालबिवाह गर्ने अधिकांशको औसत उमेर १३ वर्ष देखिन्छ,’ विद्यालयका प्रधानाध्यापक झक्कु वलीले भने, ‘विद्यार्थीले सानै उमेरमा विवाह गरेर विद्यालय छाडेकाले माथिल्लो कक्षामा विद्यार्थी घट्दै गएका छन ।’
सुनछहरी गाउँपालिका वडा नंं ४ मा रहेको नेपाल राष्ट्रिय माविको कक्षा ९ र १० मा कक्षा छोड्ने छात्र र छात्राको दर तीस प्रतिशतसम्म रहेको निमित्त प्रधानाध्यापक पूर्णिमा कुमारी थापाले बताइन् । ‘धेरै जना सानै उमेरमा विवाह गरेर काम खोज्न मुस्ताङ, मनाङ र पोखरा जाने गर्छन्,’ थापाले भनिन् ।

बालविवाहमा वडा कार्यालयले कडाई गरेका कारण भगाएर अन्त लैजाने र उतै बच्चा जन्माउने प्रवृति बढ्दै गएको छ । सानै उमेरमा विवाह गर्नेहरू २० वर्ष पुगेपछि विवाह दर्ता गर्न आउँछन । विवाह दर्ता र छोराछोरीको जन्मदर्ता एकै चोटी गर्न आउने बढ्दै गएको सुनछहरी गाउँपालिका ४ स्यूरीका वडाध्यक्ष हर्कराम वुढामगरले बताए । बालविवाहको असर शिक्षा, स्वास्थ्य तथा पोषण लगायतका क्षेत्रमा देखिएपनि यसको रोकथामका लागी गरिएका प्रयासहरू सार्थक हुन सकेका छैनन् वडाध्यक्ष वुढामगले भने ।

स्यूरीमा मात्र नभई सुनछहरी गाउँपालिका भर विद्यालय छोड्नेको मात्रा २५ प्रतिशत भन्दा बढी रहने गरेको गाउँपालिकाको शिक्षा शाखाको तथ्यांकमा उल्लेख छ ।
कक्षा ९ सम्म पढेर एसईइ दिनका लागी रजिष्ट्रेशन फाराम भरेका विद्यार्थीहरू विवाह पछि परीक्षामा सहभागि हुँदैनन् । शिक्षा विकास तथा समन्वय ईकाइ रोल्पाको तथ्यांक अनुसार २०७८ सालमा रजिष्टे«ेशन फारम भरेका मध्ये ६३० जना परीक्षामा विद्यार्थी अनुपस्थित थिए ।

यसरी सानैमा बिहे गर्दा आमा र बच्चा दुबैको स्वास्थ्यमा असर पर्छ । सुनछहरी–५ थनवाङकी प्रमिसा बिष्ट १७ वर्षकै उमेरमा गर्भवती भईन् । गर्भ बसेको सात महिनामै जन्मिएका शिशुको तौल १४ सय ग्राम मात्र थियो । स्वास्थ्य बच्चाको जन्मने बेलाको तौल २५ सय ग्राम हुनुपर्छ । जन्मदा कमतौल भएको नवजात शिशुको २८ दिनभित्रै मृत्यु भयो । रोल्पामा धेरैले सानै उमेरमा विवाह गर्छन् । चालु आर्थिक वर्षको फाल्गुन १५ सम्मको तथ्यांक अनुसार स्यूरी स्वास्थ्य चौकीमा २० वर्ष मुनिका ५ जनाले बच्चा जन्माए भने ६ जना गर्भवती छन् । अधिकांशले १४/१५ वर्षमा विवाह गर्ने गरेका छन् । उनीहरू २० वर्ष पुग्दा दुई सन्तानका आमा भईसक्ने गरेका छन स्यूरी स्वास्थ्य चौकीकी अहेव शान्ति वुढामगरले भनिन् ।

स्वास्थ्य कार्यालय रोल्पाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा रोल्पा जिल्लाभर ९४९ जनाले २० बर्ष नपुग्दै पहिलो गर्भजाँच गराएका थिए । यो संख्या जिल्लामा कुल गर्भधारण गर्ने ३ हजार ७८५ को २५ प्रतिशत हो । बालविवाह गरेर अनिच्छित गर्भधारण भएका किशोरीहरू निजी क्लिनिक गएर समेत गर्भपतन गर्ने गरेका छन् ।

रोल्पा अस्पतालमा अघिल्लो वर्ष पहिलो गर्भ जाँच गर्न आएका २५० मध्ये ३५ जना २० बर्ष मुनिका किशोरी थिए । बालविवाहले गर्दा किशोरीहरूमा यौन तथा प्रजनन् स्वास्थ्य समस्या देखिने गरेको रोल्पा अस्पतालका सिनियर स्टाप नर्स मिना कुवँरले भनिन् ।

बालविवाह रोकथामका लागी सरकारी तथा गैर सरकारी संस्थाहरूले पहल थालेका छन् । अघिल्लो वर्ष रोल्पामा प्रहरीले मौखिक उजुरीका अधारमा ४३ वटा विवाह रोकेको थियो । समुदाय तथा विद्यालयमा गठन भएका बाल क्लवहरूले बालविवाह हुन थालेको थाहा पाएपछि प्रहरीलाई सुराक दिने संयन्त्र तयार गरिएको छ । तीनै संयन्त्रहरूले दिएको सुराकका आधारमा प्रहरीले बालविवाह रोक्ने गर्छ ।
रोल्पामा बालविवाहको यस्तो झाँगिदो अवस्था रहेपनि जनताको घरदैलोको सरकार भनिने पालिकाहरू भने यो समस्या प्रति गम्भिर देखिएका छैनन ।
पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित रोल्पाका अधिकांश स्थानीय पालिकाले बालविवाह न्यूनिकरण गर्न भन्दै पाँच वर्षे रणनीति योजना तय गरे । उनीहरूले तयार गरेको रणनीतिक योजनाले पाँच वर्ष पार गरेपनि जिल्लामा बालविवाह रोकिएको छैन ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले बालविवाह न्यूनिकरण सम्वन्धी पाँच वर्षे रणनीतिक योजना तर्जुमा गरेको थियो । २०७५ सालमा तयार गरेको रणनीतिक योजना अनुसार आर्थिक वर्ष २०७९/०८० भित्र बालबिबाहको मात्रा ५ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरेको थियो । तर यस विषयमा प्रगति हुनुको साटो बालविवाह झनै झाँगिदै जान थालेको छ ।
रोल्पा नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरूमा अघिल्लो आर्थिक वर्षमा गर्भवती भई पहिलो पटक गर्भजाँच गर्न जाने ६६४ मध्ये १८१ जना २० बर्ष मुनिका थिए । चालु आर्थिक बर्षको पौष मसान्तसम्म नगरपालिका भित्रकै स्वास्थ्य संस्थाहरूमा पहिलो गर्भ जाँचका लागी जाने ३२९ मध्ये ५७ जना २० वर्ष मुनिका थिए । यो तथ्यांकले पनि नगरपालिका भित्र बालविवाह गर्नेको संख्या नघटेको देखाउँछ ।

यसका लागी उसले १ करोड २९ लाख खर्च गर्ने गरि कार्ययोजना बनाए पनि गतिविधि भने शून्य रहदा प्रतिवद्धता अनुरुप प्रगति हुन नसकेको हो । वार्षिक नीति तथा कार्यक्रमका लागि ५ वर्षमा १९ लाख २० हजार मात्रै बजेट विनियोजन गरेको थियो । बालविवाह न्यूनिकरणमा उसले खर्चिएको यो बजेट कुल रणनीतिक योजनाको १५ प्रतिशत भन्दा पनि कम हो । रोल्पा नगरपालिकाले तयार गरेको ५ वर्षे बालविवाह न्यूनिकरण रणनीति अनुसार प्रगती हुन नसकेको नगर स्वास्थ्य संयोजक टंक गिरीले स्वीकार गरे ।

सुनछहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा किशोरीसंग उपाध्यक्ष कार्यक्रमका लागी ३ लाख विनियोजन गरे पनि बालविवाहका लागी भनेर बजेट विनियोजन गरेको छैन । जिल्लाका अन्य पालिका पनि बालविवाह न्यूनिकरणमा बजेट विनियोजन गर्न उदासिन देखिएका छन । कानून, नीति नियम र योजना बनाउन हतारिने स्थानीय सरकारहरू कार्यान्वयनका मामलामा उदासिन भएकाले बालवालिकाहरू प्रभावित हुने गरेको महिला अधिकारकर्मी तीर्था आचार्य बताउँछिन् ।

मुख्य कारण गरिबी र अचेतना

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार रोल्पा जिल्लाको जनसंख्या २ लाख ३६ हजार २२६ छ । यति मानिसका लागि २३ हजार २६६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । तर रोल्पामा ७०४ मेट्रिक टन मात्रै उत्पादन हुने गर्दछ, १६ हजार २६२ मेट्रिक टन खाद्यान्न अपुग रहेको छ । नेपाल मानव विकास प्रतिवेदन, २०१४ अनुसार रोल्पा जिल्ला मानव विकास सूचकांकका दृष्टिकोणले ७५ जिल्लाहरू मध्ये ६७ औं स्थानमा पर्दछ । गरिबी सूचकांकका दृष्टिकोणले रोल्पा ७५ जिल्लाहरू मध्ये ५४ औं स्थानमा पर्दछ ।

बालविवाह सम्बन्धि जनचेतनाको मुख्य औजार सामाजिक परिचालन भएपनि यसका लागी आवश्यक जनशक्ति र बजेटको अभाव छ । गैर सरकारी संस्थाहरूले छोटो अवधिमा गर्ने सामाजिक परिचालन वाहेक सरकारी निकायबाट सामाजिक परिचालनमा ध्यान दिएको पाईदैन । स्वास्थ्य संस्थामा दिईने सामान्य परामर्श बाहेक जिल्लाभर बालविवाह सचेतनाका लागी सामाजिक परिचालन भएको पाईदैन । स्वास्थ्य संस्थाहरूमा भएको मौजुदा जनशक्ति प्रयाप्त नहुदा सामाजिक परिचालन सम्भव नभएको सुनछहरी गाउँपालिकामा स्वास्थ्य शाखा संयोजक जगत वुढामगरले भने । जनचेतना मुख्य कुरा तर स्वास्थ्यकर्मीको एकल प्रयासले मात्रै यो सम्भव छैन वुढामगरले भने ।

पारिवारिक तथा सामाजिक चालचलन तथा सांस्कृतिक रीतिस्थितिले समेत बालविवाहलाई वढावा दिईरहेको जलजला बहुमुखी क्याम्पस रोल्पाका जनसंख्या विषयमा सहप्रध्यापक गोकर्ण पुनले बताए । गोठ वस्ने परम्परा, मौसमी वसाई सराई तथा मेला जात्राले समेत बालविवाहलाई प्रसय दिईरहेका छन पुनले भने ।

Sharing is caring!