स्वरोजगार नहुँदा युवा पलायन रोकिएन

महेश न्यौपाने २०८० चैत रोल्पा

रोल्पा नगरपालिका ४ का शिवराम वि.क. लामो समयदेखि विदेशमा काम गर्दै थिए । कोरोना लागेपछि नेपाल फर्केका थिए । उनीजस्ता रोजगारी गुमाएका युवाहरूलाई स्वरोजगार बनाउन रोल्पा नगरपालिकाले अनुदान दिएको थियो । यस्तै अनुदान पाएर शिवरामले बाख्रा पाल्दै थिए तर व्यवसाय असफल भएपछि उनी फेरि खाडी फर्किए ।

रोल्पा नगरपालिकै भरत महरा ऋण काडेर विदेश गएका थिए । ऋण तिरि नसक्दै कोरोनाले गर्दा उनले काम गरेको कम्पनी बन्द भएपछि उनी घर फर्किएका थिए । उनले पनि यहीँ काम गरेर बस्न खोजेका थिए । त्यसो गर्न नसकेपछि फेरि ऋण खोजेर विदेश जान खोजे । ऋण नपाएपछि अचेल उनी भारत गएर काम गर्दैछन ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार पहिलो चरणको कोरोना कालमा ४ हजार २३८ जना रोल्पाली रोजगारी गुमाएर स्वदेश फर्किएका थिए । यीमध्ये भारतबाट फर्केका ३ हजार २ सय १७ जना र मलेसिया तथा खाडी मुलुकहरूबाट १ हजार २१ जना थिए । मलेसिया र खाडी जानेहरूमध्ये प्रायः सबैले ऋण लिएका थिए । यसरी फर्किएकाहरूलाई स्वरोजगार बनाउन लुम्बिनी प्रदेश सरकार भूमी व्यवस्था तथा कृषि मन्त्रालयले कोभिड विशेष कृषि कार्यक्रम चलाएको थियो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पालिकालाई बजेट उपलव्ध गराएको थियो । यसको मुख्य उद्देश्य स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु थियो । यस कार्यक्रमअन्तर्गत अनुदान पाउन रोल्पाका दुई हजार ५ सय ९० जनाले प्रस्ताव पेश गरेका थिए । तीमध्ये ७ सय ७७ जना छनौट भएका थिए । उनीहरूलाई प्रतिव्यक्ति २० हजारका दरले १ करोड ५५ लाख ४० हजार रुपैयाँ अनुदान दिइएको थियो । दोश्रो वर्ष २ हजार ३ सय २५ जनाले प्रस्तावना पेश गरेका थिए । तीमध्ये छनोट भएका ८ सय ४० जनालाई १ करोड ६८ लाख रुपैयाँ अनुदान दिइएको थियो ।

यस कार्यक्रमको अवस्था र प्रभाकारिता बारेमा अनुगमन भएको छैन । स्थानीय तहका उपप्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिले भौतिक पूर्वाधारको मात्रै अनुगमन गर्छ । यस्ता कार्यक्रमको अनुगमनमा चासो नदिएको महिला अगुवा तीर्था आचार्यले बताइन् । ‘साना योजनामा उनीहरूको ध्यान जाँदैन’, आचार्यले भनिन् । पालिकाले भने पटक–पटक अनुगमन गरेको दाबी गर्दै आएका छन् । रोल्पा नगरपालिकाको कृषि शाखा प्रमुख महेन्द्र पुनले प्रस्तावअनुसार काम भयो कि भएन भनेर सम्बन्धित वडा र नगरपालिकाको तर्फबाट छुटटा–छुट्टै अनुगमन गर्ने गरेको बताए । ‘कार्यक्रम वडाहरूको सिफारिसका आधारमा हुने भएकाले वडाहरू पनि उत्तिकै उत्तरदायी छन्’, पुनले भने । बजेट खर्चको भौतिक र वित्तिय अवस्थाको अनुगमन गरेपनि कार्यक्रम प्रभावकारीताको भने अनुगमन गरेका छैनन् । कर्मचारी नभएकाले नियमित अनुगमन गर्न नसकिएको कृषि शाखा प्रमुख पुनले बताए । ‘अन्य कार्यक्रममा जाँदा एकाध लाभग्राहीको अनुगमन गरेका छौँ’ पुनले भने ।

रोल्पा नगरपालिका भित्र सो वर्ष वैदेशिक रोजगारीबाट ३०० जना फर्किएका थिए । यसरी फर्कने मध्ये कोही कोरोनाले गर्दा कम्पनी छोडेर फर्किएका थिए भने कोही कोरोनाबाट बच्न, कोही स्वास्थ्य परीक्षणमा असफल भएकाले फर्किएका थिए । पहिलो वर्ष अनुदान पाउन रोल्पा नगरपालिकाले तरकारी र फलफुलका लागि कम्तिमा दुई रोपनी जग्गा, मौरी पालनका लागि ३ वटा घार, च्याउखेतीका लागि ५० गोला, कुखुरापालनका लागि ५० वटा चल्ला, बाख्रा बंगुरपालनका लागि कम्तिमा ५ वटा पाठापाठी भएको हुनुपर्ने शर्त निर्धारण गरेको थियो । वडा कार्यालयमा पेश भएका प्रस्तावहरूको सम्बन्धित वडा कार्यालयले अध्ययन गरी सिफारिस गरेअनुसार कार्यक्रम व्यवस्थापन समितिले निर्णय गरेको भन्दै नगरपालिकाले छनौट भएका कृषकको नामावली प्रकाशन गरेको थियो । अनुदानका लागि निवेदन दिएका ८ सय १३ मध्ये बाख्रापालनका लागि ७० जना, बंगुरपालनका लागि १२ जना, कुखुरापालनका लागि १० जना, मौरीपालनका लागि ४ जना र फलफुल खेतीका लागि १ जनासमेत ९७ जनालाई छनोट गरिएको थियो । उनीहरूलाई प्रति कृषक बढीमा २० हजार रुपैयाँका दरले १९ लाख ४० हजार रुपैयाँ अनुदान दिइएको थियो । दोश्रो वर्ष नगरपालिकाले ४२ जना युवाहरूलाई १७ लाख २० हजार रुपैयाँ अनुदान दिएको थियो । नगरपालिका अनुसार ती युवाहरूलाई उद्यमशील बनाउने काम भईरहेको छ । पहिलो चरणमा ३२ जना युवाहरूलाई तीन दिने व्यवसायिक पशुपालन तालिम दिइएको थियो । उनीहरूलाई प्रविधि हस्तान्तरण र अनुदान थप गर्ने तयारी समेत भईरहेको रोल्पा नगरपालिकाले बताएको छ । व्यवसायिक ढंगले कृषि गर्नका लागि चाहिने सामग्री खरिद गरेको बील भपाई पेश गरेका आधारमा नगरपालिकाले उनीहरूलाई अनुदान दिएको थियो ।

विप्रेशनबाट प्राप्त एक प्रतिशत मात्र आयआर्जन

२०७९ सालमा रोल्पा नगरपालिकाले बैदेशिक रोजगारीमा रहेकाहरूको घरधुरी सवेक्षण गरेर बैदेशिक रोजगारी सम्बन्धि विवरण लिएको थियो । सो सर्वेक्षणअनुसार, नगरपालिकाको कुल सात हजार १ सय ३३ घरधुरी मध्ये ४० प्रतिशत घरधुरी (दुई हजार ८ सय ८१) का तीन हजार एक सय ६४ युवाहरू वैदेशिक रोजगारीमा गएका थिए । तीमध्ये ३८ प्रतिशत (१०७६ घरधुरीका) १ हजार एक सय ६४ जना युवाहरु स्वदेश फर्किसकेका छन भने बाँकी ६२ प्रतिशत (१८०५ घरधुरीका) २ हजार युवा अझै विदेशमा छन ।

आर्थिक वर्ष २०७८/०७९ मा रोल्पा नगरपालिकामा उनीहरूले ४६ करोड ९० लाख रुपैयाँ पठाएका थिए । रोल्पा नगरपालिकाको तथ्यांक अनुसार यो रकम मध्ये एक प्रतिशत मात्र आय आर्जनका काममा खर्च भएको छ । सबैभन्दा धेरै २८ प्रतिशत ऋण तिर्न खर्च गरिएको थियो, १८ प्रतिशत बचत गरिएको र १३ प्रतिशत घरखर्चमा लगाइएको थियो । यस्तै गरी विप्रेषणमध्ये ६ प्रतिशत स्वास्थ्य उपचारमा, ८ प्रतिशत जग्गा किन्न, १२ प्रतिशत घर बनाउन, ४ प्रतिशत ऋण लगानी गर्न र ४ प्रतिशत सम्पत्ती जोड्न खर्च भएको थियो । यसरी प्राप्त विप्रेशन मध्ये ८३ प्रतिशत खाडी मुलुक तथा मलेसियाबाट भित्रिएको थियो । विप्रेशनवाट रकम पाएकामध्ये १३ जनाले मात्रै व्यवसाय थालेका थिए । रोल्पाबाट कामका लागि विदेश जानेमध्ये सवैभन्दा धेरै मलेसिया र खाडी मुलुक जान्छन् । सवभन्दा वढी युवाहरु साउदी अरव २७ प्रतिशत, मलेसिया १७ प्रतिशत, कतार १३ प्रतिशत, यूएई दुवई ९ प्रतिशत रहेका छन । १ प्रतिशत युवा यूरोपियन देश र ७ प्रतिशत युवा अन्य मुलुक र वाकी २६ प्रतिशत युवा भारत जाने गरेको देखिएको छ ।

तालिका : १, कुन देशमा कति रोल्पा नगरवासी
देशसंख्या (प्रतिशतमा)
साउदी अरब२७
मलेसिया१७
कतार१३
यूएई, दुबई
यूरोप
अन्य मुलुक
भारत२६
श्रोत : रोल्पा नगरपालिका

प्रस्तुत तथ्यांक रोल्पा नगरपालिकाको मात्रै भएपनि समग्र रोल्पाको अवस्था मिल्दोजुल्दो रहेको वैदेशिक रोजगारीका जानकारहरू वताउँछन । वैदेशिक रोजगारीमा जानेको देश र कामको प्रकृती सबै स्थानीय तहको मिल्दोजुल्दो देखिन्छ सुरक्षित वैदेशिक रोजगारीका अभियान्ता शुकलाल रोकामगरले भने । उनीहरूमध्ये ८९ प्रतिशत अदक्ष कामदार हुन । बाँकी ११ प्रशित मात्रै अर्ध दक्ष वा दक्ष काममा जाने गरेका छन् । उनीहरूले सेल्समेन, सुरक्षा गार्ड, वेटर, मेसन, गार्मेन्ट, पलम्बर, कुक, कार्पेन्टर र ईलेक्टिसियन जस्ता काम गर्दछन् ।

Sharing is caring!