जनप्रतिनिधी गाउँमा विकासको लहर चलिरहेको दावी गर्छन् । सवै सुविधा गाउँमा पुर्याइएको भन्दै सांसद्हरु चर्को भाषण गर्छन् । तर, स्थानीयलाई भने गाउँको त्यस्तो विकासले गाउँमै अडयाउन सकेको छैन ।
नौवहिनी गाउँपालिका २ लिघा प्यूठानका लुकमान दर्लामी मगर २०७६ असोजमा बसाइ सरेर कपिलवस्तुको चन्द्रौटा गए । दुई सन्तान र श्रीमतीसँगै उनी आफू हुर्केबढेको पुख्र्यौली थलो स्थायी रुपमा छाडेर बसाइ सरेका हुन् । दुईवर्ष अघिदेखि नै चन्द्रौटा बस्दै आएपनि दर्लामी मगरले तीन महिनाअघि मात्र नौवहिनी गाउँपालिकाको वडा कार्यालयबाट स्थायी बसाइसराइको कागज बनाएर गाउँ छाडे । दर्लामीले उतै चन्द्रौटामा घर बनाएका छन् । श्रीमती फूर्सी दर्लामीले गाउँमा विकास हुन अझै धेरै समय लाग्ने देखेपछि गाउँ छाड्न बाध्य भएको बताइन् ।
पहिलेको गाविस हुँदा र अहिले गाउँपालिका, नगरपालिका हुँदा विकास निर्माणले तुलनात्मक रुपमा गति लिएको देखिन्छ । तर उक्त विकासले जनताको मन अझै तान्न सकेको छैन् । स्थानीय सरकार आएपछि पनि मानिसहरुले आफनो थातथलो छाडिरहेकै छन् । क्रमिक रुपमा हुँदै गएको विकासले जनतालाई गाउँमा अडाएको छैन् । सजिलो बाटो, विरामी पर्दा नजिकै अस्पताल, सन्तानलाई पढाउने गाउँमै माध्यमिक तहको विद्यालय, खानेपानी र टेलिफोनको सुविधा अझैपनि सहज नबन्दा दुर्गम क्षेत्रका नागरिकहरु शहर झर्न बाध्य छन् ।
नौवहिनी गाउँपालिका ३ खवाङका दुर्गा बहादुर पुनलाई पनि अहिलेको विकासले गाउँमै बसालेन । जन्मभूमी छाडेर उनी दाङको घोराही झरेका छन् । श्रीमती र एक छोरासहित बसाइ सरेर उनी घोराही गएका हुन् । ‘छोराको पढाइलेखाई राम्रो होस् भन्नका लागि पनि बसाइ सरेर आएका हौँ’,दुर्गाकी श्रीमती बसन्ती पुनले भनिन् । पुन परिवारमा पाँच भाई छोरा छन् । माइलो छोरा प्रकाश पुन पनि घोराहीमै बसाइ सरेर गएको बुवा टिका बहादुर पुनले बताए । ‘गाउँमा जति विकास भएपनि छोराहरु घर बस्न मानेनन्’,उनले भने,‘हामी बुढाबुढीलाई घर छाड्न मनले मान्दैन । नयाँ पुस्तालाई गाउँमा राख्नै गाह्रो छ ।’
२०७६ वैशाख ४ गते ऐरावती गाउँपालिका ६ प्यूठानकै बसन्ता खनाल गाउँ छाडेर मधेस झरिन् । उनका सवै दाजुभाई दाङको लमही र कलिपवस्तुमा बसोबास गर्छन् । कपिलवस्तुको कोपामा उनी कोठा भाडामा बसीरहेकी छन् । उनलाई पनि गाउँमा बसीरहन मन लागेन । गाउँमा खानेपानीको हाहाकार हुनुका साथै खेतीपाती बदेलले भित्र्यानै नदिने भएकाले पनि गाउँ छाड्न बाध्य भएको उनले बताइन् । गाउँपालिकाले खानेपानीको योजना बनाउन थालेपनि उनी गाउँमा संभावना नदेखेर बसाइ सरेको बताउँछिन् । ‘सोचेजस्तो गाउँमा विकास भएन’,उनले भनिन्,‘शहरको तुलनामा गाउँमा विकास हुन धेरै समय लाग्ने देखियो ।’ वडा कार्यालयबाट बसाइसराइको कागजात लगेर तराइमा झरेको उनले सुनाइन ।
मदाने गाउँपालिका ६ गुल्मीका पदमप्रसाद पौडेलले गाउँमै लगानी गर्न चाहान्थे । व्यवसायीक बाख्रा पालन र ह्याचरी उद्योग चलाउने उनको योजना थियो । तर, लाखौँको लगानीको सुरक्षा गाउँमा हुने उनले छाट नदेखेपछि बुटवल झर्न बाध्य भए । उनका अनुसार गाउँमा अरुको प्रगतीमा खुसी नहुनेहरुको जमात धेरै छ । ‘दाईहरु पनि बसाइ सरेर बुटवल आउनुभएको छ’, उनले भने, ‘घर गाउँमा केही गरौँ भन्ने सोँच थियो तर ढुक्कसँग लगानी गर्ने वातावरण देखिएन् ।’ अहिले उनी बुटवलमा सस उद्योग चलाएर बसेका छन् । संघीयता आइसकेपछि मदाने ६ बाट हालसम्म ३५ घरपरिवारले गाउँ छाडेका छन् । यसरी गाउँ गाउँमा स्थानीय सरकार भएपनि पुख्र्यौली थलो छाड्नेहरुको संख्यामा भने कमी आएको छैन ।
ऐरावती ६ प्यूठानका अध्यक्ष चन्द्र बहादुर रानाले गाउँमा खानेपानीको सुविधा पु¥याउन थालिएको बताउँछन् । ‘विकासले विस्तारै गति लिदैछ’,उनी भन्छन्, ‘पैसा कमाउने वित्तिकै शहर जानुपर्छ भन्ने धेरैको सोँच छ ।’ प्यूठानीहरुकोे बसाइ सरेर जाने प्रमुख थलो बुटवल, दाङको लमही, घोराही र तुलसीपुर हो । कपिलवस्तुको चन्द्रौटा, गोरुसिंगे, काठमाण्डौँ, नवलपरासी, नेपालगञ्ज र बर्दियामा समेत यस क्षेत्रका वासिन्दा बसाई सरका छन् । यस हिसावले पनि संघीयताले स्थानीयलाई गाउँमै अड्काउन सकेको देखिदैन । विदेशमा पौरख गरेर कमाएको पैसाले शहरमा घरघडेरी जोड्नेको संख्या दिनानुदिन बढ्दो छ । रेमिट्यान्सका कारण पनि गाउँ छाड्नेको लर्को लागिरहेको देखिन्छ ।
गुल्मीको दुर्गम क्षेत्र मदाने गाउँपालिकाबाट गतवर्ष १ सय ६९ जना घरपरिवारले गाउँ छाडेका छन् । गुल्मीबाट मात्रै गतवर्ष ९ सय ८४ घरधुरीका १ हजार ९ सय १० जनाले जिल्ला छाडेका छन् । विदेशमा कमाएको धनले शहरमा घर जग्गा जोडनेहरु बढी देखिएको मदाने गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष तोकम कुवँर बताउँछन् । धेरैजसो सन्तानलाइ पढाउने बाहानामा बसाइसर्ने गरेको उनको भनाई छ । २०७५ सालभरी प्यूठान र गुल्मीका स्थानीय तहमा गरी कुल १ हजार ३ सय ७४ घरधुरीले गाउँ छाडेर शहरमा वसाई सराई गरेका छन् ।
धेरैजसो बुटवल र काठमाण्डौँमा बसाइ सरेर गएका छन् । आफन्त, इष्टमित्र, सन्तानको पढाइ लेखाइ र रोजगारीका लागि भन्दै गाउँ छाड्नेहरुको संख्या पनि कम्ती छैन । स्थानीय तहले नयाँ नयाँ योजना अनुरुप काम गरेको प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । घरदैलोमा पुगेको सडकले न जीवनशैलीमा फरकपन ल्याएको छ, न घर आँगनमै पुगेको सरकारी सेवाले बसाइँसराइमा कमी आएको छ । जनप्रतिनिधी गाउँमा विकासको लहर चलिरहेको दावी गर्छन् । सवै सुविधा गाउँमा पु¥याइएको भन्दै सांसद्हरु चर्को भाषण गर्छन् । तर, स्थानीयलाई भने गाउँको त्यस्तो विकासले गाउँमै अडयाउन सकेको छैन ।
२०७५ सालमा बसाइ सरेर आउने र जानेको विवरण
स्थानीय तह | बसाइसरेर आउने | बसाइसरेर जाने |
---|---|---|
रेसुंगा नगरपालिका, गुल्मी | ३३ परिवार | ५४ परिवार |
कालीगण्डकी गाउँपालिका, गुल्मी | – | ७२ परिवार |
चन्द्रकोट गाउँपालिका, गुल्मी | ३५ परिवार | १३७ परिवार |
सत्यवती गाउँपालिका, गुल्मी | ९ परिवार | १०० परिवार |
रुरु गाउँपालिका, गुल्मी | १३ परिवार | ६४ परिवार |
छत्रकोट गाउँपालिका, गुल्मी | ७० परिवार | ६७ परिवार |
गुल्मीदरवार गाउँपालिका, गुल्मी | – | १३२ परिवार |
धुर्कोट गाउँपालिका, गुल्मी | ५ परिवार | ८१ परिवार |
इस्मा गाउँपालिका, गुल्मी | १७ परिवार | ५९ परिवार |
मदाने गाउँपालिका, गुल्मी | ८ परिवार | १६९ परिवार |
मालिका गाउँपालिका, गुल्मी | १३ परिवार | ४९ परिवार |
माण्डवी गाउँपालिका, प्यूठान | १४ परिवार | ९८ परिवार |
ऐरावती गाउँपालिका, प्यूठान | ४ परिवार | ६९ परिवार |
सरुमारानी गाउँपालिका, प्यूठान | ३८ परिवार | ३१ परिवार |
नौवहिनी गाउँपालिका, प्यूठान | – | १२ परिवार |
स्वर्गद्धारी नगरपालिका, प्यूठान | ५ परिवार | ५२ परिवार |
मल्लरानी गाउँपालिका, प्यूठान | ६ (१७ जना) | ५४ परिवार |
प्यूठान नगरपालिका, प्यूठान | २३ परिवार | ७४ परिवार |
जम्मा : | २९३ परिवार | १३७४ परिवार |