सुविधा पुग्दै छ, बसाई सर्दै छ

प्रेमनारायण आचार्य २०७९ माघ सन्धिखर्क

लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा गाउँगाउँमा विकास पुग्दै छ । साविकका ४२ वटै गाविसका अधिकांश घरमा २०६३ सालमै मोटरबाटो पुगेको थियो । पुनःसंचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै ६१ वटा वडामा मोटरबाटो पुगेको छ । अधिकांश ठाउँमा बिजुली पनि पुगेको छ । खानेपानीका धारा घरघरमा पुगेका छन् । टेलिफोन टावर पुगेका छन् । गाउँ गाउँमा विद्यालय बनेका छन् । सबै वडामा स्वास्थ्य चौकी समेत बनेका छन् । तर मानिसहरू धमाधम बसाइ सर्दै छन् ।

गाउँका अधिकांश घर खाली छन् । मानिस भएका घरमा पनि १६ बर्ष देखि ५० बर्ष सम्मका मानिस फाट्टफुट्ट मात्र छन् । कोही बसाइँसराइको कागजपत्र बनाएर बसाई सरेका छन् भने कोही नबनाइकनै । २०७७ साल बैशाख देखि चैत मसान्त सम्ममा जिल्लाका तीन नगरपालिका र तीन गाउँ पालिकाबाट आठ सय १८ घर परिवार बसाई सरे । २०७८ सालमा अघिल्लो वर्षभन्दा झण्डै ६२ प्रतिशत बढी घर परिबार बसाई सरे । २०७९ साल बैशाखदेखि मंसिर मसान्त सम्ममा १६ सय २ घरधुरी बसाई सरिसके ।

बसाई सर्नेमा सबैभन्दा बढी मालारानी गाउँपालिकाका रहेका छन् । सो गाउँपालिकाको पञ्जिकरण शाखाका अनुसार बितेका ३२ महिनामा सो गाउँपालिकाबाट मात्रै ११ सय २४ घर परिबार बसाई सरे । सोही अवधिमा अन्य ठाउँबाट १९० परिवार मात्र मालारानीमा बसाई आए । अन्य पालिकाको तुलनामा सन्धिखर्कबाट बसाइँसराइ गर्ने सबैभन्दा थोरै छन् । सन्धिखर्कबाट विगतका ३२ महिनामा तीन सय ३० घरपरिबार बसाइँसराइ गरेर गएको सन्धिखर्क नगरपालिकाको पञ्जिकरण शाखाका कम्प्यूटर अपरेटर शालिकराम नेपालीले बताए । सो अवधिमा १७८ घरपरिवार अन्यत्रबाट बसाइँ आए ।

बितेका ३२ महिनामा शितगंगा नगरपालिकाबाट आठ सय ९७ घरपरिबार बाहिरिएको र दुई सय १५ घरपरिवार भित्रिएको शितगंगा नगरपालिकाका पञ्जिकरण शाखामा कार्यरत कम्प्यूटर अपरेटर धर्म बन्जाडेले बताए । भुमिकास्थान नगरपालिकाबाट तीन सय ४१ घर परिवारका १३ सय ७७ जना व्यक्तिहरू बर्साँसराइ गरेर अन्यत्र गएको नगरपालिकाका कर्मचारी चिरन भुसालले बताए । पाणिनी गाउँपालिकाबाट चार सय ३६ घरपरिबार बसाइँसराइ गरेर गएको र ४३ घरपरिवार अन्यत्रबाट बसाइँसराइ गरेर पाणिनी गाउँपालिकामा भित्रिएको पाणिनी गाउँपालिकाका कम्प्यूटर अपरेटर माधव घिमिरेले बताएका छन् ।

राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाको अर्घाखाँचीको कूल जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो जसमध्ये पुरुष जनसंख्या ८६ हजार २ सय ६६ र महिला जनसंख्या १ लाख ११ हजार ३ सय ६६ जना थिए । २०७८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या घटेर १ लाख ७२ हजार भएको छ ।

अर्घाखाँचीको बसाइँसराइ अवस्था
बर्ष आउने    जाने
२०७७१०८८१८
२०७८    ३६०१,३२३
२०७९ मंसिर मसान्तसम्म    २५७१,६०२
जम्मा७२५,७४३

स्थानीय, प्रदेश तथा संघका सबै निर्वाचनमा राजनीतिक दलहरूले जिल्लाको बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए पनि लागू हुन नसकेको गुनासो स्थानीय युवाहरूले गरेका छन् । निर्वाचनमा युवाहरूलाई गाउँमै स्वरोजगार बनाउने खालका राम्राराम्रा नारा दिएपनि युवाहरू अहिले रोजगारीको लागि शहरबजार तथा विदेशमा जान बाध्य भएका छन् । अधिकांश मानिसहरू शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसाइँसराइ गर्ने गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।

सुपा देउराली, अर्घा भगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, छत्र महाराज, मालारानी, नसिँह स्थान, सिद्धेश्वर शिवालय लगायतका ठाउँमा पर्यटनको सम्भावना भए पनि प्रचारप्रसार र रोजगारी बढाउने योजना बनेको छैन । अर्घाखाँचीका ६ वटै पालिका बसाइँसराइलाई कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदे वाली लगायतलाई प्राथमिकता दिनुपर्छ । विभिन्न आयआर्जनसँग सम्बन्धित व्यवसायलाई प्रोत्साहन दिँदै यस क्षेत्रमा रहेको प्राकृतिक स्रोत र साधनको उचित व्यवस्थापन एवम प्रयोग गरी विकासका पूर्वाधारमा दिगो विकासको नीतिअनुरूप काम गर्ने वातावरण बनाउनुपर्छ ।

जिल्लाका वेरोजगार युवालाई रोजगारी सिर्जना गर्न कृषि, पशुपालन, पर्यटन उद्योग स्थापनाका साथै सीपमूलक तालिम सञ्चालन गर्नुपर्छ । त्यसो हुन सकेमा रोजगारीका अवसर सिर्जना हुने मात्र नभई जिल्लाको चौतर्फी विकासमा सहयोग पुग्छ । बसाइँसराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा पनि बसाइँ सर्ने बढेका छन् । साथै बढ्दो सहरीकरण, सेवासुविधाको उपलब्धता, अर्थतन्त्रको क्रमिक संरचनात्मक परिवर्तन, सुरक्षा लगायत विविध कारणले आन्तरिक बसाइँसराइको मात्र बढ्दै गएको छ । अर्घाखाँची विदेशबाट पैसा आउने जिल्लामध्ये अग्रपंक्तिमा आउँछ । तर त्यो पैसा उत्पादनशिल क्षेत्रमा लगाउने वातावरण नहुदा श्रम वेच्ने मानिस उत्पादन गर्ने काम मात्र भैरहेको छ ।

अर्घाखाँचीबाट झण्डै ४५ हजार युवा तथा युवतीहरू भारत, कतार मलेसिया, साउदी अरब, दुबई लगायतका देश गएका छन् । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले गरेको अनौपचारिक सर्भेक्षण अनुसार जिल्लामा भित्रिएको रेमिटान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ । केहि गर्ने खालको युवा जनशक्तिलाई अर्काको देश पठाएर आएको पैसाको सदुपयोग गर्ने खालको योजना कुनै पनि पालिकाको छैन । स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिटान्सको पैसा बाहिर जाने गरेको छ ।

वार्षिक झण्डै साढे सात अरब रुपैया अर्घाखाँची भित्रने गरेको छ । त्यस मध्ये तीन अर्ब अर्थात ४० प्रतिशत रकम दैनिक उपभोग्य सामाग्री, खानपान, मोटर साइकल, कार, इन्धन, लत्ताकपडा, मोवाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ । ४० प्रतिशत रकम अर्थात ३ अर्ब उत्पादन नहुने क्षेत्र अर्थात घडेरी र घरमा खर्च हुने गरेको देखिएको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए । उनका अनुसार जिल्ला सदरमुकाम, कपिलबस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र कठमाण्डौंमा घर घडेरी किन्नेमा खर्च भएको छ । बाँकी रहेको २० प्रतिशत रकम मात्र कृषि फर्म, साना होटल, किराना पसल र ट्याक्सी तथा वस जस्ता उत्पादनशिल क्षेत्रमा खर्च भईरहेको छ । तर तिनीहरूले पनि बीचैमा व्ववसाय छाडने गरेका छन् ।

गाउँका अधिकांश बारी तथा खेत बाजै छन् । सबै घरमा बृद्धबृद्धा मात्र छन् । अधिकांश श्रीमानहरू रोजगारीको लागि विदेश र श्रीमतीहरू छोराछोरी पढाउन भनेर सहर झरेका छन् । गाँउका घर अहिले बृद्ध आश्रममा परिणत भएका छन् । तर पनि गाउँका बजा जमिन जोत्ने र उत्पादन बढाउने खालका योजना स्थानीय सरकारले प्रभावकारी रुपमा सञ्चालन गर्न सकेका छैनन ।

Sharing is caring!