नेपालमा ३ वटै तहको निर्वाचन प्रणाली महँगो बन्दै गएपनि स्थानीय जनता भने खर्च गर्ने पैसावाल उम्मेदवार होइन, जनताको काम गर्ने असल नेताको खोजीमा छन् ।
चारैतिर पालुवा पलाएका छन्, ढकमक्क फुल फुलेका छन्, त कतै हरियाली वातावरणमा सर्वसाधारण दैनिक गुजाराका लागि आ–आफनै काममा व्यस्त छन् । यही समय वैशाख ३० को स्थानीय निर्वाचन नजिकिदै गएको छ भने सर्वसाधारण मेलापात, खेतीपाती, चौताराहरूमा कुन दलले कस्ता उम्मेदवार उठाउलान् ? कसलाई मत दिने भन्नेमा चर्चा/परिचर्चा गरिरहेका भेटिन्छन् । कतिपय कसलाई मत दिने होला भन्नेमा अन्यौलमा देखिन्छन् । त्यसैमध्येका एक प्रतिनिधी पात्र हुन्, बाँसगढी नगरपालिका–५, केदारेश्वर टोल (हाउपुर) को सुकुम्बासी बस्तीमा बस्ने ४५ बर्षिय यम बहादुर रावत । ‘यसपटक राम्रा नेताहरू आइदिए हुन्थ्यो, काम गर्ने नेता चाहियो’, रावतले भने । रावतले कुन पार्टीलाई मत दिने भन्ने निक्र्याैल गरेका छैनन् । भन्छन्, ‘जुन पार्टीले राम्रो नेता दिन्छ, त्यही उम्मेदवारलाई भोट दिने हो ।’
सोही सुकुम्बासी बस्तीमा बस्ने मेवालाल थारुको धारणा पनि उस्तै छ । ‘मजदुरका समस्या बुझ्ने मान्छे आए भने उसैलाई भोट दिन्छौं’, थारुले भने । बाँसगढी नगरपालिका–६, मोतिपुरका ५३ बर्षीय छोटेलाल थारुको भनाईमा ‘जसको हातमा पैसा छ्, त्यही मान्छेले टिकट पाउने हो ।’ तर, उनी पैसावाललाई होइन, मजदुरको काम गर्ने नेतालाई भोट दिने बताउँछन् । ‘त्यस्तो पैसावाललाई कहाँ दिने भोट’, उनले भने, ‘हामीले मजदुरको दुखव्यथा बुझनेलाई भोट दिने हो ।’
छोटेलाल थारुकै वडामा पर्ने अर्को छिमेकी गाउँ नारायणपुरकी रुपनी थरुनीको भनाईमा ‘हाम्रो दुख सुख हेर्ने मान्छे आए राम्रो हुन्थ्यो ।’ ६० बर्ष उमेर पार गरिसकेका सुन्दर सोनखरले हिन्दी र नेपाली भाषा मिसाउदै भने, ‘हमारा लोगन के मांग ये हे..जनताको सेवा करो’ । गुलरिया नगरपालिका–११ डल्लापुरका जेष्ठ नागरिक सुन्दरले भने, ‘गरिब नेता आउनु पर्यो ।’ बढैयाताल–७ का धन बहादुर ओलीको भनाई पनि उस्तै छ । ओलीले भने, ‘जनताको काम गर्ने मान्छे हुनुपर्छ्, लोप लालच नगर्ने, कुनै पार्टी नहेरिकन जनताको सेवा गर्ने मान्छे हामीलाई चाहिएको हो ।’ जुन दलले त्यस्तो मान्छे अघि सार्छ, त्यही दल र उम्मेदवारलाई भोट दिने पनि उनले बताए ।
यसरी सर्वसाधारणमा आफ्नै गाउँठाउँको सरकारमा आफना दुख सुख बुझने किसिमका नेता आइदिउन् भन्ने अपेक्षा छ । धनी (पैसावाल) नेता आए उनीहरूले आफ्ना दुख नहेर्ने बरु आफै कमाउनतिर लाग्ने आकंलन स्थानीयको छ । त्यसैले पनि आफ्नै वर्गको प्रतिनिधित्व गर्ने खालका सामान्य नेता उनीहरूको रोजाईमा परेको छ । यता राजनीतिक दलहरू पनि जनताले रोजेकै जस्तो राम्रो उम्मेदवार दिने दाबी गर्छन् । उनीहरू जनतालाई आफनो पक्षमा तान्न यतिबेला जोडतोडले लागीपरेका छन् । नेपाली काग्रेंस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठोर ‘जनधार भएकालाई स्थानीय तहको उम्मेदवारमा प्राथमिकता दिने’ बताउँछन् । ‘अहिलेका जनप्रतिनिधिको पनि दोहोरिने इच्छा हुनसक्छ, यस बिषयमा पनि छलफल होला तर अब गठनबन्धन गर्ने/नगर्ने भन्नेबारेमा केन्द्रले निर्णय गरेलगत्तै त्यसैअनुसार जनाधार भएका नेताहरूलाई उम्मेदवारको रुपमा छनौट गछौं,’ सभापति राठोरले भने । काग्रेंसकै बढैयाताल गाउँपालिका सभापति भगत नेपालीले भने विकासका लागि सक्षम, सिमान्तकृत, महिला, युवा, पछाडि पारिएको क्षेत्रका व्यक्तिलाई आफुहरूले यसपाली उम्मेदवारका रुपमा प्राथमिकतामा राखेको बताए ।
नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेश सरकारका वहालवाला मन्त्री तिलक राम शर्मा (हिमाल) ले पनि सक्षम उम्मेदवार प्राथमिकतामा पर्ने बताए । संघीय सांसद समेत रहेका माओवादीकै अर्का नेता सन्त कुमार चौधरीले कमभन्दा कम खर्च गर्न सक्ने, विगतमा माओवादी युद्ध लडेका, योगदान र बलिदान गरेका लगनशिल व्यक्तिहरू उम्मेदवारको रुपमा रहने बताए । चौधरीले क्रियाशिल र लोकप्रियताको आधारमा आंकाक्षीहरूको रोष्टर तयार गरी पार्टीले निर्णय गर्ने बताए । त्यसो गर्दा वहालवाला जनप्रतिनिधि पनि दोहोरिन सक्ने सम्भावना रहेको चौधरीको भनाई छ । यता, नेकपा एमालेका नेता तथा संघीय सांसद विमला बिकले भने वहालवाला जनप्रतिनिधिहरूभन्दा नयाँ उम्मेदवार दिने बताइन् । जसपाका जिल्ला सहसचिव तारा बहादुर सुनारले समाज सेवा गरेको युवालाई समावेशीताको आधारमा उम्मेदवार बनाउने योजना रहेको सुनाए ।
विज्ञहरूले पनि दुरदर्शी, सक्षम, इमानदार सहयोगी नेतृत्वको आवाश्यकतामा जोड दिएका छन् । आर्दश मावि मोतिपुरका सामाजिक बिषय शिक्षक मिथिला थारु पहिलेको तुलनामा विकास राम्रो भएको बताउँदै भन्छन्, ‘आगामी दिनमा अझै दुरदर्शी, सक्षम, इमानदार मान्छे छनोट भएर आयो भने समानुपातिक रुपमा विकास गर्न सहयोग हुन्छ ।’ मध्यपश्चिम विश्वविद्यालय, बबई बहुमुखी क्याम्पस गुलरियाका राजनीति शास्त्रका उपप्राध्यापक तथा अधिवक्ता सूर्यमोहन सापकोटाको भनाईमा राजनीति मात्रै भन्दापनि आर्थिक, सामाजिक र समग्र विकासको पक्षलाई ध्यान दिएर त्यसमा अगाडी बढने व्यक्तिलाई दलहरूले उम्मेदवार बनाउनुपर्नेमा जोड दिन्छन् । ‘राम्रोमध्ये पनि राम्रो उम्मेदवार मतदाताहरूले छानुन्, ताकि समग्र विकासमा फड्को मार्न सकियोस्’, सापकोटाले भने ।
राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार तय नगरेपनि अहिलेसम्मको अवस्था हेर्दा बर्दिया जिल्लाका स्थानीय तहहरूमा प्रमुख तीन दलका नेताहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली काग्रेंस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने सम्भावना छ । बर्दियाका ८ पालिका र ७५ वडामा गठवन्धन भएको अवस्थामा काग्रेंस लगायतका गठवन्धनका दललाई फाइदा पुग्ने देखिन्छ । विभाजनका कारण एमाले केही ठाउँमा कमजोर भएको छ ।
त्यसो त बामपन्थी पार्टीहरूबीचको एकताको पक्षमा उभिएका नेता बामदेव गौतम पक्षीय नेता/कार्यकर्ताको भूमिकाले पनि कुन दलको पल्ला भारी हुन्छ भन्ने कुरामा केही हदसम्म निर्णायक हुने सम्भावना देखिन्छ । गौतमको एकता अभियानका केन्द्रिय परिषद् सदस्य ज्ञानुमाया रिजाल स्थानीय तहको निर्वाचनमा कुनै पार्टी विशेषलाई भन्दा पनि योग्य उम्मेदवारहरूलाई सहयोग गर्ने बताउँछिन् । सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लगायतका दलले आफै उम्मेदवारी दिन्छन् वा अन्य दल कसलाई समर्थन गर्छन् भन्ने कुराले पनि परिणाममा धेरथोर प्रभाव पार्ने छ । जिल्ला निर्वाचन कार्यालय बर्दियाको वेवसाइटमा प्रकाशित १३ चैत्र २०७८ दिँउसो २ बजेसम्मको विवरण अनुसार जिल्लामा कुल २ लाख ९३ हजार ४ सय ७९ मतदाता छन् जसमध्ये १ लाख ४९ हजार २५ जना महिला, १ लाख ४४ हजार ४ सय ४८ जना पुरुष छन् भने अन्य ६ जना मतदाता रहेका छन् ।