समस्याले घेरिएको दाङको सिमा क्षेत्र

दशरथ घिमिरे २०७८ जेठ दाङ

दाङको ८३ किलोमिटर लम्बाइ भारतसँग जोडिएको छ । तर दाङ र भारतको सिमाना अरु जिल्लाको जस्तो सुगम छैन् । सिमा वरपर बसोवास गर्ने मानिसहरुले आधारभूत आवश्यकता उपभोग गर्न पाएका छैनन ।

राजपुर गाउँपालिकाको, सुनपथ्री निवासी आरती केसीलाई गत वर्ष जेठ ३१ गते सुत्केरी वेथाले च्याप्यो । वरपर स्वास्थ्य चौकी छैन् । बोकेर भारतको अस्पताल पुर्‍याउन कोसिस गरे । तर, बोकेर सकेनन् । देउखुरी पुर्‍याउन बाटो थिएन ।भारतको सिरसिया बजारको अस्पतालमा लैजान खोजेका थियौं । तर, अस्पताल लैजान खोज्दा खोज्दै बच्चा जन्मियो’ स्थानिय भिमबहादुर केसीले भने–‘यहाँ स्वास्थ्य चौकी छैन् । बच्चा जन्माउन पनि भारत जानुपर्छ ।’ राजपुर गाउँपालिकाले वडा नं. ७ को भैंसाही, डगमारा, वडा नं. ६ को खांग्रा , वडा नं. १ को पटौलीमा सामुदायीक स्वास्थ्य ईकाइ स्थापना गरेर प्राथमिक उपचार सेवा प्रदान गर्दै आईरहेको छ । राजपुरका बेला र राजपुर स्वास्थ्य चौकीमा मात्रै सुत्केरी सेवा दिने ठाउँ छन् ।

सिमा क्षेत्रका गर्भवतीहरु यी चौकीसम्म आउन सक्दैनन् । अधिकंसले घरमा बच्चा जन्माउने गरेका छन । घरमा बच्चा जन्माउदा समस्या परेपछी मात्रै भारतीय अस्पतालसम्म पुर्‍याउन खोज्छन्, भौवाका श्यामबहादुर झाँक्रीले बताए । ‘भौवा नाका कोइलावासपछी दोस्रो ठूलो नाका हो । यहाँ जनघनत्व पनि धेरै छ । भैंसाहीमा रहेको स्वास्थ्य चौकी पुग्न दुई घण्टा पैदल हिँड्नुपर्छ,’उनले भने–‘सिटामोल किन्न दुई घण्टा हिंड्नुपर्छ ।’ राजपुर गाउँपालिकाले सुत्केरीको लागी एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । तर, एम्बुलेन्स पुग्न नसक्ने ठाउँका आमाहरुले एम्बुलेन्सको सेवा उपभोग गर्न पाउँदैनन ।

आर्थिक वर्ष २०७७।०७८ मा राजपुर गाउँपालिका वडा नं. ७ को भैंसाही नाकामा बर्थिङ्ग सेन्टर स्थापना गर्ने योजना रहेको राजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले बताए । ‘सिमा क्षेत्रमा रहेका सामुदायीक स्वास्थ्य ईकाइबाट सामान्य खालको उपचार हुन्छ । सिटामोल देखी घाउ सफा गर्ने, पखाला रोक्ने सम्मका औषधी राखिएका छन् । अहेव र अनमीको दरवन्दी छ’उनले भने ।

भरपर्दाे सडक छैन्

‘कहिले काँही त भारतको भूमि टेक्नै नपरे हुन्थ्यो भन्ने लाग्छ । तर, के गर्नु आफ्नै शहर पुग्न घण्टौं हिड्नुपर्छ । न राम्रो बाटो छ । न गाडी नै चल्छ’ राजपुर–७ भौवा नाका निवासी हरिकला विकले भनिन्–‘बाटो बनाउन बजेट छुट्याएको छ भन्ने सुन्छु । अव गाडीमा सरर आउजाउ गर्न पाईन्छ की ?’राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाकामा उहाँको घर छ । तर, आफ्नो घरबाट आफ्नै जिल्लाको अर्काे ठाउँ आउजाउ गर्न भारतकै बाटो हिँड्नुपर्छ । भारतको बाटो कहिल्लै हिड्न नपरोस भन्ने उनले कामना गरिन् । हरेक बर्ष नाका क्षेत्रको सडक स्तरोन्नतीको लागी सरकारले बजेटको व्यवस्था गर्दै आएको छ । आर्थिक वर्ष सकिनै लाग्दा सडकको काम शुरु हुन्छ, जसले गर्दा थोरै बजेट खर्च हुन्छ र काम पनि थोरै हुन्छ ।

राजपुर गाउँपालिका वडा नं. ५ को जंग्रहवा देखी वडा नं. ६ को खांग्रा जोड्न प्रदेश सरकारले हरेक बर्ष डेढ करोडभन्दा बढी रुपैयाँको व्यवस्था गर्दै आएको छ । तर, पहाडको बाटो भएकाले बर्षाको पानीले सडकलाई असर पुर्‍याउने गर्छ । हिउँदमा मात्रै बाटो चल्छ । राजपुर गाउँपालिका वडा नं. १ को वेला देखी सिरिया नाका जोड्न सडक बनाउने योजना छ । उत्तर दक्षिण जोड्ने तीन ओटा सडक र कोइलावास देखी राजपुरको भौवा सम्म जोड्ने सिमा सडकलाई आउदो बर्ष पनि प्राथमिकतामा राखिएको छ । राजपुरको गोठुवा देखी सुनपथ्रीसम्म पनि सडक बनाउन थालिएपनि ट्याक्टर र मोटरसाइकल जेनतेन पुग्न सक्छन् । सडक भरपर्दाे नहुदा नाका क्षेत्रमा वासेवास गर्ने नागरिकले दुःख पाउदै आएका छन् ।

दरबन्दी विनाका स्कूल

राजपुर गाउँपालिकाको स्याउलेमा २०६१ सालमा ज्ञानकुञ्ज प्राथमिक विद्यालय स्थापना भयो । सरकारले विद्यालय खोल्न अनुमति दियो तर, शिक्षक दरबन्दी छैन । शिक्षकलाई सामुदायिक वनले तलब खुवाउदै आएको छ । यो गाउँमा विद्यालय नहुदा बालबालिकाहरु घण्टौंको बाटो हिंडेर भौवा नाका पुग्नुपथ्र्याे । विद्यालय खुलेर गाउँमै विद्यार्थीले पढ्न त पाएका छन । तर, विद्यालय चलाउन समस्या परेको छ । तीन जना शिक्षक र एक जना सहयोगी गरेर चार जना कार्यरत छन । समुदायबाट शिक्षक राखिएको छ । सरस्वती सामुदायिक वनले तिन लाख रुपैयाँ अक्षयकोषमा राखेको छ । यहीँ अक्षयकोषबाट आउने ब्याज र स्थानीयले उठाउने सहयोग रकमले तलव खुवाउने गरिएको छ । दिलकुमारी बाठाले मासिक ६ हजार रुपैयाँमा पढाउने गरेकी छिन् । ‘पढाउन थालेको तीन बर्ष भयो । सेवा सुविधा पुरानै छ । तलब कहिले बढ्ने हो थाहा छैन,’ उनले भनिन् ।

‘सानासाना बालबालिकालाई विद्यालय जान समस्या थियो । त्यहीँ भएर गाउँमा विद्यालय खुल्यो । हामी सबै खुसि भयौं । तर, अहिले विद्यालयको सबै खर्च उठाउनु परेको छ’सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रेमलाल बुढाले भने–‘सरकारले शिक्षकलाई तलब दियो भने पठनपाठन सहज हुने थियो ।’ ज्ञानकुञ्ज प्राथमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर बिकले भने–‘विद्यालय चलाउन धौं छ । पूर्वाधारको अभाव पनि छ ।’ यो विद्यालयमा ४७ जन विद्यार्थी भर्ना भएका छन । स्याउले खुट्टी, स्याउले खोला र बाघमारे नाकाबाट विद्यार्थी यहाँ पढ्न आउने गरेका छन ।

राजपुर गाउँपालिकामा ३२ ओटा सामुदायीक विद्यालय छन जसमध्ये ८ ओटा माध्यमिक, ३ ओटा आधारभूत र २१ ओटा प्राथमिक तहका विद्यालय छन् । सबै विद्यालयमा दरवन्दीको समस्या छ । ६ ओटामा त एउटा पनि दरबन्दी नभएको राजपुर गाउँपालिका शिक्षा शाखाका प्रमुख केशव लम्सालले बताए । ‘शिक्षक दरबन्दी मिलाउने प्रक्रिया सुरु भएको छ । गाउँपालिकाले शिक्षक राख्न विद्यालयलाई अनुदान समेत दिदै आएको छ’ उनले भने–‘गाउँपालिकाले उपलब्ध गराएको अनुदानबाट २४ जना शिक्षक राखिएको छ ।’ प्राथमिक विद्यालय, निम्न माध्यमिक तह र माध्यमिक तहका विद्यालयमा कार्यरत शिक्षकको तलब स्केल समेत तोकेर तलब दिईदै आएको गाउँपालिकाले जनाएको छ । प्रावि तहको शिक्षकलाई मासिक १२ हजार, निम्न माध्यमिक तहका शिक्षकलाई १३ हजार पाँच सय र माध्यमिक तहका शिक्षकलाई १६ हजार तलब खुवाउने गरिएको छ ।

सिमा रक्षक नाकावासी

कुनैबेला भारतीय सिमा सुरक्षा बल एसएसवीका जवानहरु नेपाली गाउँ पस्थे । थिचो मिचो सहनुपथ्र्याे । सिमामा बसेका नेपालीले एसएसबी संग एक्लै सामाना गर्नुपथ्र्याे । भारतबाट आउने गुण्डाहरुले सताउने गथ्र्ये । राजपुर गाउँपालिका वडा नं. ७ सुनपथरी नाका निवासी भिमबहादुर केसीलाई नेपाल भारतको दाङको सिमामा कहिले नेपाली सुरक्षाकर्मी आउलान भन्ने लागेको थियो । तर, अहिले सिमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी राखिएको छ । सिमा सुरक्षामा खटिएका नेपाल सशस्त्र प्रहरीले दैनिक गस्ती गर्छन् । सिमा स्तम्भको निगरानी गर्छन् । भारतीय सिमा सुरक्षा बलको सिमा सुरक्षामा उपस्थिती धेरै छ । अहिले त्यही अनुपातमा नेपाली सुरक्षा वल स्थापना हुदै गएको छ ।

सिमित ठाउँमा रहेको नेपाल सशस्त्र प्रहरीको सिमा प्रहरी चौकी अहिले ११ ठाउँमा विस्तारमा भैसकेको छ । कोइलावास, खांग्रा, भैंसाही, सुनपथरी, डगमारा, भौवा, मुसीनाका, गुरुङ्ग नाका, पटौली, भौरीसाल, खबरी नाकामा नेपाल सशस्त्र प्रहरी वलको विओपी (वोर्डर आउट पोष्ट) छ ।
सिमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको बढ्दो उपस्थितिले नाकावासीले सुरक्षाको अनुभुती गर्न पाएका छन् । ‘बास वस्नको लागी राम्रो ठाउँ छैन् । त्रिपाल मुनी बसेर भएपनि सिमा सुरक्षामा खटिनु भएको देख्दा वेग्लै खुसीको अनुभुती हुन्छ’भिमबहादुर केसीले भने–‘भोक प्यास, घाम, पानी नभनेर देशको सिमा सुरक्षाको लागी उहाँहरुको उपस्थितीले नाकावासीको छाती गौरवले चौडा भएको छ ।’ नेपाली सुरक्षाकर्मी नहुदा सिमा क्षेत्रको सुरक्षा नाका क्षेत्रमा वसोवास गर्ने नागरिकले गर्दै आएका थिए । ३१ ओटा नाका क्षेत्रमा १९ नाकामा सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्ने योजना रहेको छ ।

अध्यारोमा नाका

एक–दुई ओटा नाका बाहेक अन्य नाकामा विजुली पुग्न सकेको छैन् । अध्यारोमा वस्नुपर्ने बाध्यता छ । नेपाल सरकारले नाका क्षेत्रमा विद्युत विस्तारको योजना ल्याएपनी यो प्रभावकारी रुपमा अघी बढ्न सकेको छैन् । नेपाल विद्युत प्राधिकरण लमही शाखाले नाका क्षेत्रमा विद्युत विस्तारको योजना रहेको बताएपनि गढवा गाउँपालिका–८ को कोइलावास र मुसीनाकाबाहेक अरु नाका अहिले पनि अध्यारोमा छन । दाङको उत्तरी र दक्षिण भेगको विकट वस्तीमा अझैं विद्युतको सेवा पुग्न सकेको छैन् । भौगोलिक विकटताले गर्दा सडक सुविधा नपुग्दा विद्युत पुर्‍याउन मुस्किल परेको छ । नाका क्षेत्र र राजमार्ग देखी उत्तर तर्फको पहाडमा रहेका वस्तीमा विजुली पुर्‍याउन ठेक्का लगाइएको नेपाल विद्युत प्राविधिक लमही शाखाका प्रमुख पुष्पराज मल्लले बताए । ‘मुसीनाकामा पहिलो पल्ट विजुली पुग्यो । अव अन्य नाकामा पनि विजुली पुर्‍याउछौं’ उनले भने–‘कपिलवस्तु र बाँके संग जोडिएको दाङको सिमा क्षेत्रमा विजुली छैन् । त्यहाँ विजुली पुर्‍याउनेगरी हामीले काम अघी बढाएका छौं ।’

Sharing is caring!