स्थानीय तहको प्रमुखमा प्रतिस्पर्धा गर्दा पाँच वर्षअघि गरेका प्रतिवद्धताहरू अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेका छैनन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका भित्रका सडकहरू ५ वर्ष अगाडि बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुन्थ्यो । ती सडकहरूको अवस्था आज पनि खासै परिवर्तन छैन । खाल्डाखुल्डी उस्तै, जसले गर्दा यात्रुहरूको यात्रा निकै कष्टकर हुने गरेको छ । गत स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित भएका शिवराज सुवेदीले नगर क्षेत्रका सबै सडकहरू धूवाँ धूलो, हिलो र मैलोमुक्त सहरको रुपमा व्यवस्थापन गरिने तथा आधुनिक उपकरणहरूको प्रयोगद्वारा दैनिक रुपमा सफाइ गरिने घोषणा गरेका थिए । तर, सुवेदीको कार्यकाल सकिनै लाग्दा ती घोषणाहरू कार्यान्वयन हुन सकेका छैनन् ।
राजमार्ग चौराहदेखि गोलपार्कसम्म यात्रा गर्दा यात्रुले दिनहुँ सास्ती खेप्न बाध्य छन् । तर, उपमहानगरले सडक निर्माण आफ्नो मातहत नभएको भन्दै पन्छिने र माथिल्लो तहको सरकारलाई देखाउने गरेको छ । आफू मातहत नभएपनि उसले माथिल्लो निकायमा प्रभावकारी तरिकाले घच्घच्याउन सकेको छैन । सडक निर्माण नभएको विषय पुरानो भइसकेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । ‘पहिलोपटक निर्माण गर्ने योजना पर्दा मुद्दा बनाएर काम रोकियो,’ उनले भने, ‘मुद्दा मिलेपछि आयोजनाको म्याद सकियो, म्याद थपेर पुनः निर्माण हुदैंछ, यसैमा पनि ठेकेदारले ढिलासुस्ती गरिदिएको छ ।’ यो सडक निर्माणको जिम्मा केन्द्रीय सरकारकै भएकाले उपमहानगरपालिकाको तर्फबाट नागरिकमा गुनासाका डेलिगेसन जाने, सडक विभागसँग छलफल गर्ने काम जारी रहेको पनि उनले बताए । ‘बनाउन बाँकी सडक २ किलोमिटर पनि छैन होला,’ उनले भने, ‘हामीलाई बनाउने अधिकार छैन, अधिकार भएकाले बेलैमा गरिदिएका छैनन् ।’ स्थानीयस्तरको सरकार भएकामा नागरिकले गर्ने गुनासा र नकारात्मक व्याख्या सुन्ने तथा सडक डिभिजनसँग सम्पन्न गर्नुप¥यो भनी गुहार माग्नेबाहेक अरु केही गर्न नसक्ने उनले बताए । रेग्मीले सडक विभाग एवं ठेकेदारको काम सहज बनाउन उपमहानगरले ट्यांकर नै खटाई हरेक दिन पानी हालेर धूलो पखाल्ने काम गरिरहेको बताए ।
उपमहानगर प्रमुख सुवेदीले घोषणापत्रमा भनिएको जस्तो धूलो सफा गर्न आधुनिक उपकरणको प्रयोग कागजमै सीमित भएको छ । घोषणापत्रमा उल्लेख भएका बुटवलको चक्रपथ निर्माण, पुरानो बुटवलको विकासमा केही काम सुरु भएपनि पूर्णता पाउन सकेको छैन । कालिगण्डकी तिनाउ डाइभर्सन ५ वर्षभित्र निर्माण सम्पन्न गर्न पहल गर्ने सुवेदीको योजना पनि पूरा हुन सकेको छैन । सुवेदीले बुटवल उपमहानगरपालिकालाई आधुनिक र स्मार्ट सिटीका रुपमा विकास गर्ने घोषणा समेत गरेका थिए । तर, बुटवलको सडकको अस्तव्यस्तताले घोषणापत्रको नै खिल्ली उडाईरहेको छ । साथै मोतिपुर र सेमलार क्षेत्रलाई स्याटलाइट सिटीको रुपमा विकास गरिने पनि घोषणापत्रमा उल्लेख छ । सुवेदीले आफूले गरेका वाचा कार्यान्वयन गर्न नसक्दा स्याटलाइट सिटीको योजना पनि नारामै सीमित बनेको छ ( विस्तृत विवरणको लागि हेर्नुस तालिका १) ।
तालिका नं. १, बुटवल मेयरको घोषणा पत्र र नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयन अवस्था
क्र.सं. | घोषणा पत्र | नीति तथा कार्यक्रम | कार्यान्वयनको अवस्था |
१. | वृद्धवृद्धा बिरामीको स्याहार सुसार गर्न हस्पिक केयर सेन्टर स्थापना । जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि जेरियाटिक अस्पतालको स्थापना गरिने । | उल्लेख नभएको | शून्य |
२. | फोहोरको उपयुक्त विर्सजन स्थलको सम्भाव्यता अध्ययन गरी १ वर्षभित्र व्यवस्थापन गरिने । | फोहोर व्यवस्थापन तथा सरसफाई कार्यमा सार्वजनिक निजी साझेदारी, समुदायमा आधारित, सशुल्क फोहोर व्यवस्थापनको नीतिलाई निरन्तरता दिंदै वडागत रुपमा एकीकृत व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाईने । | फोहोर व्यवस्थापनको वैकल्पिक व्यवस्था नहुँदा हप्तौंसम्म सडकमै फोहोर थुप्रिने गरेको जसका कारण शहर दुर्गन्धित भएको । |
३. | माध्यामिक तहसम्मको शिक्षा निशुल्क गरिने । | उल्लेख नभएको | शून्य |
४. | तिनाउ नदीलाई ढल तथा फोहोर मुक्त र स्वच्छ बनाईने । | उल्लेख नभएको | तिनाउ नदी किनार डम्पिङ्ग साइटको रुपमा सञ्चालित । |
५. | हालको लुम्बिनी बस टर्मिनललाई नगर बस टर्मिनलका रुपमा व्यवस्थित गरिने र उपयुक्त स्थान पहिचान गरी अत्याधुनिक प्रादेशिक बस टर्मिनल निर्माण गरिने | अत्याधुनिक क्षेत्रीय बस पार्क तथा ट्रक पार्किङ्ग क्षेत्रको पहिचान, जग्गा प्राप्ति र सम्भाव्यता अध्ययनसहित कार्यान्वयन प्रक्रिया अघि बढाईने । | शून्य |
सुवेदीले सिद्धबाबा, तिनाउ पुल र मगरघाट क्षेत्रमा जल पर्यटनको विकास गर्ने, विद्युत तथा टेलिफोन तारलाई भूमिगत प्रणाली अवलम्बन गर्ने, मोतीपुर र सेमलार क्षेत्रमा एक एक वटा आधुनिक कोल्ड स्टोर स्थापना, बुटवलमा नगरभित्र निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, दुर्घटनाका घाइतेको उपचारका लागि ट्रमा सेन्टरको स्थापना गर्ने लगायत प्रतिबद्धता कागजमै सीमित छन् । बुटवलका सुख्खानगर, दीपनगर लगायत क्षेत्रमा सुख्खायाममा हुने खानेपानीको समस्या समाधानका लागि झूम्साखोला खानेपानी आयोजनाले गति लिन सकेको छैन जुन एक दशक अघिदेखि सुरु भएको हो ।
सुवेदीले एक वर्षभित्र फोहरमैला प्रशोधन केन्द्र निर्माण गरी मलसमेत उत्पादन गर्ने विषय घोषणा पत्रमा समावेश गरेका थिए । एशियाली विकास बैंक एडीबीको आर्थिक सहयोगमा शिवपुर सामुदायिक वनको क्षेत्रमा फोहर व्यवस्थापन केन्द्र निर्माण प्रक्रिया अघि बढेपनि स्थानीयको विरोधका कारण असफल हुन पुग्यो । अहिले बुटवलले सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँग मिलेर फोहरमैला प्रशोधन केन्द्र बनाउने योजना अघि सारेको छ । घोषणा पत्रमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित घर तथा संरचना बनाउनुपर्ने तर त्यसको लागि उपमहानगरले निशुल्क प्राविधिक सहयोग उपलब्ध गराइने लेखिएको छ । उपमहानगरले नै प्राविधिक सहयोग उपलब्ध गराएपनि शुल्क लिने गरेको छ । उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मी घोषणापत्रमा उल्लेख भएकामध्ये ७५ प्रतिशत काम कार्यान्वयन भएको दाबी गर्छन् । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले घोषणा पत्रमा भनिएका वाचा पूरा गर्नेभन्दा पनि अनावश्यक विषयमा बढी केन्द्रित देखिएको बताए । बुटवलको मुख्य समस्याको रुपमा रहेको सुकुम्बासी समस्या विद्यमान नै छ । प्रत्येक वडामा एउटा खेल मैदान, सार्वजनिक स्थानमा फ्रि वाइफाई जोन जस्ता कार्यक्रम आशिंक रुपमा मात्रै कार्यान्वयन भएका छन् ।
आधार तयार पार्दै तिलोत्तमा
स्थानीय तहको कार्यसम्पादनको आधारमा दुई पटकसम्म उत्कृष्ट भएको तिलोत्तमा नगरपालिकाले सबै नगरबासीलाई निशुल्क रुपमा स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने घोषणा पत्रमा उल्लेख गरिएपनि यो विषय अपेक्षित रुपमा अघि बढ्न नसकेको नगर प्रमुख बासुदेव घिमिरे स्वीकार्छन् । गत स्थानीय निर्वाचनमा सबै नगरबासीको निशुल्क स्वास्थ्य बीमा गराउने घोषणा गरेपनि ५ वर्षको अवधिमा जम्मा ३५ प्रतिशत जनतामा मात्र निशुल्क स्वास्थ्य बीमाको पहुँच पुगेको छ । अघिल्लो वर्षमात्र यो सार्वजनिक भएकाले समय अभावका कारण सबै नागरिकलाई यसमा समेटन नसकिएको घिमिरेको भनाई छ ।
तिलोत्तमा नेपालकै पहिलो डिजिटल नगरपालिकाको रुपमा रुपान्तरण हुने चरणमा रहेको नगर प्रमुख घिमिरे बताउँछन् । नगरलाई पूर्ण रुपमा स्याटलाइट सिटीको रुपमा विकास गर्न अझै समय लाग्ने भन्दै उनले त्यसका लागि कामहरू सुरु गरिसकेको बताए । पालिकाभित्रका सबै घरको तथ्याङक परीक्षण गरी जीपीएसको माध्यमबाट नगरपालिकाले नै पत्ता लगाउन मिल्ने गरी प्रणालीको विकास गरेको उनको भनाई छ । ‘नगरपालिकाका हरेक सेवालाई अनलाईनको माध्यमबाट भुक्तानी दिन मिल्ने गरी पेपरलेस र क्यासलेस नगरपालिकाका रुपमा विकास गरेका छौं,’ उनले भने, ‘पूर्ण रुपमा स्याटलाइट सिटी बनाउन समय लाग्छ तर त्यसका लागि हामीले आधारहरू तयार गरिसकेका छौं ।’
नगरभित्रका प्राकृतिक स्रोतको दोहन नियन्त्रणका लागि आफूले उल्लेख्य काम गरेको घिमिरेको दावी छ । विगतमाभन्दा अहिले नदीजन्य पदार्थ दोहन कम भएपनि त्यो सन्तोषजनक नभएको भन्दै उनले यसलाई थप वैधानिक बनाउन बाँकी रहेको बताए । ‘हामीले नदीजन्य पदार्थहरूको दोहन नियन्त्रण गरेका छौं जसको कारणले गर्दा नदीजन्य पदार्थबाट प्राप्त हुने राजश्व पनि वृद्धि भएको छ,’ उनले भने, ‘त्यसका लागि व्यवस्थित समिति निर्माण गरेर रेखदेख गर्न स्थानीयलाई जिम्मा दिएका छौं ।’
सडक बालबालिकाको उद्धार गरी उचित व्यवस्थापका लागि नगरपालिकाले सहयोग गर्दै आएको घिमिरेको भनाई छ । नगरपालिकाले ३ वटा अनाथालय पनि स्थापना गरेको छ । नगर प्रमुख घिमिरेले गत निर्वाचनका बेला रोहिणी सिंचाई योजनालाई बहुउद्देश्यीय परियोजनाका रुपमा विकास गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउने घोषणा गरेपनि त्यो पूरा हुन सकेको छैन । सो आयोजना निर्माणका लागि संघीय सरकारले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा केही अस्पष्टता देखिएका कारण काममा ढिलाई उनको भनाई छ । साथै गत वर्षको बाढीले केही गाउँ डुबानमा परेकाले सो परियोजनाको डिपीआर पुनः संशोधन गर्नका लागि केन्द्रमा सिफारिस गरिएको उनले जानकारी दिए । ‘डिपीआर संशोधन गर्नुपर्छ भनेर हामीले केन्द्रमा सिफारिस गरेका छौं,’ उनले भने, ‘संघीय सरकारले तत्काल संशोधन गरी आयोजनाका लागि बजेट स्वीकृत गरेको खण्डमा करिब एक वर्षभित्र त्यसले पूर्णता पाउनेछ ।’ रोहिणी सिंचाई आयोजनाको ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भईसकेको घिमिरेको दावी छ ।
तालिका २ ः तिलोत्तामा नगरपालिकाका प्रमुखको घोषणा पत्र र नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयन अवस्था
क्र.सं. | घोषणा पत्र | नीति तथा कार्यक्रम | कार्यान्वयन |
१. | भलबारीस्थित नेपाल आयल निमगको डिपोलाई सुरक्षाका दृष्टिले त्यहाँ राख्न उपयुक्त नभएकाले अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गरी त्यहाँ रहेको जग्गालाई आवश्यकता अनुसार जनसेवाको उपयोगमा ल्याइने । | उल्लेख नभएको । | शून्य । |
२ | लामो तथा छोटो दूरीका बस लगायत यातायातका अन्य साधनको उचित व्यवस्थापन गर्न उपयुक्त ठाउँमा अत्याधुनिक सुविधासहितको बसपार्क निर्माण गरिने । | नगरपालिका क्षेत्रभित्र बसपार्क, रिक्सा, टाँगा र ट्रक आदिको पार्किङ्ग व्यवस्था गर्ने र गराउने । | विस्तृत परियोजना प्रतिवेदन डिपीआर निर्माण गरिएको । |
३ | नेपाल विद्युत प्राधिकरणको समन्वयमा घनावस्तीबाट गएको विद्युत हाइटेन्सन लाइनको खतरालाई दृष्टिगत गरी वैकल्पिक व्यवस्था अन्तर्गत यस्ता लाइनलाई भूमिगत गराउन पहल गरिने । | उल्लेख नभएको । | शून्य । |
३ | आगामी ५ वर्षभित्र वडाका उपयुक्त स्थानमा गुरुयोजना बमोजिमका स्याटेलाइट सिटीको पूर्वाधार तयार गरिने । छरिएका वस्तीलाई एकीकृत वस्तीमा व्यवस्थित गरिने । उल्लेख नभएको । | उल्लेख नभएको । | शून्य । |
४ | प्रत्येक वडामा एक एक खेल मैदान र नगरमा रंगशालाको निर्माण गरिने | खेलकुद विकास कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने, गराउने । | शून्य । |
५ | ६ महिना भित्र बधशाला सञ्चालनसम्बन्धी निर्देशिका बनाई तोकिएको स्थानमा मात्र बधशाला सञ्चालन गरिने । | पशु बधशालाको प्रबन्ध गर्ने । | शून्य । |
त्यस्तै, उनको घोषणापत्रमा उल्लेख भएको बालआश्रम, अपाङगमैंत्री सार्वजनिक भवन निर्माणको काम समेत अंधुरै रह्यो । उनले उल्लेख्य रुपमा बनाउने भनिएका ती भवन उनको कार्यकाल अवधिभर नबन्ने भए । हरेक वडामा खेलमैदान, ज्येष्ठ नागरिकलाई विशेष सुविधा, स्याटेलाईट सिटी र सिटी बस सञ्चालन जस्ता काम अंधुरै रहेको देखिन्छ (विस्तृत विवरणको लागि हेर्नुस् तालिका नं.२) ।
एमालेका तर्फबाट विजयी बनेका सैनामैनाका मेयर चित्रबहादुर कार्कीका पनि प्रतिवद्धता पुरा हुन सकेका छैनन् । सैनामैनाका भित्री सडकमा नगर बस सञ्चालनको काम १ प्रतिशत पनि पुरा हुन सकेको छैन । नगरमा रहेका युवाको विदेश पलायन रोक्न स्वरोजगारको व्यवस्थाका लागि प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि नगरमा एउटा पोलिटेक्निकल ईन्स्टिच्यूट खोलिने विषयले पूर्णता पाएन ।
स्थानीय रुपमा उपयुक्त रोजगारी वा जीवन निर्वाह भत्ताको व्यवस्था गरिने प्रतिवद्धतामा मात्रै सीमित रह्यो । आफूहरूले अव्यवस्थित बसोबासीलाई पुर्जा दिलाउन गरिएको वाचा पूरा गर्न असमर्थ रहेको उनले बताए । ‘सरकार परिवर्तन हुँदा आँटेको काम गर्न पाइएन,’ उनले भने, ‘नापजाँच नै रोक्का भएपछि कसरी प्रकृया अघि बढाउने ?’ साथै गाउँ ब्लकका साढे ५ सय घरलाई पनि पुर्जा दिन नपाएको उनले बताए । पुर्जा तयारी अवस्थामा रहेपनि मन्त्रालयले बाँड्ने आदेश नदिंदा वितरण गर्न नपाइएको उनको भनाई छ ।
तालिका नं. ३ ः सैनामैना नगरपालिका प्रमुखको घोषणा पत्र र नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयन अवस्था
क्र.सं. | घोषणा पत्र | नीति तथा कार्यक्रम | कार्यान्वयन |
१ | भित्री सडकमा नगर बस सञ्चालन गरिने । | सैनामैना क्षेत्रभित्र बसपार्क निर्माण तथा नगरबस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिनेछ । | शून्य |
२ | पेशा व्यवसायिक संगठन, श्रमिक, विज्ञ, सञ्चारकर्मी प्राविधिक तथा जेष्ठ नागरिकको अनुभव आदान प्रदान गर्न मिलन केन्द्र स्थापना गरिने | उल्लेख नभएको । | शून्य |
३ | सैनामैनामा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न ठोस नीति लागू गरिने । | नगर क्षेत्रमा वर्षाैदेखि सार्वजनिक जमिनमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका तर स्वामित्व नपाएका व्यक्ति तथा संघ–संस्थाहरूको लगत लिने काम तत्काल सुरु गरिनेछ र व्यवस्थित बसोबास र स्वामित्व हस्तान्तरणको लागि आवश्यक कानूनी प्रकृया पूरा गर्न एक कार्यदल गठन गरिनेछ । | सैनामैनामा अव्यवस्थित बसोबास गरिरहेकाहरूको पहिचान गर्ने काम सम्पन्न भएको छ । |
४ | निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रसँग सहकार्य हुने गरी सैनमैनामा पनि मिनि औद्यौगिक क्षेत्र निर्माणमा पहल गरिने । | उल्लेख नभएको । | शून्य |
५ | नगरमा एउटा पोलिटेक्निकल ईन्स्टिच्यूट खोलिने विषयमा नीजि क्षेत्रका सञ्चालकलाई प्रवद्र्धन गर्ने । | उल्लेख नभएको । | शून्य |
६ | काली दहमा उच्च बाँध बाँधी सिंचाईको लागि काम गर्ने | उल्लेख नभएको । | शून्य |
६ | सैनामैना नगरपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने । | उल्लेख नभएको । | शून्य |