न वने पर्यटन पूर्वाधार, न आए पर्यटक : खर्च अरब बढी

महेश न्यौपाने २०८१ वैशाख रोल्पा

बिना कुनै योजना, नीति तथा सम्भाव्यता अध्ययन समेत नगरी लहडमा सुरु गरिएको पर्यटन विकास भ्यूटावर, गेट र पार्कका टालटुले काममा सीमित छ । पर्यटन पूर्वाधार निर्माण गर्ने भन्दै बितेका करिव १७ वर्षमा रोल्पा जिल्लामा १ अरबभन्दा वढी वजेट खर्च भईसकेको वताईन्छ । यति ठूलो वजेट खर्च हुदा पनि जिल्लामा पर्यटनको भरपर्दो आधार भने अझै तयार भईसकेको छैन ।

रोल्पा र रुकुम द्वन्द्वका केन्द्र बिन्दु थिए । दश वर्षसम्म विकासका गतिविधि जिल्ला सदरमुकाम बाहिर लैजान माओवादीले निषेध गरेका थिए । त्यसैले, त्यहाँ अरु कुरामा जस्तै पर्यटन क्षेत्र पनि फस्टाउन पाएन । तत्कालिन रोल्पा जिल्ला विकास समितिको आर्थिक वर्ष २०६३/०६४ को वार्षिक बजेट नीति तथा कार्यक्रममा भनिएको थियो, “विभिन्न पर्यटकीय स्थलसम्म पूर्वाधार निर्माणका लागी जोड दिईनेछ ।” नीति तथा कार्यक्रमा पर्यटनका केही शव्द परे पनि त्यस वर्षको ६० करोडभन्दा बढीको बजेटमा पर्यटन विकासका लागी एक पैसा छुट्याइएको थिएन । दोस्रो जनआन्दोलन सफल भएर माओवादी सत्तामा गएपछि रोल्पाको पर्यटनले पनि प्राथमिकता पायो । प्राकृतिक, भौगोलिक र सांस्कृतीक पर्यटनको प्रचुर सम्भावना बोकेको रोल्पामा युद्ध पर्यटनले चर्चा पाउन थाल्यो । एकाध बाहेक सवै जसो सरकारमा माओवादी रहिआएको छ । अहिलेसम्म रोल्पाले संघीय सरकारमा ३ पटक अर्थमन्त्रालय, २ पटक सभामुख, एक पटक उपराष्ट्रपति र करिब आधा दर्जन पटक विभिन्न मन्त्रालयका साथै लुम्बिनी प्रदेशमा समेत २ पटक मुख्यमन्त्रीको अवसर पाईसकेको छ ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व नेपालको कान्छो जिल्ला हो । यो पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । रुकुमपूर्व र रोल्पा जिल्लाका सबै जसो पालिकाले ‘पर्यटन’ लाई कागजमा प्राथमिकता दिएका छन् । अहिले तीन तहका सरकारले आ–आफ्नै किसिमले आयोजना बनाउँदै बजेट विनियोजन गरिरहेका छन् । रोल्पा र रुकुमपूर्वमा शिक्षा, स्वास्थ्यको अवस्था सन्तोषजनक नभए पनि यी जिल्लामा तीनै थरी सरकारको चासो पर्यटनमा देखिएको छ । तर, पर्यटनको विकासका लागि न कुनै अध्ययन अनुसन्धान भएको छ न त स्पष्ट दृष्टिकोण नै । बिना कुनै योजना, नीति तथा सम्भाव्यता अध्ययन समेत नगरी लहडमा सुरु गरिएको पर्यटन विकास भ्युटावर, गेट र पार्कका टालटुले काममा सीमित छ । पर्यटन पूर्वाधार निर्माण गर्ने भन्दै बितेका करिव १७ वर्षमा रोल्पा जिल्लामा १ अरबभन्दा बढी वजेट खर्च भईसकेको वताईन्छ । यति ठूलो वजेट खर्च हुदा पनि जिल्लामा पर्यटनको भरपर्दो आधार भने अझै तयार भईसकेको छैन ।

रोल्पामा अग्ला अग्ला डाँडा छन् । रोल्पाको जलजला क्षेत्र समुद्र सतहदेखी ३६३९ मिटर उचाईमा छ । तर, प्राकृतिक रुपमै भ्यूटावर जस्ता यी रोल्पाली डाँडामा सिमेन्ट र क्रंक्रिटको थुप्रो लगाएर भ्युटावर बनाइँदै छ । प्राकृतिक सुन्दरता विथोल्ने पर्यावरण विगार्ने यी भ्यूटावर बनाउनुको उद्देश्य अर्थपूर्ण देखिंदैन । रोल्पा नगरपालिका– ३ सातदोवाटोस्थित चुच्चे डाँडोमा भ्यूटावर बनेको छ । रोल्पा नगरपालिकाले ६ करोडभन्दा बढीको लागतमा बनाएको १० तले टावर बनेको करिव २ वर्ष पुरा भईसक्दा समेत पर्यटकको खासै आकर्षण देखिदैन । यसैगरि थवाङ गाउँपालिकाले २५ लाख खर्चेर भ्यूटावर बनाएको छ । त्रिवेणी गाउँपालिकाको टिलामा प्रदेश सरकारले २५ लाखको लागतमा भ्यूटावर निर्माण गर्ने भनेको थियो । रुकुम पूर्व र रोल्पामा हिलस्टेशनको रुपमा पर्यटकीय विकास गर्न सकिने ठाउँ छन । एक संस्कृतीको धनि यी जिल्लामा सञ्चालित घरवास कार्यक्रम पनि बन्द हुने अवस्थामा छन् । यसले गर्दा स्थानीयहरूको रोजगारी गुम्दै गएको छ । पर्यटकलाई भुलाउने, कम्तिमा एक दुई दिन पर्यटक रमाएर बस्ने वातावरण बनाउने काममा पालिकाको ध्यान गएको छैन ।

रोल्पाको वहुचर्तित पर्यटकीय क्षेत्र होलेरीलाई हिल स्टेशन बनाउन पहल गरिएको छ । ४८ लाखको लागतमा हिल स्टेशनका केही संरचना समेत निर्माण गरिएको छ । रुन्टीगढी गाउँपालिका ६ सैवाङ खुटीमा रहेको समथर भूभागमा हिल स्टेशनको संरचना बनाउन थालिएको हो । सो स्थानवाट उत्तर फर्के सेताम्य हिमाल र दक्षिण फर्के एशियाकै ठूलो उपत्यका दाङ र भारतको सीमावर्ती क्षेत्र समेत भ्यूटावर विना नै अवलोकन गर्न सकिन्छ । होलेरीमा हिल स्टेशन बनेपछि पर्यटकहरुको थप चहपहल हुने अपेक्षा गरेको स्थानीय सुवास चन्दले बताए । होलेरी दाङको घोराहीवाट ३० किलोमिटर टाढा छ । बसबाट वाह्रकुने ताल र कोइलाखानी हुदै होलेरी पुगिन्छ । दाङको धुलो, धुवा, ध्वनी र उकुस मुकुस गर्मीले आक्रान्त मानिसहरु होलेरीको शान्त, शितल र रमणीय वातावरणमा केही दिन रम्न र घुम्न पाउदा आफुलाई भाग्यमानी ठान्छन् । वर्खामा होलेरीलाई छपक्क छोप्ने कुहिरो तथा सिमसिम पर्ने पानीले स्वर्गको अनुभुती दिन्छ । चालु आर्थिक वर्षमा सो ठाउँमा होमस्टे निर्माण गर्ने गरि बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष जनक पुनले बताए । होमस्टे सहितको संरचना तयार गरि सो स्थानको समग्र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई दिने पनि अध्यक्ष पुनले बताए । रोल्पा र रुकुम पुर्वमा हिलस्टेशन वन्न सक्ने धेरै डाँडा छन् ।

प्राकृतिक, भौगोलिक, सांस्कृतिक विविधताले यहाँको पर्यटन उद्यम फस्टाउन सक्ने प्रशस्तै आधारहरू छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार म्याग्दी, वाग्लुङ, रुकुम पश्चिम र रुकुम पूर्वसम्म फैलिएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको करिव ६० प्रतिशत भाग ढोरपाटन शिकार आरक्षले ओगडेको छ । रुकुम पूर्वको भुमे गाउँपालिकामा माओवादी लडाकु हिडेको मार्ग पहिचान गर्दै छापामार मार्ग वनाइएको हो । सशस्त्र द्वन्द्वबाट प्रभावित यस क्षेत्रका बासिन्दाको जनजीवन, खाम मगर संस्कृतीको अनुभव दिन र युद्धकालिन अवसेस देखाउन यो मार्ग बनेको थियो । यो मार्ग म्याग्दी, रोल्पा र रुकुममा पर्दछ ।

उत्तरगंगा नदी, कमल दह, छिप्री दह, गुप्तदह, सुन दह र नौदह रुकुम पूर्वका महत्वपूर्ण पर्यटकीय स्थल हुन । पुथा हिमाल, दोगारी हिमाल, सामजाङ हिमाल, निम्कु हिमाल, सिस्ने हिमाल, तातो पानी आउने ठाउँहरू र देउराली गुफा थप पर्यटकीय क्षेत्र हुन । रोल्पाको विवाङदह, जाँगा दह र पारिवाङ दह, ऐतिहासिक महत्वको क्षेत्र थवाड गजुलकोट, खुंग्री दरबार, प्यूठानको स्वर्गद्धारी, रोल्पाको रुन्टी, रोल्पाको जलजला सुनछहरी झरना र शिव गुफा आदी महत्वपूर्ण पर्यटकीय क्षेत्र हुन । रुकुम पूर्वमा ५१ प्रतिशत भन्दा वढी र रोल्पामा करिव ४५ प्रतिशत मगरबस्ती छ । मगर संस्कृतीको वाहुल्य भएका यी जिल्लाका मगर भेषभुसा, रहनसन र संस्कृतीले पनि पर्यटकलाई आकर्षण गर्न सक्छन । ग्रामीण पर्यटन प्रवद्र्धनका लागी होमस्टेलाई महत्वपूर्ण मानिन्छ । स्थानीय कला संस्कृती र उत्पादनको प्रर्वद्धन गर्ने होमस्टेले रोजगारी समेत सिर्जना गर्दछ । तर रोल्पा र रुकुम पूर्वमा भने सञ्चालित होमस्टे समेत वन्द हुने अवस्थामा पुगेका छन । दस वर्ष अघि ५ घरबाट सुरु भएको होमस्टे १५ घरमा पुगेको बेला बन्द हुँदा सञ्चालकहरू मर्कामा परेका छन् । जिल्लामा पर्यटकीय सम्भावनाको कुनै अध्ययन बिना, आवश्यक नीति तथा कार्यविधि पनि नबनाई हचुवाका भरमा भन्दै ठूलो रकम खेर फालिएको पूर्व सिंचाइ राज्यमन्त्री अमरसिंह पुनको आरोप छ । “राजनीतिक दल, पर्यटनविद् र सरोकारवालाको सहभागिता बिना कार्यकर्ता पोस्न पर्यटनका नाममा जथाभावी बजेट खर्च गरिएको छ,” पूर्व राज्यमन्त्री पुन भन्छन्

पर्यटन सूचना केन्द्रमा क्याम्पस प्रमुखको बास

पर्यटनका लागि रोल्पामा वजेट खर्च भइरहे पनि त्यसको अनुगमन र उपलब्धि मापन भएको छैन । रोल्पाको माडिचौरमा बनाइएको उक्त एकीकृत पर्यटन सूचना केन्द्रले थबाङ, जलजला तथा वाग्लुङको ढोरपाटन पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने उद्देश्य राखिएको हो । आर्थिक वर्ष २०६९/०७० मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ८० लाखको लागतमा निर्माण गरिएको थियो । तत्कालीन जिल्ला विकास समिति रोल्पाले आर्थिक वर्ष २०७३/०७४ मा सूचना केन्द्रको प्रचारप्रसारका लागि रु. १ लाख र केन्द्रमा आदिवासी जनजाति संग्राहलय स्थापनाका लागि रु. २ लाख बजेट विनियोजन गरेको थियो । उक्त भवन निर्माण गर्दा मन्त्रालयले जिल्लाका सरोकारवाला निकायलाई कुनै जानकारी नगराएको भन्दै तत्कालीन जिल्ला विकास समिति रोल्पाले जिम्मा नलिएपछि भवन लामो समयसम्म अलपत्र बनेको थियो । जिविसले सूचना केन्द्रबारे पटकपटक जिल्लाका राजनीतिक दल तथा सरोकारवाला निकायसँग छलफल गर्दा केन्द्रको जिम्मा नलिन सुझाव आएको थियो । पर्यटन सूचना केन्द्रका लागि उक्त स्थान अपायक पर्ने भन्दै नागरिकहरूबाट समेत विरोध हुँदै आएको थियो । सो भवन हाल जिल्ला समन्वय समिति रोल्पाले जिम्मा लिएको छ । उसले कृषि क्याम्पसलाई भोग गर्न दिएको छ । त्यसमा प्राकृतिक श्रोत व्यवस्थापन कलेज माडीचौरका क्याम्पस प्रमुख बस्ने गर्छन् ।

लामो समयदेखी पर्यटकीय चहल पहल भईरहेको रुकुम पूर्वमा समेत अझै एकीकृत पर्यटन सूचना स्थापना भएको छैन । देशकै कान्छो जिल्ला भएका कारण धेरै संरचना वन्न वाँकी रहेको रुकुम पूर्वमा पर्यटकको अभिलेख राख्ने वा सूचना आदान प्रदान गर्ने एकीकृत पर्यटन सूचना केन्द्र स्थापना भएको छैन, रुकुम पूर्वका मैत्या घर्तीमगरले भने । जिल्लाको पर्यटनको समग्र जानकारी दिने सुचना केन्द्र भए पर्यटकलाई सजिलो हुने घर्तीमगरले बताए ।

Sharing is caring!