स्थानीय तहको प्रभाव : गुल्जार बन्दै गाउँ

रामचन्द्र रायमाझी पुस २०७६ पाल्पा

पाल्पाको पूर्वखोलामा पहिले स्कूलमा राम्रो पढाइ हुँदैनथ्यो । अभिभावकले छोराछोरीलाई सदरमुकामका अंग्रेजी माध्यममा पढाइ हुने स्कूलमा भर्ना गर्थे । छोराछोरीलाई पढाउन अभिभावक पनि सदरमुकाम गएकाले गाउँमा थोरै मानिस मात्र बस्थे ।

पूर्वखोला गाउँपालिकाले आफ्नो गाउँपालिकाका सरकारी स्कूलमा अंग्रेजी माध्यमबाट पठनपाठन गराएको छ । यसले गर्दा छोराछोरीहरुलाई अंग्रेजी पढाउन चाहने अभिभावकले आप्mना छोराछोरी गाउँकै सरकारी स्कूलमा पढाउन थालेका छन् ।

थम्मन केसीले १० वर्ष अघी आफ्ना दुई जना छोराहरुलाई तानसेनमा पढाए । अहिले आफ्ना नातीलाई भने गाउँकै सरकारी स्कूलमा भर्ना गरेका छन् । उनले भने ‘पहिले गाउँमा राम्रो शिक्षा नभएकाले बाहिर लैजानु परेको थियो तर हिजो आज अंगे्रजी माध्यममा गुणस्तरीय शिक्षा पाइन थालेको छ ।’

स्वास्थ्य सेवामा सुधार भएकाले पनि मानिसहरु गाउँमै बस्न थालेका छन् । पहिले पूर्वखोलाबासीहरु विरामी भए वा सुत्केरी गराउनु परे सदरमुकाम पुग्नुपथ्र्याे । अहिले सबै वडामा बर्थिङ्ग सेन्टर स्थापना गरिएको छ । वडा नम्वर ३ रिङनेरहका देव मगर भन्छन् अहिले नजिकैको स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको सुविधा छ । घण्टौं लगाएर तानसेन जानुपर्दैन । पहिले समयमै अस्पताल पु¥याउन नसक्दा विरामीको ज्यान बाटोमै जाने गथ्र्यो ।

पूर्वखोला गाउँपालिकाको विकट मानिने वडा नम्वर ३ रिङनेरहमा सडक पनि पुगेको छ । यसले गर्दा पनि गाउँ छोड्ने क्रम घटेको छ । वडा कार्यालयको तथ्याङ्क अनुसार २०७० सालदेखि ०७४ सम्ममा ३० घर परिवार गाउँ छोडेर बाहिर गएका थिए । स्थानीय सरकार निर्वाचित भएपछि यहाँबाट बसाई सर्ने क्रम विस्तारै घटेको छ । त्यस वडाबाट गत वर्ष १२ जना व्यक्ति मात्र बसाइँ सरेर गए ।
सडक नहुँदा रम्भा गाउँपालिका–२ फोक्सिङकोटको फोक्सिङडाँडा, भञ्ज्याङथोक, कोटथर, बेलौजा, लाँबे, रानीवास, झर्लेङलगायतका स्थानीयबासीहरु पनि गाउँ छाडेर अन्यत्र गएका थिए् । अहिले त्यहाँ २१ घर मात्र छन् । तर स्थानीय सरकार आईसकेपछि भने गा्रमीण क्षेत्र सडकले सदरमुकामसँग जोडिएकाले स्थानीय बासिन्दा बसाईँ सर्न छाडेका छन् ।

रामपुर नगरपालिका– ७ को डाँडा भेगमा पर्ने बाहुनडाँडा क्षेत्रमा पनि बसाइँसराईले गाउँ सुनसान बनेको थियो । बाहुनडाँडा आसपास क्षेत्रमा एक सय भन्दा बढी घरपरिवार रहेकोमा अहिले २०÷२५ घर मात्र रहेका छन् । खानेपानीको समस्याका कारण गाउँ छाडेर तल बेँशीतिर झर्ने र तराईतिर जाने क्रम बढेका बेला प्रदेश र नगर सरकारले खानेपानीको प्रवन्ध मिलाएपछि अहिले बाहिर जानेहरु रोकिएका छन् ।

पाल्पाको विकट मानिने निस्दी गाउँपालिका १ बाकमलाङ्ग अहिले गुल्जार छ । स्थानीय सरकार आउनु अघी यहाँबाट धेरै मानिस बसाई जाने गर्थे । ४ वर्ष अघिसम्म यहाँबाट बार्षिक १०÷१२ घर परिवार बसाई जान्थे । स्थानीय सरकार आईसकेपछि सिफारिस लिन, विकास माग्न जिल्ला सदरमुकाम जानु नपरेकाले बसाइँसराइ रोकिन थालेको हो । वडाकार्यालयको तथ्याङ्क अनुसार गत वर्ष ७ घर परिवार बसाईसराई गरी गएका थिए भने २ घरपरिवार अन्यत्रबाट बसाईसराई आएका थिए । यस वर्ष ३ घरपरिवार मात्र बसाईसराई गएका छन् भने २ घर परिवार बसाइसराई गरी आएका छन् ।

पहिले सुनसान माथागढी ४ झडेवामा यति बेला निकै चहलपहल छ । गाउँपालिकाको केन्द्रमा जाने सेवाग्राही र कर्मचारीका कारण यस क्षेत्रमा चहलपहल बढेको हो । पहिले बस्ती विस्तार हुन नसकेको यस ठाउँमा अहिले शहरीकरण हुँदै गएको छ । यहाँ होटल, पसल, बैंक तथा वित्तिय संस्था खुलेकाले पनि चहलपहल बढेको स्थानीय बताउँछन् ।

माथागढी गाउँपालिकाका प्रवक्ता तथा वडा न ४ का वडाअध्यक्ष मधु पराजुलीका अनुसार स्थानीय सरकारले काम गर्दै जाँदा सदरमुकाममाथिको चाप घटदै गएको छ र गाउँमा चहलपहल बढेको छ ।’

संघीय संरचनाले गाउँमा चहलपहल बढ्दै जाँदा सरमुकामको बजार भने सुनसान बन्दै गएको छ । ‘धेरै सरकारी काम स्थानीयस्तरमै हुन थालेपछि व्यापार खस्किएको छ । अब व्यापार गाउँमा हुन्छ भनेर कोही बाहिर गए, केही स्थानीयले नै व्यवसाय थाले । गाउँमै बजारमा पाईने सेवा सुविधा हुन थालेपछि बजार आउने मान्छे घटे, तानसेनका किराना व्यवसायी शिशिर भट्टराईले भने ।

मानिसको चहलपहल घट्न थालेपछि तानसेन बजारको ब्यापार ओरालो लाग्ने क्रममा छ । व्यवसायीले दैनिक गर्ने कारोवार ८० प्रतिशतले घटेको कुरा व्यवसासायीहरु बताउँछन् । जिल्ला समन्वय समिति अगाडि क्यान्टिन सञ्चालन गर्दै आएका निस्दी गाँउपालिका बाकामलाङ्गका यकबहादुर गाहाले तत्कालिन जिविसमा नास्ता बेचेर मात्रै मासिक ३५ हजारभन्दा बढी ब्यापार गर्थे । अहिले चार÷पाँच हजारमा सिमित भएको छ ।

तानसेनको मखन टोलमा होटेल सञ्चालन गर्दै आएका रैनादेवीका छहराका दिनेश कुंवरले गाउँमै सरकारी कामकाज हुन थालेपछि व्यापारमा ३ वर्षअघि जस्तो मुनाफा नभएको बताए । उनले भने, ‘व्यापार त केही छैन । सुकिसक्यो । होटेलको भाडा तिर्नै गाह्रो छ ।’

‘पहिले पहिले गाविसका सचिव पनि सदरमुकाममै बस्थे । त्यसैले सिफारिस लिन मानिसहरु सचिव खोज्दै होटल होटल जान्थे । अहिले सबै गाउँकेन्द्रित हुनाले ब्यापार घटेको छ,’ लुम्बिनी होटेलका सञ्चाक लक्ष्मण पाण्डेले भने । अहिले पाण्डेलाई भाडा तिर्न हम्मे हम्मे परेको छ ।

सदरमुकामका सरकारी अड्डामासमेत सेवाग्राहीको चाप कम भएको छ । पहिले जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस, समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ । भवन मात्रै ठूलो छ । ठूला बजेट र योजना छैनन । भनसुन गर्न जिविसमा आउन चाहने कर्मचारीको दौडधुप पनि अहिले छैन । ‘करोडौंको बजेट चलाएका जिविसका कर्मचारी अहिले झोक्रिएका छन् । तानसेनका व्यापारी महेन्द्र खातीले भने, ‘योजना कार्यक्रम नभएपछि सेवाग्राही पनि आउने कुरै भएन ।’

जिल्ला प्रशासन कार्यालय भएकै कारण नागरिता र राहादानी बनाउनका लागि आउने मात्रै तानसेनबजारमा देखिन्छन् । पहिले सदरमुकाममा मात्र हुने जनताका कामकाज स्थानीय सरकारबाटै हुन थालेपछि सदरमुकाम आवतजावत गर्ने मानिस घटेको कुरा पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरि रायमाझीले बताए । उनका अनुसार, अहिलेसम्म साना उद्योगधन्दा निरन्तर चले पनि व्यापार भने निकै घटेको छ ।

Sharing is caring!