स्वास्थ्य सुधार्दै स्थानीय सरकार

दीपक बोहरा २०७७, अशोज दाङ

यस बर्ष साउन १२ गते राप्ती गाउँपालिकाको अर्नहनपुरका सात बर्षीय वालक सर्पले टोकेर मरे ।

जेठ ११ गते लमही नगरपालिकाको तेलियाका नौ बर्षीय बालिका पनि सर्पको टोकाइबाट मरिन ।

गिलन आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार सर्पले टोकेर दाङमा यस बर्ष दुईजनाको र गएको बर्ष १३ जनाको मृत्यु भयो ।

सर्पले टोकेकोमा आधुनिक उपचार प्रभाबकारी नहुँदा यस्ता विरामीले धामीझाक्रीको झारफुकमा भर पर्नु परेको छ ।

दांङमा सर्पको टोकाईबाट मात्रै होईन्, घरमै सुत्केरी हुँदा पनि मानिसको अकालमा मृत्यु हुने गरेको छ । घरमै सुत्केरी हुँदा २०७५ फागुन १९ गते लैबरुवा निवासी १७ वर्षीया किशोरीको मृत्यु भएको थियो ।

स्वास्थ्य क्षेत्रमा यस्ता समस्या देखिएपछि दाङका पालिका गम्भीर बनेका छन् । अहिले गढवा गाउँपालिकाले नेपाली सेनासंग सहकार्य गरेर सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । त्यस्तै लमही नगरपालिकाले पनि सर्पदंश उपचार केन्द्र स्थापना गर्ने भएको छ ।

दांङमा अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल छन् तर यहाँ सर्पदंशको उपचार हुँदैन् । यहाँ आएका सर्पदंशका विरामीलाई अन्यत्र पठाइन्छ ।

देउखुरी क्षेत्रमा सर्पदंश उपचार केन्द्र स्थापना भएपछि यस्ता समस्या अन्त्य हुने गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलासचन्द्र चौधरीले बताए । पालिकाको निर्वाचन भएपछि यस्तो सकारात्मक अभ्यास भएको उनले बताए ।

चालु आर्थिक बर्ष २०७७÷०७८ मा दाङको राप्ती गाउँपालिकाले तीन करोड ६८ लाख, बंगलाचुली गाउँपालिकाले एक करोड ५ लाख, बबई गाउँपालिकाले एक करोड दुईलाख, राजपुर गाउँपालिकाले ६५ लाख, दंगीशरण गाउँपालिकाले ६२ लाख, गढवा र शान्तिनगर गाउँपालिकाले ५०÷५० लाख बजेट स्वास्थ्यका लागि छुट्याएका छन् ।

यस बर्ष कोरोना महामारीलाई लक्षित गरेर पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट छुट्याइएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण रावतले बताए । ‘यस बर्ष हामीले स्वास्थ्यलाई बिशेष प्राथमिकता दिएर बजेट बिनियोजन गरेका छौं’, उनले भने ‘ कोरोनाको महामारी भएर पनि यस बर्ष स्वास्थ्यमा बढि बजेट आएको हो ।’

स्थानीय तहको निर्वाचन भएपछि स्वास्थ्यको बजेटमा उल्लेख्य वृद्धि भएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताए । उनले भने ‘पहिले स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रमा केही सामान्य समस्या देखिए पनि केन्द्रको बजेट पर्खनुपथ्र्याे तर स्थानीय स्तरमा देखिएका समस्याबारे स्थानीय सरकारलाई बढी थाहा हुन्छ । त्यसैले पनि यस्ता काममा प्राथमिकताका साथ लाग्ने गरिन्छ ।’

अहिले गाउँ–गाउँमा डाक्टरको व्यवस्था समेत गरिएको छ ।

दाङको बबई र शान्तिनगर गाउँपालिका बाहेक अन्य पालिकामा डाक्टर उपलब्ध छन् । राजपुर गाउँपालिकाको स्वास्थ्य चौकी राजपुरमा एकजना, दंगीशरण गाउँपालिकाको श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा दुईजना, गढवा गाउँपालिकाको स्वास्थ्य चौकी गढवामा एकजना, बंगलाचुली गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र स्यूजामा दुईजना, दाङको राप्ती गाउँपालिकाको स्वास्थ्य चौकी सिसहिनया र लालमटिया स्वास्थ्य चौकीमा एक÷एक गरि दुई चिकित्सक रहेका छन् ।

अहिले गाउँपालिकाका डाक्टरहरु भएपछि उपचारमा सहज भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रावतले बताए । उनका अनुसार यस अघि स्वास्थ्य सहायकहरुले सञ्चालन गर्दै आएका स्वास्थ्य चौकीमा डाक्टर गएपछि प्रभाबकारी स्वास्थ्य सेवा प्रवाह भएको छ ।

पालिकाहरुमा स्वास्थ्यका कार्मचारी पनि पर्याप्त छन् । बबई गाउँपालिकामा १० जना स्वास्थ्य सहायक, ८ जना अनमी, ५५ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । त्यस्तै राजपुर गाउँपालिकामा १६ जना स्वास्थ्य सहायक, १५ जना अनमी, ५४ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । त्यस्तै दंगीशरण गाउँपालिकामा १६ जना स्वास्थ्य सहायक, १ जना नर्स, १३ जना अनमी र ५१ जना महिला स्वास्थ्य सेविका छन् । गढवा गाउँपालिकामा पनि २० जना स्वास्थ्य सहायक, १८ जना अनमी, ८३ महिला स्वास्थ्य स्वयंसेविका छन्, भने बंगलाचुली गाउँपालिकामा स्वास्थ्य सहायक १७, अनमी १९, महिला स्वास्थ्य स्वयंसेवक ५४ जना, राप्ती गाउँपालिकामा स्वास्थ्य सहायक १२, अनमी १२, महिला स्वास्थ्य स्वयंसेविका ६४ जना र शान्तिनगर गाउँपालिकामा ६ जना स्वास्थ्य सहायक, १३ जना अनमी, ४८ जना स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

दाङमा प्रायः सबै गाउँपालिकाले विपद व्यबस्थापन तथा प्रतिकार्य योजना निर्माण गरेका छन् । दंगीशरण र शान्तिनगर गाउँपालिकाले भने यस्तो योजना बनाउँदैछन् । सबै गाउँपालिकाले विपद व्यबस्थापन कोषमा उल्लेख्य पैसा राखेका छन् । गढवाले एक करोड ३५ लाख, राजपुरले एक करोड, बंगलाचुलीले ७० लाख, बबईले ५० लाख, शान्तिनगर गाउँपालिकाले ४० लाख छुट्याएको छ । राप्ती गाउँपालिकाले भने विपद कोषमा रकम छुट्याएको छैन् ।

सबै पालिकामा प्रयोगशाला

दाङका सातवटै गाउँपालिकामा प्रयोगशालाको व्यबस्था गरिएको छ । ‘पहिले कुनै रोग पत्ता लगाउन राजपुरबाट कि त लमही, कि त घोराही, नाका क्षेत्रका व्यक्ति भारत समेत जानु पर्ने अबस्था थियो’, राजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलबहादुर रोकायले भने‘ तर, अब यो समस्या छैन ।’ बबईमा एउटा, राजपुर र राप्तीमा दुई÷दुईवटा, दंगीशरण, बंगलाचुली र गढवामा चार÷चारवटा र शान्तिनगर गाउँपालिकामा ३ वटा प्रयोगशालाको व्यबस्था गरिएको छ ।

१५ सैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढ्दै

दाङ गाउँपालिकाहरुले १५ सैयाको अस्पताल निर्माण प्रक्रिया अघि बढाएका छन् । सबै पालिकामा १५ सैयाको अस्पताल बनाउने संघीय सरकारको योजना अनुसार पालिकाहरुले यो प्रक्रिया अघि बढाएका छन् । दाङको बंगलाचुली गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र स्यूजालाई १५ सैयाको अस्पताल बनाउन लागेको छ ।

अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले बताए । अन्य पालिकामा भने यो काम कागजी प्रक्रियामै सीमित छ ।

वडा–वडामा स्वास्थ्य संस्था

दाङका दशवटा पालिकामध्ये सात गाउँपालिका छन् । यी गाउँपालिकाले सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्न लागेका छन् । दाङको गढवा गाउँपालिकाका ३ र राप्ती गाउँपालिकाका ४ वटा वडा बाहेक अन्य गाउँपालिकाले वडा–वडामा स्वास्थ्य संस्था चलाएका छन् । शान्तिनगर गाउँपालिकाका ७, राजपुरका ७, दंगीशरणका ७, बबईका ८, बंगलाचुलीका ८ वटा वडामा स्वास्थ्य संस्था छन् । त्यस्तै राप्ती गाउँपालिकाका ९ वटा वडामध्ये ४ वटामा स्वास्थ्य संस्था पुग्न सकेका छैनन् भने गढवाका ८ वटा वडामध्ये ३ वटा वडामा अझै स्वास्थ्य संस्था पुग्न सकेका छैनन् ।

नागरिकलाई घर आँगनमै सेवा दिन वडावडामा स्वास्थ्य संस्था पु¥याएको बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जिसीले बताए । ‘स्थानीय सरकार आएपछि सबै वडामा स्वास्थ्य संस्था पु¥याउने अबधारण अघि बढाईयो ।’

अहिले वडा–वडामा स्वास्थ्य संस्था पुगेपनि गुणस्तरीय सेवामा ध्यान दिन भने अभैm बाँकी रहेको बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले बताए । ‘त्यहाँ सामान्य विरामीको मात्रै उपचार हुन्छ, ठूलो विरामी परेमा गाउँपालिकामा उपचार हुन सक्दैन । त्यसैले वडा–वडामा, गाउँ–गाउँमा स्वास्थ्य संस्था पु¥याउने भन्दा पनि सबै जनशक्ति केन्द्रीत गरेर गाउँपालिकामै प्रभाबकारी र दक्ष चिकित्सकसहितको सेवा दिने नीति बनाउनुपर्छ,’ उनले भने ।

यसरी गाउँमै स्वास्थ्य संस्था सञ्चालन भएपछि विगतजस्तो समस्या नभएको दंगीशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले बताए । ‘पहिले उपचारका लागि विकट क्षेत्रका नागरिक बजार आउनु पथ्र्याे, आवतजावतमा खर्च धेरै लाग्थ्यो । अहिले विरामी पर्दा उनीहरु गाउकै स्वास्थ्य संस्थामा पुग्छन्,’ गिरीले बताए ।

पछिल्लो समय जनप्रतिनिधिले जनतामाझ गरेको बाचा पूरा गर्न पनि यसरी वडा–वडामा स्वास्थ्य संस्था सञ्चालन गरेकाले जनतालाई स्वास्थ्य सेवा लिन सजिलो भएको बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर खड्काले बताए ।

Sharing is caring!