सय विद्यार्थी नहुने ३७ विद्यालयमा

प्रेमबहादुर राम्जा २०७९ फागुन दाङ

दाङको पश्चिम क्षेत्रमा रहेका बबई, शान्तिनगर र दंगीशरणमा रहेका ८२ वटा सामुदायिक विद्यालयमध्ये ३७ वटामा सय विद्यार्थी पनि भर्ना भएका छैनन् ।

सहिद बसन्त लाङघाली प्राथमिक विद्यालयमा पुग्दा शिक्षक खिमा गाहा मगर दुईवटा कक्षाका विद्यार्थीलाई बहुकक्षा प्रणालीमार्फत् पढाउँदै हुनुहुन्थ्यो । शान्तिनगर–१ ज्यामिरेमा रहेको उक्त विद्यालयमा शिक्षक अभावका कारण बहुकक्षा प्रणालीमार्फत् अध्ययन गराउन थालेको धेरै भयो । कहिलेकाही कार्यालय सहयोगी भगवती चन्दले पनि कक्षामा गएर पढाउनुहुन्छ । कक्षा ३ सम्म पढाई हुने विद्यालयमा बालबिकाससहित तीन जना शिक्षक कार्यरत हुनुहुन्छ । विद्यालयका लागि थप एक जना कार्यालय सहयोगी राखिएको छ । शिशुदेखि कक्षा ३ सम्म पढाउनलाई कम्तीमा चार जना शिक्षक आवश्यक पर्छ ।

विद्यालयका लागि आवश्यक मात्रामा शिक्षक नभएपछि बहुकक्षा चलाउनु परेको हो । उक्त विद्यालयमा शिशुदेखि कक्षा ३ सम्म ३६ जना विद्यार्थी छन् । त्यही पनि नियमित रुपमा २०–२५ जना मात्रै आउँछन् । विद्यालयका प्रधानाध्यापक झग्गु बहादुर वलीका अनुसार विद्यार्थी कम हुने समस्याका साथै शिक्षक अभाव भएपछि बहुकक्षा चलाउनु परेको हो । उक्त विद्यालयमा एक जना दरबन्दी, एक जना अनुदान, एक जना बालबिकास र एक जना कार्यालय सहयोगी कार्यरत छन् । स्थानीय आफैले जागरुक भएर २०६६ सालमा स्थापना गरेको उक्त विद्यालयका दुईवटा भवन, एउटा शौचालय तथा फिल्ड रहेको छ ।

बबई–४ मा रहेको लोकतान्त्रिक प्राथमिक विद्यालयमा पनि ५५ जना मात्रै विद्यार्थी छन् । एकै दिनमा सबै विद्यार्थी पढ्न आउँदैनन् । विद्यालयकी प्रधानाध्यापक तिलाकुमारी वलीका अनुसार दैनिक सरदर ३०–३५ जना विद्यार्थी पढ्न आउँछन् । विद्यालयका प्रधानाध्यापक वलीले सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण घटेको बताइन् । संस्थागत विद्यालयमा पढाई हुने विश्वास र पैसा खर्च गरेर पढाई राम्रो हुने मानसिकताले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा रहेको प्रधानाध्यापक वलीको भनाई छ । यद्यपी सामुदायिक विद्यालयमा पढाई पनि राम्रो हुने गरेको प्रधानाध्यापक वलीको दाबी छ । ‘हाम्रो कुरा कसले पत्याउने ?’, प्रधानाध्यापक वलीले प्रश्न गर्नुभयो ।

सरकारले विद्यालयका लागि भवन निर्माण गरेको छ, शौचालय पनि छ । पानी पिउनका लागि ट्यांकी पनि निर्माण गरेको बबई गाउँपालिका ४ का वडाध्यक्ष टेकबहादुर वलीले भन्नुभयो । उक्त बिद्यालयमा २ राहात, २ बालबिकास, १ नीजि र १ कार्यालय सहयोगी कार्यरत छन् । विद्यालय टाढा भएपछि स्थानीयको पहलमा २०६४ सालमा विद्यालय स्थापना भएको थियो । आफैले स्थापना गरेको विद्यालयप्रति अभिभावकको चासो कम हुन थालेको देखिन्छ ।

यस्तै दंगीशरण ७ सिम्ठानीमा रहेको रात्री प्राथमिक विद्यालयमा यस बर्ष १८ जना मात्रै विद्यार्थी भर्ना भएका छन् । शिशुदेखि कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा कक्षा ३ मा एउटा विद्यार्थी पनि भर्ना भएका छैनन् । कक्षा १ मा भर्ना भएका भनिएका एक जना विद्यार्थी पनि बुवाआमा कमाउन पोखरा गएपछि उतै गएको विद्यालयका प्रधानाध्यापक नारायणी न्यौपानेले बताउनुभयो । गतबर्ष उक्त विद्यालयमा शिशु कक्षामा १३ जना विद्यार्थी भर्ना भएका थिए । शिशु कक्षामा पढेका सबै विद्यार्थी यसबर्ष उक्त विद्यालय भर्ना भएनन् । उनीहरु सबै नीजि विद्यालयमा भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ ।

उक्त विद्यालयमा एक जना राहात, एक जना बालबिकास र एक जना नीजि स्रोतबाट शिक्षकको ब्यवस्था गरिएको छ । विद्यार्थी कम भएपछि केही महिनाअघि दरबन्दीमा रहेका शिक्षक टेकबहादुर हमाललाई सरुवा गरिएको छ । जिल्लाका पश्चिम क्षेत्रमा रहेका बबई, शान्तिनगर र दंगीशरणमा रहेका यी तीन विद्यालयबाहेक अन्य ३७ वटा विद्यालयमा पनि एक सयभन्दा कम विद्यार्थी भर्ना भएका छन् (हेर्नुस् तालिका ) । तीन स्थानीय तहमा रहेका ८२ वटा सामुदायिक विद्यालयमध्ये ३७ वटामा सय विद्यार्थी पनि भर्ना नभएको पाइएको हो ।

शैक्षिक सत्रको सुरुमा हुने विद्यार्थी भर्ना अभियानको क्रममा अभिभावकको ध्यान तान्न नसक्नु, सस्थागत विद्यालयमा आकर्षण बढ्नु र भौगोलिक कारणले ती विद्यालयमा विद्यार्थी भर्ना कम भएको हो । सरकारले शिक्षाका लागि बार्षिक रुपमा करोडौँ रुपैया खर्च गरेपनि विद्यार्थी र अभिभावकको आकर्षण हुन छोडेको छ । दंगीशरण ७ का स्थानीय भुपबहादुर खड्काले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले दक्षता र क्षमता प्रस्तुत नगर्दा विद्यार्थी र अभिभावकको ध्यान तान्न नसकेको बताउनुभयो । ‘विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सवाल शिक्षकको हो समुदायले विद्यार्थी दिएर मात्रै भएन उनीहरुको कमजोरी छ’, खड्काले भन्नुभयो ।

शान्तिनगर गाउँपालिकामा सयभन्दा कम विद्यार्थी रहेका विद्यालयको संख्या १५ रहेको छ । शान्तिनगर गाउँपालिकामा ३३ सामुदायिक विद्यालय रहेका छन् । सयभन्दा कम विद्यार्थी भएका शान्तिनगरका विद्यालय सबै प्राथमिक तहका हुन् । दंगीशरण गाउँपालिकामा एक सयभन्दा कम विद्यार्थी भर्ना भएको विद्यालयको संख्या ५वरहेको छ । यस्तै बबई गाउँपालिकामा कम विद्यार्थी भर्ना हुने विद्यालयको संख्या सबैभन्दा धेरै रहेको छ । बबई गाउँपालिमा रहेका ३४ सामुदायिक विद्यालयमध्ये २० वटा विद्यालयमा सयभन्दा कम विद्यार्थी भर्ना भएको पाइएको छ ।

तालिका १ः शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाका कम विद्यार्थी भएका विद्यालय

शान्तिनगर गाउँपालिका

विद्यालयको नामविद्यार्थी संख्याविद्यालयको नामविद्यार्थी संख्या
सहिद बसन्त लाङघाली प्राथमिक विद्यालय३६मदरसा जयलुम अमुवा२९
शिव प्राबि सिमराती पोखरी३९सरस्वती आधारभूत विद्यालय बाघखोर९५
प्राथमिक विद्यालय चापीकोटरात्री प्राथमिक विद्यालय रगैजा६६
राधाकृष्ण प्राथमिक विद्यालय खैरेनी१५आधारभूत विद्यालय सुन्डवरी८८
जनशक्ति प्राथमिक विद्यालय हात्तीखाल बैशा८८प्राथमिक विद्यालय बाघखोर१६
प्राथमिक विद्यालय केराघारा७१जनता प्राथमिक विद्यालय भलानेटी९७
सरस्वती आधारभूत विद्यालय जुम्लेकुला७२आधारभूत विद्यालय बस्तीखोला७१

बबई गाउँपालिका

विद्यालयको नामविद्यार्थी संख्याविद्यालयको नामविद्यार्थी संख्या
जनकल्याण प्राथमिक विद्यालय राताचौर४७सरस्वती प्राथमिक विद्यालय जलजलाf३५
शिबशक्ति प्राथमिक विद्यालय कालीतरा१३जनज्योति प्राथमिक विद्यालय ओदाले]@!
प्रगतिशील प्राथमिक विद्यालय पुर्ब हापुरे९५सुर्यज्योति प्राथमिक विद्यालय बुटकेवा१३
बबई प्राथमिक विद्यालय धोबाघाट२५जनविकास प्राथमिक विद्यालय घट्टेखोला७३
लोकतान्त्रिक प्राथमिक कञ्चनपुर५७लक्ष्मी प्राथमिक विद्यालय कप्ताने७७
देउराली प्राथमिक विद्यालय बञ्चरे१७शिद्धि गणेश प्राथमिक विद्यालय सुन्दरखाल७०
लक्ष्मीजन प्राथमिक विद्यालय सुपारे२३जनशक्ति प्राथमिक विद्यालय बिजयनेटा६०
सुर्य बालकल्याण  प्राथमिक विद्यालय पातीहाल्ना६४  नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सितापुर८२
लोक कल्याणकारी प्राथमिक विद्यालय अम्रैखुटी७४जनज्योति प्राथमिक विद्यालय खयरभट्टी८०
सिर्जनशील प्राथमिक विद्यालय क्यूरेनी२९  

दंगीशरण गाउँपालिका

विद्यालयको नामविद्यार्थी संख्याविद्यालयको नामविद्यार्थी संख्या
प्राथमिक विद्यालय मलईखोलामा२१   सरस्वती प्राथमिक विद्यालय मिरौलीमा२२
श्री रात्री आधारभुत विद्यालय बैबाङमा४५ज्ञानज्योति प्राथमिक विद्यालय खलुवाचिसमा५४

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन तथा अभिभावकलाई आकर्षण गर्न बार्षिक रुपमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । हरेक बर्ष विद्यार्थी बढ्नुको सट्टा घट्दो अवस्थामा पुगेका छन् । ती कार्यक्रमले अभिभावकलाई आकर्षण गर्न नसकेको देखिएको छ ।
तल्लो तहमा पढाई सुधार गर्न र विद्यार्थीलाई आकर्षण गर्नका लागि खाजा कार्यक्रम तथा छात्रबृत्तिका कार्यक्रमले समेत आकर्षण गर्न सकेका छैनन् जसले गर्दा अभिभावकले आफै शुल्क तिरेर संस्थागत विद्यालयमा सन्तानलाई पढ्न पठाउँछन् ।

बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले स्थानीय सरकारलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्न नसकेको बताउनुभयो । ‘स्थानीय तहलाई शिक्षक दरबन्दी सिर्जना गर्नेदेखि सरुवा÷बढुवासम्मको अधिकार प्रत्योजन गर्नुपर्छ’, अध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘एउटा शिक्षक सरुवा गर्दा हात जोडेर पठाउनुपर्छ अनि गुणस्तरिय शिक्षा प्रदान कसरी गर्न सकिन्छ ?’ अध्यक्ष क्षेत्रीले स्थानीय तहलाई शिक्षकको तलबभत्ता खुवाउने माध्यम मात्रै बनाएको गुनासो गर्नुभयो । ‘स्थानीय सरकारलाई कक्षा १२ सम्मका विद्यालयको अनुगमन तथा निरिक्षण र व्यवस्थापनको जिम्मा छ भन्नु मात्रै छ’, अध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘हामीले भनेको कसैले टेर्दैन । यस्तो अवस्थामा स्थानीय सरकारले शिक्षाको आमुल परिवर्तन कसरी गर्छ ।’ व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेको बबई गाउँपालिकाले चाहेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा सफल हुन नसकेको अध्यक्ष क्षेत्रीले स्वीकार गर्नुभयो ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले विद्यार्थी अनुपातमा शिक्षकको सरुवा गर्ने र शैक्षिक सुधारका लागि प्रयास गरिरहेको बताउनुभयो । कतै धेरै शिक्षक हुने तर विद्यार्थी नहुने, कतै बिद्यार्थी धेरै नहुने शिक्षक थोरै हुने समस्यालाई समाधान गरेर विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी मिलान गरिरहेको अध्यक्ष गिरीले बताउनुभयो ।

शिक्षकको सरुवा गर्नका लागि विद्यालय व्यवस्थापन समितिको सहमति तथा शिक्षकको समेत मञ्जुरी हुनुपर्ने बाध्यता रहेको अध्यक्ष गिरीले स्वीकार गर्नुभयो । यस्ता कानूनी जटिलतालाई समाधान गरेर जसरी भए पनि स्थानीय सरकारले शैक्षिक सुधार गर्न सक्नुपर्ने बताउनुभयो । यसका लागि शिक्षा युवा तथा खेलकुद शाखामार्फत् योजना निर्माण गरेर समस्यालाई समाधान गरी गुणस्तरिय शिक्षाका लागि प्रयास जारी रहेको बताउनुभयो ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले शैक्षिक सुधारका लागि प्राथमिक तहदेखि माध्यामिक तहसम्मका विद्यालयमा ईलेक्ट्रोनिक हाजिरीको व्यवस्था तथा भौतिक संरचना निर्माणमा ध्यान दिएको बताउनुभयो । समयमै शिक्षक विद्यालय गए।नगएको जानकारी लिनलाई ईलेक्ट्रोनिक हाजिरको व्यवस्था गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । शान्तिनगरमा रहेका सामुदायिक विद्यालयमा नियमित तथा छड्के अनुगमन गर्ने गरेको समेत अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । पालिकाभित्र केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि चाप समेत रहेको अध्यक्ष बस्नेतको भनाई छ ।

यता शिक्षा मन्त्रालयका पुर्वसहसचिव तथा शिक्षाविद् डा. बिष्णुकुमार देवकोटा राज्यलाई दोष थुपारेर मात्रै नहुने बताउनुहुन्छ । शिक्षामा राज्यको लगानी धेरै हुने भन्दै पुर्व सहसचिव डा. देवकोटाले शिक्षकको लगनशीलतामा नै गुणस्तरिय शिक्षा भर पर्ने बताउनुभयो । ‘राज्यले अघि सारेका कार्यक्रमलाई प्रभावकारी बनाउने जिम्मेवारी शिक्षक साथीहरूको हो’, डा. देबकोटाले भन्नुभयो, ‘विद्यालयमा विद्यार्थीलाई आकर्षण गरेर गुणस्तरिय शिक्षा प्रदान गर्ने जिम्मेवारी पनि शिक्षक साथीहरूकै हो ।’

Sharing is caring!