स्वास्थ्यकर्मीले पाएनन् उचित प्रोत्साहन

निशु जोशी २०७८ असार नेपालगन्ज

सरकारको व्यवहारका कारण स्वास्थ्यकर्मीहरु निरुत्साहित छन् । कोरोनाको पहिलो लहरमा खटिएका स्वास्थ्यकर्मीहरुले सम्मान, प्रोत्साहन र सरकारले दिने भनेको जोखीम भत्ता नपाएपछि दोश्रो लहरमा खटिनेको संख्यामा कमी आएको देखिन्छ ।

नेपालगन्ज उपमहानगरपालीका–४ फुल्टेक्राकी सारदा चौधरी हाल भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा इन्चार्ज छिन् । कोरोना संक्रमित विरामीहरु राखिएको हल ‘सि’ हेर्ने जिम्मेवारी उनको हो । विहान सबेरै खाना बनाई खाएर उनी साढे आठ बजे अस्पताल पुगीसक्छिन् । दिउसो ३ बजे मात्र घर फर्किन्छिन् । कोरोना संक्रमितको अत्याधिक चाप भएको समयमा उनी राम्ररी घरमा वस्न पाइनन् । ‘घर पुग्ने वित्तिकै फोन आइहाल्थ्यो । बिरामीको चाप भएकाले अस्पताल जानैपर्ने बाध्यता थियो’ उनले भनिन् ।

नयाँ डरलाग्दो रोग । यसबाट आफ्नो र अरुको ज्यानै जान सक्ने भएकाले धेरै सर्तकता अपनाउनुपर्ने थियो । अझ यसको संक्रमणले निल्दै गरेका अवस्थाका बिरामीको प्राण बचाउनुपर्ने थियो । शरीरलाई पुरै पिपिइको सुरक्षा, आँखा, नाक, मुख, कपाल सबै छोप्नुपर्ने बाध्यता । त्यसमाथि नेपालगन्जको ३८ डिग्रीको तापक्रम । गर्मीले पिपिइभित्रको पिडा साँझपख छर्लगं देख्न सकिन्थ्यो । शरीरमा पिपिइको छाप निसान हुन्थे । तर, त्यो समयमा छरछिमेकी र समाजले गर्ने व्यवहारले चाहिं उनलाई दुखित बनाउथ्यो ।

अस्पतालबाट घर पुग्दा छिमेकीले ‘कोरोना सारीहाल्छे’ भन्छन् कि भन्ने मानसिक तनाव पनि उस्तै । यो समयमा शाररीकभन्दा पनि मानसिक पिडाले नमीठो गरी घोचेको सारदाको भनाई छ । कोरोनाका विरामीको सेवामा खटिदा मानसिक रुपमा झेल्नुपरेका तनाबबारे बताउदै उनले भनीन् ‘परिवारबाट पुर्ण रुपमा सहयोग थियो । छिमेकिहरुले कता कता तिरस्कार गरीरहेको महसुस हुन्थ्यो । अझ पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो भने के गर्ने होला भन्ने चिन्ताले साह्रै पिरोल्थ्यो ।’

समाजले दिने मानसिक तनाबका कारण पिसिआरको नतिजा पोजेटिभ नआओस् भनेर उनी मनमनै प्राथना गर्थिन् । त्यति हुँदाहुँदै पनि गत असोजमा पिसिआर रिपोर्टको नतिजा पोजेटिभ नै आयो । उनले सुरुमा परिवारलाई यो अप्रिय समाचार बाँड्न सकिनन् । भेरी अस्पतालकी मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठलाई भनीन् र उनकै सहयोगमा १४ दिन भेरी अस्पतालको आइसोलेसनमा बसिन् । उनीसंगै उनको परिवारमा सबैको कोरोना परीक्षण भयो । उनीसँगै बहिनीलाई पनि कोरोना पोजेटिभ देखीयो । परीवारका अरु सदस्यलाई भने देखिएन ।

त्यतिबेला बाँकेमा कोरोना संक्रमण देखिने र निको हुने क्रम थियो । अधिकांश निको भइरहेका थिए भने दैनिक १।२ जनाको मृत्यु पनि भइरहेको अवस्था थियो । आफुले धेरै बिरामीहरुको सेवा गरेर निको बनाइसकेकाले निको हुन्छु भन्ने आशा थियो । यद्यपी कोरोनाले छातिमा समस्या देखाएपछि ७ दिनसम्म असहज महसुस गरेको उनले बताइन् । अक्सिजन दिनुपर्ने अवस्था भने आएन । १४ दिन पुगेपछि र स्वस्थ महसुस गरेपछि उनी फेरी बिरामीको सेवामा फर्किइन् । तत्काल काममा फर्किनुका मुख्यतः २ कारण थिए । पेशा नै स्वास्थ्यकर्मीको भएकाले अरु बिरामीलाई सेवा दिनुपर्ने भावना र पालो दिने समेत नहुँदा दैनिक १२।१४ घण्टा बिरामीको सेवा गर्नुपर्ने स्वास्थ्यकर्मीको अवस्था । केहि समयपछि उनलाई फेरी कोभिड भयो । २ पटक कोभिड संक्रमणलाई परास्त गरेर फेरी सेवामा निरन्तर खटिइन् । पहिलो लहरकोभन्दा धेरै स्वास्थ्य सावधानी अपनाएकाले दोश्रो चरणमा भने उनको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन ।

जेठको अन्तिम सातादेखी भेरी अस्पतालमा कोरोनाका विरामीको संख्या घट्दै गइरहेको छ । अस्पतालको एउटै हलमा ६० जनासम्मलाई दैनिक सेवा दिएको उनको अनुभव छ । यहीवीच उनले भोगेका केहि नमीठा अनुभवहरु पनि छन् । ‘कोभिडको दोश्रो लहरमा धेरै आफन्तहरु, चिनेजानेका र अन्य व्यक्तिको आखैँअगाडी मृत्यु भयो । यो समयमा स्वास्थ्यकर्मी भएकोमा पिडा बोध हुन्थ्यो । अस्पताल छाडी भागेर जाँउ जस्तो लाग्थ्यो । तर, जब आफुले सेवा गरेका बिरामीहरु निको भएर घर फर्कन्थे त्यो समय आफ्नो काम र पेशाप्रति गर्व लाग्थ्यो’ उनले स्वास्थ्यकर्मी हुनुको अनुभूति सुनाइन् ।

दिनरात नभनी सेवा गरिरहदा पनि स्वास्थ्यकर्मीले प्रोत्साहन र सम्मान पाउन नसकेको उनको गुनासो छ । ‘कतिपयले वेड मिलाईदिन, कतिपयले अक्सिजन मिलाइदिन दबाब दिन्थे । हामी स्वास्थ्यकर्मीले सबै विरामीलाई समान सेवा दिने हो । तर, जेठ १३ गते भेरी अस्पतालमा डक्टर र नर्समाथि गरिएकोे आक्रमणले स्वास्थ्यकर्मीहरुमा निरासा पैदा गरेको छ । यस्ता घटनाले हाम्रो काम गर्ने मनोबल गिराउने काम भयो,’ उनले भनिन् ।

देशभरका नागरिकले थाहा पाउने गरी फिजिएको यो घटनापछि प्रदेश र संघमार्फत घटनाको दोषीलाई कारबाहि गर्न दबाब आयो । प्रहरी हिरासतमा रहेका उनीहरुलाई नेपालगन्ज तुलसीपुर उच्च अदालतले असार ६ गते ५०।५० हजार धरौटिमा छोड्ने आदेश दियो । उनीहरुलाई धरौटीमा छोडेको भन्दै स्वास्थ्यकर्मीहरु असन्तुष्ट छन् । नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णले अदालतको यो निर्णयले स्वास्थ्यकर्मीहरुको मनोबल घटेको बताए ।

भेरी अस्पतालमा मात्रै करिब ५ सय स्वास्थ्यकर्मी र कर्मचारी रहेकामध्ये करिब २ सय स्वास्थ्यकर्मी संक्रमित भएका थिए । उनीहरुले आफू कोरोना संक्रमित रहेको समयमा समेत अन्य संक्रमितको सेवा गरेका थिए । स्वास्थ्यकर्मीलाई समाजले मात्र होइन, राज्यले पनि सम्मान गर्न नसकेको उनीहरुको गुनासो छ । स्वास्थ्यकर्मीलाई आवश्यक परेको समयमा स्वास्थ्य सामाग्री पुर्‍याउन नसकेको, स्वास्थ्यकर्मीको अभाव परीपुर्ति गर्न नसकेको र दिनरात नभनी खटिएका स्वास्थ्यकर्मीका लागि प्रोत्साहन एवं सम्मान नभएकोमा उनीहरुको चित्त दुखाई छ । यतिसम्म कि नेपालगन्ज उपमहानगरपालीकाका स्वास्थ्यकर्मीले कोरोना कहरमा खटिए वापत आर्थिक वर्ष २०७६।०७७ सालको जोखीम भत्ता समेत अझै पाएका छैनन् ।

सारदाले कोरोना लहरको पहिलो चरणमा काम गरेवापत २ महिनाको ६४ हजार रकम मात्र जोखीमभत्ताबापत प्राप्त गरिन् । त्यसयता हालसम्म कुनैपनि रकम प्राप्त नगरेको उनको भनाई छ । उनीजस्तै, भेरी अस्पतालको कोभिड वार्डमा रहेका विरामीको सेवाका लागि नर्स सुनिता बुढा पनि बिहान ७ बजे नै घरबाट निस्किन्छिन् । दिनभर विरामीको सेवामा रहने उनी साँझ ७ बजेमात्र घर फर्किन्छिन् । उनले महामारीकै क्रममा व्लड क्यान्सरबाट पीडीत आफनो श्रीमान् गुमाइन् । श्रीमान् गुमाएको पिडामा रहेकै समयमा पनि उनले बिरामीको सेवामा समय दिन छोडिनन्। उनीजस्तै करीब एक हजारको संख्यामा रहेका नर्सहरुले बाँकेका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थामा रहेर कोभिडविरुद्ध स्वास्थ्य सेवा दिइरहेका छन् ।

गतवर्षकै जोखीम भत्ता पाएनन्

कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले ०७६ चैत ११ गतेदेखिको भत्ता दिने निर्णय गरेको थियो । अस्पतालमा प्रयोगशाला, एक्सरे र कोभिड–१९ का बिरामी हेर्ने स्वास्थ्यकर्मीले शतप्रतिशत, प्राविधिकले ७५ र प्रशासनका कर्मचारीले ५० प्रतिशतका दरले जोखिम भत्ता पाउने बताइएको थियो । तर, सरकारले गत कात्तिक महिनापछि जोखिम भत्ता दिन वन्द गर्‍यो।

सरकारको व्यवहारका कारण स्वास्थ्यकर्मीहरु निरुत्साहित छन् । कोरोनाको पहिलो लहरमा खटिएका स्वास्थ्यकर्मीहरुले सम्मान, प्रोत्साहन र सरकारले दिने भनेको जोखीम भत्ता नपाएपछि दोश्रो लहरमा खटिनेको संख्या कम देखिएको एम्वुलेन्स चालकहरुका अगुवा राजीव गुप्ताले बताए । यस्तो महामारीमा समाज र राज्यबाट उचित सम्मान र प्रोत्साहन नमिलेको पनि उनले बताए ।

सरकारले २०७८ वैशाख १९ गते पुनः २०७८ वैशाखदेखि कोभिड नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएकाहरुलाई ६ महिनासम्म सुरुको महिनाको तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको छ । उक्त निर्णयपछि लुम्बिनी प्रदेशमा जोखिम भत्ता वितरणको प्रक्रिया पुनः सुरु भएको स्वास्थ्य निर्देशनालय बुटवलको भनाइ छ । जोखिम भत्ता वितरण अस्पतालहरुमार्फत नै हुने भएकाले यसबारे आफुहरुसँग एकिन तथ्याङक नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यता नेपालगन्ज उपमहानगरपालीकाका २ सय बढि स्वास्थ्यकर्मीहरुले चालु आर्थिक वर्ष २०७६÷०७७ को समेत जोखीम भत्ता पाएका छैनन् । एक वडामा एउटा स्वास्थ्य संस्था छ । ती स्वास्थ्य संस्थामा ४ देखी ६ जनासम्म स्वास्थ्यकर्मी कार्यरत रहेको बाँकेका कोरोना फोकल पर्सन तेज वलिले बताए । यसरी हेर्दा २३ वडाका करीब १ सय बढिले जोखीम भत्ता पाएका छैनन् ।

होम आइसोलेसनमा खटिएर काम गर्दै आएकी नेपालगन्ज–१२ वेलासपुर स्वास्थ्य चौकी इन्चार्ज आरति चौधरीले पनि हालसम्म जोखिम भत्ता प्राप्त नगरेको बताइन् । कोभिड महामारीमा निरन्तर खटिरहे पनि हालसम्म तलबबाहेक कुनै पनि अतिरिक्त रकम नपाएको उनको भनाई छ ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले सरकारलेसमयमा रकम नपठाएका कारण उपलव्ध गराउन नसकिएको बताए । उपमहानगरमा चैत्र २०७६ देखि असार २०७७ सम्मको जोखिम भत्ता वितरण भइसकेको पनि उनले बताए । उपमहानगरपालिकाले यस वर्ष कोभिड महामारी नियन्त्रणका लागि होम आइसोलेसन र कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीलाई मात्रै जोखिम भत्ता दिने निर्णय गरेको छ जसअन्र्तगत पहिलो प्राथमिकता दिदै होम आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीका लागि यातायात र सञ्चार खर्च स्वरुप ५ लाख ५५ हजार रुपैयाँ भुक्तानीका लागी पठाइएको उनले जानकारी दिए ।

२ महिनाको मात्रै जोखिम भत्ता
पश्चिम नेपालको ठूलो स्वास्थ्य संस्था भेरी अस्पतालका स्वास्थ्यकर्मीले गत आर्थिक बर्षको २ महिनाको मात्र जोखिम भत्ता पाएका छन् । पहिलो चरणको कोरोना संक्रमण फैलिएको समयमा सेवा गरेवापत आर्थिक वर्ष २०७६।०७७ को दुई महिनाको मात्र जोखिम भत्ता पाएको भेरी अस्पतालका फिजिसियन डा. पारस श्रेष्ठले बताए । चालु आर्थिक वर्षको हालसम्म जोखिम भत्तावापत अन्य कुनैपनि रकम नपाएको उनले बताए । अस्पतालमा कार्यरत नर्सहरु पनि जोखिम भत्ता नपाएको बताउँछन् ।

भेरी अस्पतालमा प्रदेशले खटाएका स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले नै जोखिम भत्ता दिने गरेको अस्पतालले जनाएको छ । अस्पतालका अन्य कर्मचारीलाई कर्मचारी व्यवस्थापन, जोखीम भत्ता, औषधि लगायतको व्यवस्थापन गर्नुपर्ने भएकाले २ महिनाबाहेक अन्य समयको जोखिम भत्ता खुवाउन नसकिएको मेडिकल सुपरीटेन्डेन्ट डा.प्रकाश थापाले बताए । सरकारले जोखिम भत्ताको लागि भनेर छुट्टै रकम नपठाएको र त्यही रकमबाट अस्पताल व्यवस्थापनका सबै कामहरु गर्नुपर्ने भएकाले सरकारले भनेअनुसार जोखिम भत्ता दिन नसकिएको थापाको भनाइ छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार भेरी अस्पतालमा जोखिम भत्ता, औषधि व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन शिर्षकमा यो वर्ष १७ करोड ५२ लाख बढी रकम विनियोजन भएको छ ।

नर्सीङ होमका १४ सय स्वास्थ्यकर्मीले पारीश्रमीक नै पाएनन्
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत १४ सय बढी स्वास्थ्यकर्मीले २ महिनाको पारीश्रमीक नै पाएका छैनन् । कोरोनाका कारण आर्थिक कारोबार घटेपछि कोहलपुर र नेपालगन्जमा कार्यरत १४ सय बढीलाई गत वैशाख र जेठको तलब खुवाउन नसकिएको शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. नितेस कनोडियाले जानकारी दिए । स्वास्थ्यकर्मीको करीब ७ करोड रुपैयाँ तलब भुक्तानी गर्न बाँकी छ । अन्य सामाग्रीहरुको खर्च पनि उठाउन नसक्ने अवस्थामा अस्पताल रहेको कनोडियाको भनाई छ ।

कोरोना महामारीको बेला खटिएका नर्सहरुले समेत न्यूनतम पारिश्रमिक पाउन नसकेको नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी वलीले बताइन् । एएनएम पदका लागि सरकारले न्युनतम २२ हजार ५ सय पारिश्रमिक तोकेको छ । तर, जिल्लामा नर्सहरुले अधिकतम १५ हजार तलबमा काम गर्नुपर्ने वाध्यता रहेको अध्यक्ष वलीले बताए । कतिपयले १२ हजार रुपैयाँको पारिश्रमिकमा मात्रै सेवा गरिरहेको पनि उनले बताइन् ।

लुम्बिनीमा ४५ लाखलाई २ हजार स्वास्थ्यकर्मीले सेवा दिदै
जनगणना २०६८ बमोजिम लुम्बिनी प्रदेशको कूल जनसंख्या ४५ लाख ४० हजार २ सय २२ रहेको देखीन्छ । लुम्बिनी प्रदेशमा हाल १ हजार पाँच सयभन्दा बढी स्वास्थ्यकर्मी छन् । यस हिसाबले एक जना स्वास्थ्यकर्मीको भागमा ३ हजार २६ जना मानिसहरुको उपचार जिम्मा छ । प्रदेशमा कोभिडका लागि भनेर अस्थायी दरबन्दीमार्फत ५ सय ८३ जना स्वास्थ्यकर्मी थपिएको स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

Sharing is caring!