स्थानीय तहको नेतृत्वमा पुरुष हाविः मुग्दर्शक महिला

महेश न्यौपाने २०७९ वैशाख रोल्पा

यस पटकको पालिकाको चुनावमा रोल्पा र पूर्वी रुकुममा पालिका प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूले कन्जुस्याइँ गरेका छन् । यसअघिको चुनावमा महिलाका भागमा उपप्रमुख पद परे पनि यसपालि गठबन्धनले गर्दा पुरुषले नै कब्जा गरेका छन् । यसले गर्दा संघीयता लागू भएपछिको दोश्रो स्थानीय तह निर्वाचनमा स्थानीय सरकारको नेतृत्व गर्ने अवसरबाट महिलाहरू झन्डै झन्डै पूर्ण रुपमा बञ्चित भएका छन ।
नेपाली कांग्रेसले यी दुई जिल्लाका १३ वटा पालिकामध्ये नौवटामा प्रमुख पदमा उम्मेदवारी दिएको छ । तीमध्ये एउटामा पनि महिलालाई उम्मेदवार बनाएको छैन ।
त्रिवेणी गाउँपालिका अध्यक्षमा लोकगायिका राधिका हमाललाई उठाउन सिफारिस गरेको थियो । तर उनले स्वास्थ्य अवस्थाले गर्दा चुनाव नलड्ने भएपछि उनको ठाउँमा सपना डाँगी पुनलाई उम्मेदवार बनाएको थियो । गाउँपालिका अध्यक्षमा महिला उम्मेदवार उठाएकोमा कांग्रेसले प्रशंसा पाएको थियो । तर उनले उम्मेदवारी फिर्ता लिनुपर्‍यो ।
नेकपा एमाले रोल्पाको सुनिलस्मृती गाउँपालिका अध्यक्षमा तारा सेनलाई उम्मेदवार बनायो । उनी रोल्पाका तीन मुख्य राजनैतिक दलबाट पालिका प्रमुखको उम्मेदवार बन्ने एक मात्र महिला हुन । यसरी महिलालाई अवसर नदिने राजनीतिक दलहरूको व्यवहारले उनीहरूले समावेशीकरणको सिद्धान्तलाई आत्मसात गरेका छैनन् भन्ने देखाएको छ ।
महिला सहभागिताको मामलालाई अरु दलभन्दा उदार देखिएको नेकपा माओवादी केन्द्र रुकुम रोल्पामा टिकट बाँड्ने बेलामा अनुदार भयो । अघिल्लो स्थानीय तह निर्वाचनमा सो पार्टीले रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट कुमारी वराललाई गाउँपालिका अध्यक्ष जिताएर स्यावासी पाएको थियो । सो पार्टीबाट रोल्पा नगरपालिका प्रमुखमा मनकुमारी घर्तीमगर र परिवर्तन गाउँपालिका अध्यक्षमा हितकुमारी वुढामगरको चर्चा चले पनि टिकट पुरुषले नै पाए । यी दुई जिल्लाका १३ मध्ये ८ वटा पालिकामा गठबन्धन हुदा उपप्रमुखमा समेत महिला उम्मेदवार ह्वात्तै घटेका छन । गठबन्धन दलहरूले प्रमुख र उप प्रमुख दुवै पदमा पुरुष उठाउँदा यसो भएको घटेको हो ।

रुकुम पूर्वका तीनमध्ये २ पालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । यसो गर्दा उनीहरूले प्रमुख र उपप्रमुखमध्ये एउटामा महिला उठाउनै पर्ने प्रावधान पालना गर्नु परेन । त्यसले गर्दा उपप्रमुखमा पनि पुरुष उमेदवार भएका छन् ।

गठबन्धनका तर्फबाट सिस्ने गाउँपालिकाको अध्यक्षमा काँग्रेसका पुरुष र उपाध्यक्षमा एमालेका पुरुषले उम्मेदवारी दिएका छन् । सो गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षमा कृष्ण रेग्मी र उपाध्यक्षमा आस्था विके उम्मेदवार भएका छन् ।

भूमे गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार छन् । यी दुवै पुरुष हुन् । अध्यक्षमा भिम बहादुर वली र उपाध्यक्ष कमान सिं डाँगी रहेका छन् । सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा होमप्रसाद श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा मगरको उम्मेदवारी परेको छ ।

गठबन्धन नभएको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा भने सबै दलले महिला उठाएका छन् । नेकपा माओवादी केन्द्रका भुपेन्द्रा वुढा, कमला मल्ल र धर्मा घर्तीमगर गरी महिलै महिला बीच प्रतिस्पर्धा छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रुकुम पूर्वका सवै स्थानीय तहका प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

रोल्पाको माडी गाउँपालिकामा एमाले–कांग्रेसबीच तालमेल भएको छ । गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार भएका छन् । माओवादीले भने अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला उठाएको छ ।
त्रिवेणी गाउँपालिकामा एमाले–कांग्रेस तालमेल भएको छ । यहाँ पनि दुवै पदमा पुरुष उम्मेदवार छन् । माओवादीले भने अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला उठाएको छ ।
परिवर्तन गाउँपालिकामा एमाले–कांग्रेस–एकीकृत समाजवादी–स्वतन्त्र उमेदवारबीच तालमेल भएको छ । तैपनि, यहाँ गठबन्धनका तर्फबाट उपाध्यक्षमा महिला उठ्न पाएकी छिन् । अध्यक्षमा कांग्रेसले पुरुष उम्मेदवार उठाएको छ भने उपाध्यक्षमा एमालेले महिला उठाएको छ । माओवादीले अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला उठाएको छ ।
सुनिलस्मृति गाउँपालिकामा कांग्रेसले राष्ट्रिय जनमोर्चा र राप्रपासंग तालमेल गरेको छ । तैपनि, अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसका भागमा परेकाले यी दुई पदमा पुरुषै पुरुष उठाउन कांग्रेसले पाएन । नेकपा माओवादी केन्द्रले अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला उठाएको छ ।
सुनछहरी गाउँपालिकामा स्वतन्त्र उमेदवार पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन छ । पुष्टमन विप्लव नेतृत्वको नेकपाका पूर्व विशेष जिल्ला सेक्रेटरी हुन् । सो गठबन्धनबाट उपाध्यक्षमा कांग्रेसका पुरुष उम्मेदवार छन् । माओवादीले गठबन्धन नगरेकाले अध्यक्ष र उपाध्यक्ष पदमध्ये एउटामा महिला उठाउनै पर्ने बाध्यताले गर्दा उसले यहाँ पनि अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिलालाई उठाएको छ ।
थवाङ गाउँपालिकामा कांग्रेस, एमाले र स्वतन्त्र उम्मेदवारले तालमेल गरेका छन् । थवाङमा यी दुई पदका स्वतन्त्र उम्मेदवारलाई कांग्रेस, एमालेलगयतका दलले समर्थन गरेका छन् । यस गठबन्धनका तर्फबाट यी दुई पदका दुबै उम्मेदवार पुरुष छन् । माओवादीले अन्यत्र झै यहाँ पनि अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिलालाई उठाएको छ ।
रोल्पा नगरपालिका र लुंग्री गाउँपालिकामा गठबन्धन नभएकाले काँग्रेस, माओवादी र एमाले तीनवटै पार्टीले अध्यक्षमा पुरुष उठाए पनि उपाध्यक्षमा महिलाले अवसर पाएका छन् ।
गंगादेव गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन भएको छ । गठबन्धनबाट अध्यक्षमा नेकपा माओवादीले पुरुष र उपाध्यक्षमा एकीकृत समाजवादीले पनि पुरुष उठाएका छन् । गठबन्धन नगरेकाले कांग्रेस र एमालेले अध्यक्षमा महिला र उपाध्यक्षमा महिलालाई उठाएका छन् ।
रुन्टीगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्र, राजमो र एकीकृत समाजवादी बीच गठवन्धन भएको छ । तैपनि अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादीले पाएकाले उसले अध्यक्षमा पुरुष उठाएपछि उपाध्यक्षमा महिला उठाउनै पर्ने भएको थियो । यहाँ एमाले र कांग्रेसले दुबै पदमा उम्मेदवार उठाएकाले उनीहरूले पनि अध्यक्षमा पुरुष उठाएपछि उपाध्यक्षमा महिला उठाउनै पर्ने थियो ।
कांग्रेसले प्रमुखमा नौजना उठाएको छ भने एकजना पनि महिलालाई उठाएको छैन । यस्तैगरी, सो पार्टीले उपप्रमुख पदमा ७ जना महिला र २ पुरुष उठाएको छ ।
नेकपा एमालेले यी दुई जिल्लामा आफ्ना भागमा परेको पद मध्ये एउटाको प्रमुखमा महिला र ७ वटा को प्रमुख पुरुषलाई उठाएको छ । उपप्रमुखमा एमालेले ४ जना महिला र ५ जना पुरुष उठाएको छ ।
माओवादी केन्द्रले यी दुई जिल्लाका १३ वटा पालिकामध्ये सबैको प्रमुख पदमा पुरुष उठाएको छ । एउटा पालिकाको उपप्रमुख गठबन्धनलाई दिएको छ । बाँकी १२ वटाको उपप्रमुखमा महिला उठाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पाका १० मध्ये ७ र रुकुम पूर्वका सबै तीनवटै पालिकाका अध्यक्ष र उपाध्यक्षमा माओवादीले जितेको थियो । रोल्पाका २ पालिकाका प्रमुख र उपप्रमुखमा एमाले र एक पालिका प्रमुख र उप प्रमुख काँग्रेसले जितेका थिए ।

Sharing is caring!