व्यापार घाटाले बन्द हुँदैछन् साना उद्योग

दीपक बोहरा २०८१ असोज दाङ

गत आर्थिक बर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशका ४ हजार ५२ उद्योग बन्द भएका छन् जसमा बाणिज्यतर्फ एक हजार ९ सय ३३ र उद्योगतर्फ २ हजार एक सय १९ घरेलु तथा साना उद्योग कार्यलयमार्फत् बन्द भएका छन् ।

दाङ घोराहीको गौतम पोल्टिफर्म केही बर्ष राम्रो चल्यो । तर, जब कोरोनाका कारणले लकडाउन भयो, त्यसपछि अन्ततः बन्द हुने अवस्थामा पुग्यो । फर्ममा करिब डेढ करोड लगानी लागेको थियो । तर, कोरोनाले गर्दा त्यो लगानी नउठेपछि अहिले बन्दै गर्नुपर्ने अवस्था आएको सञ्चालक लिलाधर पाठकले बताए । “३/४ बर्ष राम्रै चल्यो”, उनले भने, “जब कोरानो सुरु भयो त्यसपछि घाटाको घाटा भयो, त्यही भएर अहिले बन्दै गर्नुपर्ने अवस्थामा पुग्यो ।” २०७० सालमा उक्त फर्म स्थापना गरेर दानामा काम गर्दै आएको उनले बताए ।

त्यस्तै पाल्पाका श्याम घर्तीले पनि ३/४ बर्षजति चलाएको रेष्टुरेन्ट बन्द गरे । रैनादेवी छहरा-३ मा रेष्टुरेन्ट सञ्चालन गरेका उनले रेष्टुरेन्टबाट घाटा भएपछि त्यो बेचेर किराना पसल मात्रै चलाएका छन् । “पहिले जस्तो व्यापार छैन”, उनले भने “त्यसले गर्दा बन्द गर्ने अवस्थामा पुगियो ।” उनले पनि रेष्टुरेन्टमा गरेको लगानी समेत उठाउन सकेनन् । रेष्टुरेन्टमा ५/७ लाख लगानी गरेका थिए ।

त्यस्तै दाङ घोराहीकै गीता थापाले लोकल जातका कुखुरा पालन गरेकी थिइन् भने तरकारी खेती पनि गरेकी थिइन् । चार बर्षअघि उनले घरेलुमा दर्ता गरेर पनि चलाईन् । तर, पछिल्लो समय उनलाई कर तिर्ने समेत पैसा नभएपछि फर्म बन्द गर्न बाध्य भइँन । ‘६ बर्ष अघिदेखि कुखुरा पालन र तरकारी खेती गर्दै आएकी थिएँ, तर चार बर्ष अघि मात्रै दर्ता भएर चलाएकी हुँ”, उनले भनिन्, “अहिले मलाई कर तिर्नै धौ भएर फर्म बन्द गरिदिएँ ।” कर कार्यालयमा ७ हजार पाँचसय र वडा कार्यालयमा दुई हजार दुईसय रुपैँयासम्म तिर्न सक्ने अवस्था नभएपछि आफूले फर्म बन्द गरेको उनको भनाई छ । फर्म बन्द गरेको भएपनि आफ्नो व्यवसाय भने गरिरहेको उनी बताउँछिन् । “फर्म बन्द गरेँ, पहिले कमाई पनि राम्रै हुन्थ्यो, अहिले चल्ला जोगाउन पनि सकिदैन्, बिक्री पनि त्यस्तो छैन”, उनले भनिन्, “त्यसले गर्दा पहिले जस्तो कमाई पनि गर्न नसकेकाले फर्म बन्द गरेकी हुँ ।”

यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय व्यापार घाटा भएकै कारण घरेलु तथा साना उद्योगहरू बन्द हुने क्रम बढिरेहेको छ । लुम्बिनी प्रदेशमा एक बर्षमा ४ हजार उद्योग बन्द भएका छन् । लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको तथ्यांक अनुसार गएको आर्थिक बर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशका ४ हजार ५२ उद्योग बन्द भएका छन् जसमा बाणिज्यतर्फ एक हजार ९ सय ३३ र उद्योगतर्फ २ हजार एकसय १९ घरेलु तथा साना उद्योग बन्द भएको निमित्त निर्देशक इश्वर चन्द्र अर्यालले बताए । सबैभन्दा बढी दाङका ८ सय ७६ उद्योग बन्द भएका छन् भने सबैभन्दा कम रुकुम पूर्व र अर्घाखाँचीका ५२/५२ उद्योग बन्द भएका छन् ।

तालिका १ : लुम्बिनीमा एक बर्षमा बन्द भएका र थपिएका उद्योगको संख्या
क्र.सं.जिल्लाबन्द भएका उद्योगथपिएका उद्योग
दाङ८७६१,१०९
बाँके७४२१,३७७
रुपन्देही४०२२,१२६
बर्दिया३६५५२६
पाल्पा३६३१८८
कपिलबस्तु३४०७५८
गुल्मी३४३१३६
नवलपरासी२५७९३७
रोल्पा१७४१२९
१०प्यूठान८३८३
११अर्घाखाँची५२९०
१२रुकुमपूर्व५२१०२
स्रोतः उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय लुम्बिनी प्रदेश
दर्ता घट्न थाले, बन्द हुने बढे

पछिल्लो समय लुम्बिनीमा दर्ता हुनेभन्दा बढी बन्द हुने उद्योगहरू बढ्न थालेका छन् । विगतमा बन्द हुने अत्यन्तै न्यून हुने गरेको भएपनि गएको आर्थिक बर्षदेखि विगतको तुलनामा बन्द हुने बढी र दर्ता हुने न्यून हुँदै गएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले बताए । कोरोनापछि व्यापार व्यवसाय धरापमै रहेकाले पनि पछिल्लो समय साना उद्योगहरू बन्द हुने क्रम बढेको उनको भनाई छ । “कोरोनापछि मुलुकमा आर्थिक मन्दि छ, व्यापार घाटा छ”, उनले भने, “त्यसले गर्दा पनि उद्योगहरू बन्द भइरहेको अवस्था छ ।” उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योगहरू बन्द भइरहेको उनको भनाई छ । उत्पादन मुलक उद्योगमा कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरि मालबस्तु उत्पादन गर्ने उद्योगहरू छन् । त्यस्तै कृषि तथा वन पैदावार उद्योगमा कृषि वा बन पैदावारमा आधारित कच्चा पदार्थबाट कुनै बस्तु उत्पादन गर्ने वा कृषि वा बन पैदावारमा आधारित उद्योगहरू तथा उर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न उर्जामुलुक उद्योगहरू पनि बन्द भइरहेका छन् ।

ढुंगा, गिट्टी, बालुवासम्बन्धी काम गर्ने उद्योगहरू, पर्यटन सेवासँग सम्बन्धित उद्योगहरू तथा सूचना संकलन प्रशोधन र प्रसारणका लागि प्रविधि प्रयोग गरि सूचना, सञ्चार वा सूचना प्रविधिको सेवा उपलब्ध गराउने उद्योगहरू बन्द भइरहेका छन् । व्यवसाय नचलेको भन्दै यसरी बन्द गर्न आउने गरेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी मनोज घिमिरेले बताए । “बन्द गर्न आउँदा धेरैलाई हामी कारण सोध्छौ”, उनले भने, “ती सबैले व्यापार घाटा भएकाले बन्द गरेको जवाफ दिनुहुन्छ ।” अधिकांश युवाहरू विदेश पलायन हुने तथा आर्थिक मन्दिले गर्दा त्यसको मार व्यापार, व्यवसायमा पर्ने गरेको उनको भनाई छ । सानो जिल्ला रहेको रुकुम पूर्वमा समेत उद्योग बन्द गर्न भन्दै दैनिक २/३ जना आउने गरेको घरेलु तथा साना उद्योग कार्यालय रुकुमपूर्वका सूचना अधिकारी सन्तोष मल्लले बताए । उनका अनुसार केहीले कार्यालयमै आएर उद्योग बन्द गर्ने गरेको भएपनि केहीले भने उद्योग बन्द मात्रै गरेका छन् । त्यसले गर्दा उद्योग बन्द हुनेको संख्या अझ धेरै हुन सक्ने बताए । उत्पादनले मूल्य नपाउने, बिक्री समेत नहुँने जस्ता कुराले पहाडी क्षेत्रको व्यवसायमा असर गरेको उनको भनाई छ ।

उद्योग बन्द हुँदा रोजगारी पनि गुम्दै

उद्योग बन्द हुँदा रोजगारी पनि गुम्दै जाने गरेको छ । त्यसले थप बेरोजगारी बढाउने गरेको लुम्बिनी प्रदेश उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय निमित्त निर्देशक इश्वर चन्द्र अर्यालले बताए । उनका अनुसार करिब १२ हजार बढीको रोजगारी गुमेको छ । लुम्बिनीमा गएको बर्षमात्रै पाँच हजार तीन सय ६१ नयाँ उद्योग थपिएका थिए । जसबाट १५ हजार दुई सय चार जनाले रोजगारी पाएका छन् । यही अनुपातलाई हेर्दा बन्द भएका उद्योगबाट प्रदेशमा १२ हजार बढीको रोजगारी गुमेको छ । ‘उद्योग बन्द हुँदा प्रत्यक्ष रुपमा रोजगारमा पनि असर गर्छ’, उनले भने, ‘उद्योग बन्द हुँदा बेरोजगारको संख्या पनि थपिदै जाने हो ।’

गत बर्ष उद्योग/व्यवसायबाट आठ करोड ८० लाख ३९ हजार आठ सय ६६ रुपैयाँ राजश्व संकलन भएको छ । नयाँ उद्योग, दर्ता, बन्द, संशोधनलगायतबाट उद्योगतर्फ चार करोड २३ लाख १२ हजार छ सय ६६ रुपैयाँ र वाणिज्यतर्फ चार करोड ५७ लाख २७ हजार दुई सय राजश्व संकलन भएको छ । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगमा १५ अर्ब बढी लगानी थप भएको छ । लुम्बिनीका १२ जिल्लामा रहेका उद्योग व्यवसायमा १५ अर्ब ११ करोड ५५ लाख ५४ हजार लगानी थपिएको हो । साना व्यवसायीलाई तीनै तहका सरकारले प्रोत्साहन गर्ने नीति नल्याउनुले पनि बन्द हुने अवस्थामा पुगेको घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले बताए । साना व्यवसायीहरूमा हुने थुप्रै चुनौतिहरूलाई समाधान गर्न सरकार गम्भीर नहुँदा नै अहिलेको अवस्था आएको उनको भनाई छ । “झन्झटिलो कर प्रणाली, आयातित बस्तुले स्थानीय उत्पादनलाई विस्थापित गर्नु जस्ता कारणले साना उद्योगहरू चल्न सकेका छैनन”, उनले भने, “भाडा तिर्न सक्ने समेत अवस्था छैन, त्यसैले बन्द हुने अबस्थामा छन् ।”

ठूला उद्योग पनि मारमै छन्

दाङको तुलसीपुरमा लामो समयदेखि गणपति तेल मिल सञ्चालन गर्दै आएका तुलसीपुर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष हिमाल बस्नतेले ठूला व्यवसायीहरू पनि मारमा परेको बताएका छन् । उनले ४/५ बर्षअघि जुन व्यापार हुन्थ्यो, त्यस्तो व्यापार अहिले नहुँने गरेको बताए । “सबै व्यवसायी मारमा छन्, खासगरि कोरोनापछि यो समस्या देखिएको छ”, उनले भने, “व्यवसाय नहुँदा यसरी बन्द हुने क्रम बढेको हो ।” पछिल्लो समय व्यवसायीहरू भाडा समेत तिर्न सक्ने अवस्थामा नभएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । धेरै व्यवसायीहरू पलायन भइरहेको र यही अवस्था केही समय रहेमा पलायन हुनको संख्या अझै बढ्ने पनि उनले बताए । व्यवसाय बन्द हुनु भनेको आर्थिक गतिविधि कम हुनु भएको भन्दै आर्थिक रुपमा सवल बनाउनका लागि साना उद्योगहरू चलाउनुपर्ने उनको भनाई छ । अर्कोतर्फ सरकारले उत्पादित बस्तुलाई बजारीकरण गर्ने, व्यवसायीको सुरक्षाको प्रत्याभूति गर्नेजस्ता कार्यमा सरकार गम्भिर हुनुपर्ने पनि उनले बताए ।

Sharing is caring!