विपद संवेदनशील छैनन् स्थानीय सरकार

महेश न्यौपाने बैसाख २०७७ रोल्पा

रोल्पा र रुकुम पुर्वका अधिकांश स्थानीय सरकारहरुले विपद व्यवस्थापन ऐन वनाएका छैनन । रोल्पाका १० मध्ये ७ र रुकुमपूर्वका ३ मध्ये ३ वटै स्थानीय तहमा यति संवेदनशील क्षेत्रको ऐन तर्जुमा हुन सकेको छैन ।

रोल्पा नगरपालिकाले ३२४ र १३० पृष्ठका २ वटा स्थानीय राजपत्र प्रकाशन गर्दा पनि स्थानीय विपद व्यवस्थापन ऐन अटाउन सकेन । विपद व्यवस्थापन विषय नगरकार्यपालिकाको ऐन तर्जुमाको प्राथमिकतामा नै नपरेपछि यस्तो भएको हो । त्यसैले त नगरपालिकाले ऐन, नियमावली, विनियम, कार्यविधि, नीति, निर्देशिका, मापदण्ड समेत गरी २१ वटा कानून स्थानीय राजपत्रमा प्रकाशित गर्दा पनि विपद व्यवस्थापन ऐन बनाउन चाहिं आवश्यक ठानेन ।

रुकुम पूर्वको सिस्ने गाँउपालिकाले आफुले तर्जुमा गरेका विभिन्न २१ वटा कानुन वेभसाईटमा राखेको छ । यसरी झण्डै दुई दर्जन कानुन निर्माण गर्दा पनि सिस्ने गाउँपालिकाले स्थानीय तहको विपद व्यवस्थापन ऐन तर्जुमा गर्न आवश्यक देखेन ।

रोल्पाको रोल्पा नगरपालिका र रुकुम पूर्वको सिस्ने गाउँपालिका मात्र हैन, रोल्पा र रुकुम पुर्वका अधिकांश स्थानीय सरकारहरुले विपद व्यवस्थापन ऐन वनाएका छैनन । रोल्पाका १० मध्ये ७ र रुकुमपूर्वका ३ मध्ये ३ वटै स्थानीय तहमा यति संवेदनशील क्षेत्रको ऐन तर्जुमा हुन सकेको छैन । विपद वाजा वजाएर आउदैन । त्यसैले त विपद व्यवस्थापनका लागि सरकारले हरपल तयारी गरेको हुनुपर्छ । विपद व्यवस्थापनको महत्वपूर्ण पक्षमध्येको एउटा हो, कानून निर्माण । रोल्पाका स्थानीय सरकार भने यही कानुन तर्जुमाका लागि तयार नभएको देखिएको छ । नेपालको संविधानको अनुसुची ८ अनुसार स्थानीय सरकारको एकल अधिकार सुची अन्र्तगत विपद व्यवस्थापनलाई समावेश गरिएको छ ।

यो अधिकार सुचीलाई व्याख्या गर्दै मन्त्रीपरिषदले पारित गरेको कार्यविस्तृतिकरणसम्बन्धी प्रतिवेदनमा स्थानीय तहले विपद व्यवस्थापन संवन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन गर्नुपर्ने उल्लेख छ । यसका साथै स्थानीय स्तरमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सुचना प्रणाली, खोज तथा उद्धार, राहात सामाग्रीको पूर्व भण्डारण वितरण तथा समन्वय पनि स्थानीय सरकारको विपद व्यवस्थापनको कार्यसम्पादनभित्र पर्दछन ।

अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को विपदवाट नेपाल पनि अछुतो छैन । यो अवस्थामा यहाँका स्थानीय सरकारको विपद व्यवस्थापन रणनीति नभएको त देखियो नै साथै विपद कानुन तर्जुमा नगरेका कारण यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने पूर्वतयारी योजना समेत स्थानीय सरकारले नगरेको देखियो ।

रोल्पा नगरपालिकाले विपद व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७५ तर्जुमा गरेपनि त्यसअघि बनाउनुपर्ने विपद ऐन, वा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गर्न भने जरुरी नै ठानेन । रोल्पा नगरपालिका मात्र हैन, जिल्लाका सुनिलस्मृती गाउँपालिका, रुन्टीगढी गाउँपालिका, त्रिवेणी गाउँपालिका, माडी गाउँपालिका, लुंग्री गाउँपालिका, परिवर्तन गाँउपालिका, थवाङ गाउँपालिकाले समेत अहिलेसम्म विपद ऐन तर्जुमा गर्न जरुरी नै ठानेका छैनन । ऐन तर्जुमा नगरेका उनीहरुले कार्यविधिका आधारमा काम गरेको दावी गर्दै आएका छन् ।

रोल्पाका तीन स्थानीय तहले मात्रै विपद जोखिम न्यूनिकरण व्यवस्थापन ऐन वनाएका छन् । सुनछहरी, माडी र गंगादेव गाँउपालिका ऐन तर्जुमा गरेर विपदप्रति संवदेनशील भएको देखाएका छन् । रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका र सुनछहरी गाउँपालिकाले विपद व्यवस्थापन कोष संचालन कार्यविधि तय गरेका छन् ।

यसअघि विपद व्यवस्थापन समिति गठनका लागी गृह मन्त्रालयवाट जिल्ला प्रशासन कार्यालय हँुदै सम्बन्धित स्थानीय तहमा परिपत्र गरिएको थियो । सोही परिपत्रअनुसार अधिकांश स्थानीय तहले गाउँपालिकास्तरीय विपद व्यवस्थापन समिति गठन गरिएको हुनसक्ने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रोल्पाका सभापति डीवि घर्तीमगरको भनाई छ । अन्य कानुन तर्जुमा गर्दा विपद व्यवस्थापन कानूनले कम प्राथमिकता पाएरै अहिलेसम्म तयार नभएको सभापति घर्तीमगरले बताए । विपद संवेदनशील विषय भएकाले यसको कानुन तर्जुमा र पूर्व तयारीका साथै कोष स्थापनालाई महत्व दिनुपर्ने पनि घर्तीमगरले बताए ।

नाम मात्रको विपद कोष

रोल्पा नगरपालिकाले चालु आर्थिक वर्षका लागि ६६ करोड ५० लाख वढीको वजेट विनियोजन गर्दा विपद व्यवस्थाका लागि १५ लाख विनियोजन गरेको छ । यो रकम नगरपालिकाको कुल वार्षिक वजेटको ०.२२ प्रतिशत हो ।

यसैगरी सुनिलस्मृती गाउँपालिकाले वार्षिक वजेटको ०.०४ प्रतिशतभन्दा वढी वजेट विनियोजन गर्न जरुरी ठानेन । अझ विपद व्यवस्थापन ऐन वनाएको गंगादेव गाँउपालिकाले उक्त ऐनअनुसार विपद व्यवस्थापनका गतिविधि संचालन गर्न जरुरी नठानेकै कारण होला, विपद् व्यवस्थापनमा शुन्य वजेट विनियोजन ग¥यो । अघिल्लो वर्षको पहिरोले गाँउपालिका कार्यालयमा क्षती पुर्याउनुका साथै २ जनाको ज्यान गएको नराम्रो अनुभुती संगालेको लुंग्री गाउँपालिकाले यस वर्ष पनि विपद व्यवस्थापमा नाम मात्रको वजेट विनियोजन गर्नुले स्थानीय तहहरुले विगतको गल्तीबाट पाठ नसिकेको देखिन्छ । यो गाउँपालिकाले चालु आर्थिक वर्षका लागि विपद व्यवस्थापन कोषका लागि ५ लाख मात्रै विनियोजन गरेको छ जुन कुल बजेटको ०.१२ प्रतिशत मात्रै हो । अन्यको अवस्था पनि यसभन्दा भिन्न छैन (हेर्नुस तालिका) । अन्यको तुलनामा परिवर्तन गाँउपालिकाले भने यस शिर्षकमा १८ लाख विनियोजन गरेर रोल्पाका अन्य स्थानीय तहभन्दा विपद व्यवस्थापनमा केही संवेदनशील भएको देखाएको छ । विपद व्यवस्थापन कोषका लागि ११ लाख विनियोजन गरेको परिवर्तन गाँपालिकाले विपदको राहात वितरणका लगिी ७ लाख विनियोजन गरेको छ ।

तालिका : स्थानीय तहको विपद व्यवस्थापन वजेटको अवस्था

जिल्ला स्थानीय तह चालु वर्षको वजेट विपद व्यवस्थापन प्रतिशत
रोल्पा रोल्पा नगरपालिका ६६ करोड ५० लाख १५ लाख ०.२२
रोल्पा सुनिलस्मृती  गाउँपालिका ४६ करोड १७ लाख २ लाख ०.०४
रोल्पा गंगादेव गाँउपालिका ३६ करोड  ४१ लाख
रोल्पा सुनछहरी गाउँपालिका ३१  करोड ३१ लाख १० लाख ०.३१
रोल्पा रुन्टीगढी ४६ करोड ५६ लाख ५ लाख ०.१०
रोल्पा थवाङगाउँपालिका २४ करोड ४१ लाख १० लाख ०.४०
रोल्पा परिवर्तन  गाँउपालिका ३७  करोड ५९ लाख १८ लाख ४.४७
रोल्पा त्रिवेणी गाउँपालिका ३९ करोड ५८ लाख ७ लाख ०.१७
रोल्पा लुंग्री गाउँपालिका ४१ करोड १७ लाख ५  लाख ०.१२
रोल्पा माडी गाउपालिका २९ करोड १५  लाख ०.५१
रुकुम पूर्व भुमे गाउ“पालिका ३९ करोड ९ लाख १२ लाख ०.३०
रुकुम पूर्व सिस्ने गाउ“पालिका ४० करोड ८४ लाख
रुकुम पूर्व पुथाउत्तरगंगा गाउ“पालिका      

स्रोतः सम्बन्धित स्थानीय सरकार

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले चालु आर्थिक वर्षमा ४० करोड ८४ लाख वजेट विनियोजन गर्दा विपदमा शुन्य वजेट विनियोजन गर्यो । विपद व्यवस्था कोष संचालन कार्यविधि तर्जुमा गरेर रुकुम पूर्वका तीन स्थानीय तहमा विपद संवेदनशीलता देखाउन खोजेको सो गाउँपालिकाले विपद व्यवस्थापन कोष विनियोजनमा भने चुकेको छ । रुकुम पूर्वकै भूमे गाउँपालिकाले चालु आर्थिक वर्षमा ३९ करोड ९ लाखको वजेट ल्याउदा विपद व्यवस्थापन कोषमा १२ लाख विनियोजन गरेको छ ।

कोरोना संक्रमणसंगै केही स्थानीय तहले कोरोना विशेष कोष स्थापना गरेका छन् भने केही स्थानीय तहले विपद व्यवस्थापन कोषको रकम कोरोना नियन्त्रणमा खर्च गर्ने जनाएका छन् । रोल्पा नगरपालिकाले कोरोना कोषका लागि विभिन्न दाताहरुवाट १ लाख ५० हजार संकलन गरेको छ । ‘८५ हजार रुपैयाँ प्राप्त हुने आश्वासन पाएका छौं’, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले भने । जिल्लाको सुनिल स्मृती गाँउपालिकाले स्थापना गरेको कोरोना कोषमा ७ लाख जम्मा भएको छ ।

सुनछहरी गाउँपालिकाले २५ लाखको लक्ष्यसहित स्थापना गरेको कोषमा हाल २ लाख जम्मा भएको छ । रुन्टीगढीले ६५ लाख ५० हजारको कोष स्थापना गरेको छ । थवाङ गाउपालिकाको भने उक्त कोषमा ४४ हजार ५ सय मात्रै जम्मा भएको छ । परिववर्तन गाउँपालिकाले ३० लाखको कोरोना कोष स्थापना गरेको जनाएको छ । त्रिवेणी गाउँपालिकामा कोराना कोष नभएको तर विपद व्यवस्थापन कोषको रकम कोरोना नियन्त्रणमा खर्च गर्ने प्रमुख प्रशासकिय अधिकृत निमवहादुर केसीले बताए । कोरोनाको महामारीसंगै कर्मचारीको तलव भत्ता कटाएर उक्त कोषमा १ लाख ४ हजार संकलन गरिएको पनि केसीले बताए । माडी गाउँपालिकाले कोरोना कोषका लागि ३० लाखको कोष स्थापना गरेको वताएको छ ।

राहत वितरणमा अन्यौल

विपदको समयमा राहात सामाग्रीको पूर्व भण्डारण, वितरण र समन्वयको जिम्मेवारी स्थानीय सरकारको हुन्छ । यहाँका स्थानीय सरकारहरु यस मामिलामा पनि चुकेका छन । राहातको लागि असंगठित क्षेत्रमा कार्यरत मजदुर तथा असहायहरुलाई राहात वितरण गर्ने भनिएपनि अधिकांश स्थानीय सरकार यस्तो वर्ग छनौटमै अन्यौलमा देखिए । आफ्नो स्थानीय तहभित्र रहेका असंठित क्षेत्रमा काम गर्ने मजदुर, असाहय र विपन्नहरुको तथ्यांक कुनै पनि स्थानीय तहमा देखिएन जसले गर्दा कोरोना संक्रमणका कारण लकडाउन भएको विसौ दिन पार गर्दा समेत स्थानीय तहले राहात वितरण गर्न सकेनन् ।

सुनिल स्मृती गाउँपालिकाका २ वटा वडा, त्रिवेणी गाँउपालिकाको एउटा वडा र रोल्पा नगरपालिकावाहेक अन्य स्थानीय तहले लकडाउनको तेश्रो हप्ता वित्दासम्म राहात वितरण गरेका छैनन । सुनिल स्मृती गाउँपालिकाले वडाहरुवाट प्राप्त विवरणका आधारमा विपन्न छनौट गर्ने सोच वनाएको छ । वडाध्यक्षहरुले संकलन गरेको सुची वडा समितिको वैठकले अनुमोदन गरेपछि राहात वितरणको मापदण्ड वनाएको त्रिवेणी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत निमवहादुर केसीको भनाई छ । १२ वटा मापदण्ड तयार गरी हरेक वडावाट संकलन भएको लगतको आधारमा राहात वितरणको तयारीमा छौ सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरवहादुर पुनले भने ।

सुनिल स्मृती गाउँपालिकाका २ वटा वडा, त्रिवेणी गाँउपालिकाको केही वडा र रोल्पा नगरपालिका वाहेक अन्य स्थानीय तहले लकडाउनको तेश्रो हप्ता वित्दा सम्म राहात वाडेका छैनन । रुकुम पूर्वको भुमे र सिस्नेले राहात वितरण गरेपनि पुथा उत्तरगंगाले अझै वितरण नगरेको स्थानीय पत्रकार महेश केसीले बताए । पुथा उत्तर गंगाले छिटै वितरण गर्ने गरि नामावली संकलन गरिरहेको केसीको भनाई छ ।

अधिकांश स्थानीय तहले नाममात्रको राहात दिएको आरोप छ । रोल्पा नगरपालिकाले एक परिवार भएको घरधुरीमा ५ किलो चामल दिदा प्रदेश सांसद दीपेन्द्र पुनलाई प्रमुख अतिथि वनाइएको थियो । अन्य स्थानीय तहले समेत राहात वितरणमा आफुनिकट नेतालाई प्रमुख अतिथि वनाएर वितरण गरेको आरोप लाग्ने गरेको छ । राहात वितरण जस्तो कुरामा राजनीति गर्न नहुने बताउँदै नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकवहादुर खत्रीले भने, ‘राहात वितरण निष्पक्ष हुन सकेन भन्ने गुनासो आएको छ ।’

मापदण्ड वनाउनै सकस

राहत वितरण गरेका र गर्न वाँकी सवै स्थानीय तहलाई राहात वितरणको मापदण्ड वनाउनै सकस भयो । केही स्थानीय तहहरुले कार्यपालिकावाट कार्यविधि पारित गरेरै लक्षित वर्ग पहिचान गरे । लकडाउनका कारण प्रभावितहरुको तथ्यांक संकलनको तरिका पनि फरक फरक रहेको पाइयो । अधिकांशले वडाध्यक्षहरुवाट नामावली संकलन गरेको पाइयो । रोल्पा नगरपालिकाले वडाध्यक्षहरुलाई खटाएर यी वर्ग छनौट गर्ने विधि तय ग¥यो ।

विपन्नहरुको निवेदन माग गरेर प्राप्त निवेदनलाई स्थानीय वन समुह र आमा समुहहरुले त्रिकोणात्मक जाँच गरि वडाध्यक्षले प्रमाणीकरण गरेका नामावली राहातका लागि योग्य मानिएको नगर प्रमुख पूर्ण केसीले बताए । सहकारी तथा गरिवी निवारण मन्त्रालयले पहिचान गरेको गरिव घरधुरी तथ्यपरक नभएकाले आफुहरुले उक्त तथ्यांक प्रयोग नगरेको नगर प्रमुख केसीको भनाई छ ।

सुनिल स्मृती गाउँपालिकाले वडाहरुवाट प्राप्त विवरणका आधारमा विपन्न छनौट गर्ने सोच वनाएको छ । वडाध्यक्षहरुले संकलन गरेको सुची वडा समितिको वैठकले अनुमोदन गरेपछि राहत वितरणको मापदण्ड वनाएको त्रिवेणी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत निमवहादुर केसीको भनाई छ । १२ वटा मापदण्ड तयार गरि हरेक वडावाट संकलन भएको लगतको आधारमा राहात वितरणको तयारीमा रहेको सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरवहादुर पुनले बताए ।

‘लकडाउनका कारण खाद्य संकट झेलिरहेका घरधुरी छनौट गर्दा केही समय ढिलो भएको हो’, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम परियारले भने । रोजगारीका लागी नेपालका विभिन्न जिल्ला, भारत र खाडी मुलुकवाट फर्किएकाहरुको समेत घरको आर्थिक अवस्था हेरेर राहत दिएको रुन्टीगढी गाउपालिकाका नायव सुव्वा दीपक डीसीले जानकारी दिए ।

Sharing is caring!