प्रदेश ५ का आठ वटा गाउँपालिका एम्बुलेन्स बिहिन छन् । एम्बुलेन्स सेवा नपुगेका गाउँपालिकामा गुल्मीको सत्यवति, रुकुम पुर्वका सबै गाउँपालिका सिस्ने, भुमे र पुथाउत्तरगंगा, रोल्पाका त्रिवेणी, सुनछहारी र लुङग्री तथा सल्यानको कुमाख गाउँपालिका छन् । यहाँका बासिन्दाले विरामी पर्दा डोको खोज्नुुपर्छ ।
सत्यवति गाउँपालिकाले गत बर्ष एम्बुलेन्स खरिद गर्ने प्रक्रिया थाले पनि केही समस्या भएकाले यस वर्ष खरिद गर्न लागेको कुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । गाउँपालिकाका उपप्रमुख सुर्वण शाही शेरचनले एम्बुलेन्सको बिषय आफुहरुलाई पनि निकै गम्भीर लागेको बताइन् । ‘भौतिक निर्माणसंगै कृषकले समेत गाडी पाउँदा एम्बुलेन्स नहुनु दुखद बिषय हो । यो बर्ष अवश्य खरिद गर्छाैँ ।’
रुकुम पुर्वका सिस्ने र भुमे गाउँपालिकाले पनि गत आर्थिक वर्ष एम्बुलेन्स खरिद गर्ने प्रक्रिया थालेका थिए । तर त्यो प्रक्रिया पूरा भएन् । आर्थिक बर्षको अन्तिमतिर मात्रै खरिद प्रक्रिया सुरु गरेकाले कम्पनीले गाडी उपलब्ध गराउन नसकेपछि एम्बुलेन्स खरिद प्रक्रिया अन्तिममा आएर रद्द भएकाले समस्या भएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए ।
रोल्पाको त्रिवेणी गाउँपालिकाले यो बर्ष खरिद गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख शान्त कुमार वलीले बताए । उनका अनुसार अहिले बिरामी स्वास्थ्य संस्थामा जानु परे या त सार्वजनिक गाडी चढ्नुपर्छ या स्ट्रेचर र डोकोमा बोकिनुपर्छ । सुन छहारी गाउँपालिकाकाका अध्यक्ष आशबहादुर पुनले ठाउँ ठूलो भएकाले र सवै ठाउँमा सडक नपुगेकाले एम्बुलेन्स खरिद नगरेको बताए । रोल्पाको लुङग्री गाउँपालिकाकाले मन्त्रालयबाट एम्बुलेन्स पाउनका लागि प्रयास गरिएको तर अहिलेसम्म नपाएको कुरा गाउँपालिका प्रमुख दुर्गाबहादुर खड्काले बताए । यस वर्ष एम्बुलेन्स खरिद गर्ने योजना बनाएको पनि उनले बताए ।
सल्यानको कुमाख गाउँपालिकाका प्रमुख दिलमाया बुढामगरले कुनै समस्या परे अहिलेसम्म गाउँपालिकाको गाडीबाट काम चलाएको बताइन् । उनले अहिलेसम्म एम्बुलेन्स खरिद गर्ने बारेमा आफुहरुले कुनै निकायसंग पहल नगरेको बताइन । तर यो बर्षदेखि गाउँमा एम्बुलेन्सहरुको माग भएकाले खरिद गर्ने वा अन्य निकायसंग माग गर्ने भन्ने बिषयमा कार्यपालिकामा छलफल गरेर अगाडी बढ्ने बुढामगरले बताइन् ।
गुल्मीको जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र सत्यवति गाउँपालिकामा पर्छ । यस केन्द्रले दैनिक एक सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन् । यस गाउँपालिकाका बासिन्दा यो स्वास्थ्य केन्द्र भन्दा अन्यत्र गएर पनि स्वास्थ्य सेवा लिन्छन् । जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर शिला ढकालले एम्बुलेन्स नहुँदा धेरै नागरिक मर्कामा परेको बताइन् । अक्सिजन चाहिने बिरामीलाई अरु सवारी सधानमा राख्न नमिल्ने भएकाले त्यस्ता विरामीलाई झन धेरै समस्या परेको डा. ढकालले बताइन् ।
डा. ढकालका अनुसार, एउटा अस्पतालबाटबाट अर्काे अस्पताल पठाउनु पर्ने र अक्सिजन चाहिने विरामी लैजान एम्बुलेन्स नभइ हुँदैन । केही समय पहिले नियोनियाको सिकिस्त बच्चालाई रुरु गाउँपालिकाबाट एम्बुलेन्स बोलाएर पाल्पा पठाएको बताइन् पनि बताइन् । एम्बुलेन्समा अक्सिजनको व्यवस्था हुने, अरु गाडीभन्दा छिटो पुग्ने, सधैँभरि तयारी अवस्थामा रहने र पैसा पनि सस्तो पर्ने भएकाले एम्बुलेसन्स महत्वपूर्ण रहेको पनि डा. ढकालले बताइन् । धेरै बर्ष पहिले यहाँ रेडक्रसको एउटा एम्बुलेन्स भएपनि अहिले त्यो बिग्रिएको छ ।
सत्यवति गाउँपालिकामा आठ वडा छन् । भौगोलिक हिसाबले पनि विकट भएकाले कुनै दुर्घटना, सुत्केरी, बृद्धबृद्धा र तत्काल स्वास्थ्य संस्थामा पु¥याउनु पर्ने बिरामीहरुलाई समस्या पर्ने गरेको छ । एम्बुलेन्स नभएकाले एम्बुलेन्सका तुलनामा दोब्बर भाडा तिरेर अरु गाडीमा लानुपर्ने अवस्था रहेको कुरा सत्यवति गाउँपालिकाका स्वास्थ्य संयोजक सुर्य बहादुर रानाले बताए । ‘बिरामी पाल्पा पठाउँदा एम्बुलेन्सले चार हजार पाँच सयदेखि पाँच हजार रुपैयाँ सम्म लिन्छ भने अरु गाडीलाई आठ÷नौ हजार रुपैयाँ तिर्नुपर्छ । त्यसैले नागरिकलाई मर्का परेको छ,’ रानाले भने ।
रोल्पा पनि भौगोलिक हिसावले निकै विकट छ । लुङग्री गाउँपालिका सवै ठाउँमा सडक पुगेको छैन् । गर्भवतिहरुलाई व्यथा लागे कहिलेकाँही हेलिकप्टर खोज्नुपर्ने बाध्यता रहेको कुरा गाउँपालिका प्रमुख आश बहादुर पुनले बताए । त्यस्तै रुकुम पुर्वको जिल्ला अस्पतालका डाक्टर राजेन्द्र जिसीले एम्बुलेन्स नभएकाले स्वास्थ्य क्षेत्रमा निकै समस्या परेको बताए । उनले जिल्लामा उपचार नभएर विरामीलाई नेपालगञ्ज पठाउन पर्दा बिरामीले २० देखि २५ हजार रुपैयाँ खर्च गर्नु पर्ने अवस्था रहेको उनले बताए ।
एम्बुलेन्स पुगेका केही गाउँपालिकामा एम्बुलेन्स सेवा निःशुल्क भनिएको छ तर व्यवहारमा त्यसो छैन । कालीगण्डकी गाउँपालिकामा एउटा एम्बुलेन्स छ । गाउँपालिकाले पारित गरेको यो बर्षको स्वास्थ्य तथा पोषण नीतिमा वर्थिङ्ग सेन्टरसम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उल्लेख छ । गाउँबाट स्वास्थ्य संस्थाको दुरी लामो र अरु सार्वजनिक सवारी साधन कम भएकाले आवश्यक छ ।
छत्रकोट गाउँपालिकामा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै एम्बुलेन्स छ । त्यो पनि धेरै पुरानो । श्रृङ्गा बाहेक अरु वडाका हिँड्न नसक्ने विरामीले स्वास्थ्य संस्था पुग्न भाडाका गाडी लिनुपर्छ । गाउँपालिकाले आर्थिक बर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रममा दुई बर्षमा कुनै पनि महिलालाई घरमा असुरक्षित तरिकाले सुत्केरी हुन नदिने कुरा उल्लेख छ । तर त्यसका लागि चाहिने एम्बुलेन्स खरिदको बिषय प्राथमिकतामा नपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले बताए । ‘गाउँपालिका भित्र श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको मात्रै एम्बुलेन्स छ । यो विषय संवेदनशील भए पनि यस बारेमा बहस र छलफल कहिल्यै भएको छैन,’ पौडेलले बताए ।