प्रदेश ५ सरकारले देशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई परिभाषित गरेको छ । कृषि उत्पादन दोब्बर बनाउने लक्ष्यसहित ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने भएको छ जसमध्ये पाल्पा जिल्लाका चार स्थान रहेका छन् ।
पाल्पा जिल्लास्थित हुगि गाउँका कृषक अच्युत पन्त प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रम घोषणासँगै त्यसका लागि अनुदान समेत पाउने भएपछि उत्साहित देखिएका छन् । पन्तको भनाईमा कृषिमा आधुनिकीकरण गर्दै प्रविधिबाट कृषि कार्य गर्न प्रदेश सरकारले उत्साहित गरेकै कारण अहिले काममा सहज भएको छ । ‘हिजो खेति गर्दा धेरै समय लाग्ने, कम उत्पादन हुने समस्याका कारण जमिन बाँझो नै रहने गरेको थियो’, कृषक पन्तले भने, ‘अहिले स्मार्ट कृषि गाउँ बनाउने प्रदेश सरकारको कार्यक्रमपछि कृषिप्रति रुचि बढेको छ ।’ महिला कृषक जमुना सापकोटाले पनि स्मार्ट कृषि गाउँ कार्यक्रमले गाउँमा कृषिकर्मप्रति सकारात्मक धारणा ल्याएको बताइन् ।
प्रदेश ५ सरकारले देशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई परिभाषित गरेको छ । कृषि उत्पादन दोब्बर बनाउने लक्ष्यसहित ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने भएको छ जसमध्ये पाल्पा जिल्लाका चार स्थान रहेका छन् । पाल्पाको क्षेत्र न १ रामपुर नगरपालिका–१० मा बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम, तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ को हुँगी र तानसेन नगरपालिका– १४ को अर्गलीमा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन गरिएको हो । यो कार्यक्रम संचालनका लागि प्रदेश सरकारबाट ५० लाखका दरले पाल्पाका चार स्थानमा मात्र दुई करोड बराबरको रकम विनियोजन गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव एकनारायण देवकोटाले बताए ।
प्रदेश सरकारले ‘प्रदेश स्मार्ट कृषि गाउँ’ कार्यक्रमका लागि चालु आर्थिक वर्षको वजेटममा २६ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ । प्रदेश ५ मा रहेका ५२ वटै प्रदेशसभा निर्वाचन क्षेत्रलाई समेटेर प्रत्येक क्षेत्रमा एक गाउँ छनोट गरी प्रदेश स्मार्ट कृषि गाउँका रुपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको सचिव देवकोटाले बताए । केन्द्रीय तथ्याङ्क विभागको कृषि गणना २०६८ अनुसार प्रदेश नं. ५ मा ४ लाख ४ हजार ५ सय ४१ हेक्टर खेतीयोग्य जमिन रहेको छ, जुन प्रदेशको कूल भूभागको २२.७ प्रतिशत हुन आउँछ ।
स्मार्ट कृषि गाउँका लागि प्रदेश सभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै गाउँपालिका प्रमुखहरुसंग छलफल गरी उपयुक्त र बढी सम्भावना बोकेको एउटा गाउं छनोट गरेका हुन् । यसका लागि सडक पुर्वाधार भने पुगेको हुनुपर्ने सर्त राखिएको छ । स्मार्ट कृषि गाउँमा खाद्यान्न, तरकारी, फलपूmल र पशुपालनमध्ये जुनसुकै खेती र व्यवसाय गर्न सकिने छ । छनोट हुने प्रत्येक गाउँले ५० लाख रुपैयाँ वजेट प्राप्त गर्नेछन् । उक्त वजेट गाउँको आवश्यकताअनुसार सिचाइँ, मल, बीउ, प्राविधिक सहयोग, उत्पादनको बजारीकरणमा खर्च हुनुपर्ने कार्यविधिमा उल्लेख छ । प्रदेश न ५ का योजना आयोगका उपाध्यक्ष डा. प्रकास कुमार श्रेष्ठले स्मार्ट कृषि गाउँ कार्यक्रमले उत्पादनदेखि बजारसम्म कृषकलाई सहयोग गर्नुका साथै कार्यक्रम सफल बनाउन सघन अनुगमन र सहज प्राविधिक सेवालाई प्राथमिकतामा राखिएको बताए । कृषकलाई आवश्यक सूचना, जानकारी दिन स्मार्ट कृषि गाउँको आफ्नै एप र सूचना केन्द्र बनाइने डा श्रेष्ठको भनाई छ ।
बराहा स्मार्ट कृषि कार्यक्रम अन्तरगत चार सय ९४ रोपनी क्षेत्रफलमा तरकारी, मकै र धान बाली लगाइएको बाराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम संयोजक नोलराज भण्डारीले बताए । यस कार्यक्रममा यहाँका ८४ घरधुरीका कृषक सहभागी छन् । एक कृषकले वार्षिक दुई लाख आम्दानी गर्ने लक्ष्यका साथ यो कार्यक्रम संचालनमा ल्याइएको हो । प्रदेश सरकारको ५० लाख र कृषक सहभागितामा १० लाख गरी यो कार्यक्रममा ५९ लाख २८ हजार २ सय खर्च भएको छ जसबाट सिचाई आयोजना, विउ विजन उत्पादन, टनेल निर्माण लगायतका काम भएका छन् । कार्यक्रम कार्यन्वयनमा आएपछि उत्पादन गरेको सबै तरकारी संकलन गरी स्थानिय बजारमा पठाउन सहज भएको बताउँदै कृषक सीता देवकोटाले भनिन्, ‘यसको व्यबस्थापनका लागि सहकारी र संकलन केन्दको महत्वपूण भुमिका रहेको छ ।’
हुगीँ स्र्माट कृषिगाउँमा ८३ घर धुरिले ३ सय ८३ रोपनिमा काम गरिरहेका छन् । हुँगी स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष केदार प्रसाद बस्यालका अनुसार कृषकलाई सिंचाईको सुविधा भएकाले बेमौसमी तरकारी लगाउन थालिएको छ । यसले आम्दानी बढी हुन थालेकोे हुगिँका कृषक अचुत पन्त बताउछन् । अर्गलीको फोस्स्रान स्मार्ट कृषि गाउँको उद्धेश्य मासुमा आत्मर्निभर गराउने रहेको छ । ६५ घर धुरिमा करिव २०० बाख्रा पालिएको फोस्स्रान स्मार्ट कृषि गाउँका अध्यक्ष पुश्करनाथ पाण्डेले बताए । प्रदेश सरकारबाट प्राप्त आर्थिक सहयोग तथा अनुदानका कारण कृषि तथा पशु व्यबसायमा युवाहरुको आर्कषण बढ्दै गएको सहजकर्ता राधा कुवरको भनाई छ । झ्याङ्लाफाँट स्मार्ट कृषि गाउँ कार्यक्रमको विषेशता चाहिं अन्न बालि नै हो । गत बर्षको तुलनामा यस क्षेत्रमा धान उत्पादन बृद्धि भएको अध्यक्ष चोपलाल गिरिले बताए । गिरीका अनुसार मुख्य अन्न बालिलाई प्राथमिकता दिएको कार्यक्रमले त्यसका लागि पुर्वाधार विकास गरेको छ । ९८ घरधुरि आवद्ध रहेको यो कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य रहेको कृषक पिपला जिसि बताउछिन् ।
कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकिरणमा जोड दिने सरकारको नीति अनुरुप संचालन गरिएका यस किसिमका कार्यक्रमले कृषि कार्यमा परिवर्तन ल्याएको स्थानीय कृषकहरु बताउँछन् । यसबाट कृषि क्षेत्रतर्फ युवाको आकर्षण बढ्न गई कृषि क्षेत्रको उत्पादकत्व बढ्ने अपेक्षा प्रदेश सरकारको रहेको उपाध्यक्ष डा. श्रेष्ठले बताए ।